मिसन ग्रासरुट कार्यक्रममा १६ जना सम्मानित

blog
हुम्ला । हाल जिल्लाभर सञ्चालन भइरहेको नेकपा (एमाले) को मिसन ग्रासरुट अभियानमा सक्रिय ज्येष्ठ सङ्गठित सदस्यहरू सम्मानित हुनुभएको छ । मिसन ग्रासरुट अभियानको दोस्रो चरणमा हुम्लाको ताँजकोट गाउँपालिकामा सो सम्मान प्रदान गरिएको हो ।

एमाले ताँजकोट गाउँ कमिटीले पार्टी निर्माण र सङ्गठन बिस्तारमा योगदान दिएका विभिन्न १६ जना ज्येष्ठ सदस्यलाई सम्मानित गरेको छ । गाउँपालिकाको केन्द्र छप्रेलामा आयोजित गाउँ कमिटी बैठकका क्रममा एमालेले पार्टी स्थापनामा अमूल्य योगदान गरेका ज्ञानबहादुर शाही, वृषबहादुर शाही, कर्णराज गिरी, दाने खड्का, सौर्य रिठाल, रण खड्कालाई सम्मानित गरिएको छ ।

यसैगरी बैठकमा ज्येष्ठ कम्युनिस्ट सदस्य देवी रोकाया, पौरखे कार्की, प्रबानन्द ढकाल, धनपति कार्की, धनलाल जैसीलगायतलाई सम्मानित गरिएको छ । सम्मानित सबै ज्येष्ठ कम्युनिस्ट सदस्यलाई एमाले निर्वाचन विभागका उपप्रमुख समेत रहेका अभियानका केन्द्रीय प्रतिनिधि नीरज आचार्यले सम्मानित गर्नुभएको हो ।

पार्टी प्रवेश तथा ज्येष्ठ कम्युनिस्ट सदस्यलाई सम्मान गर्न आयोजित बैठकमा एमाले केन्द्रीय सदस्य आचार्यले एमाले पार्टी साइनबोर्ड झुन्ड्याउन र उपभोक्ता समिति गठन गर्न मात्रै गठन नभएको दाबी गर्नुभयो । केन्द्रीय सदस्य आचार्यले जनताको बहुदलीय जनवादको सिद्धान्तबाट समाज रूपान्तरण गर्दै समृद्ध देश निर्माण गर्ने लक्ष्यका साथ एमाले अघि बढेको बताउनुभयो ।

एमालेले सञ्चलन गरेको पार्टी सुदृढीकरण तथा बिस्तारका लागि सञ्चालित अभियानमा गाउँ कमिटी बैठकमा माओवादी केन्द्र ताँजकोट –१ कमिटीमा आबद्ध सुर्जमल खड्काको नेतृत्वमा ६ जनाले एमाले प्रवेश गर्नुभयो । सो अवसरमा गौरीलाल खड्का, धञ्जित खड्का, जङ्गलाल रिठाल, वडा नम्बर २ का जयबहादुर बुढा, मक्क कार्की पार्टी प्रवेश गर्नुभयो ।

तपाईको प्रतिक्रिया