समय अपरान्हको ठीक तीन बजेको थियो । जाजरकोटको कुशेसम्मको यात्रा आरम्भ गर्नुु थियो । हामी दैलेख बजारबाट मध्यपहाडी लोकमार्गमा बलेरो जीप कुदाउँदै जाजरकोट तिर हानियौं । लोहरेखोला तरेर बेस्तडातिर लाग्दा पच्चीस वर्षअघिको जिन्दगीलाई सम्झिएँ । यो मान्छे त्यो बाटोमा त्यतिबेला पिठ्यूँमा विद्यालय निरीक्षकको झोला बोकेर हिडिरहेको थियो, जिउभरि पसिनाले नुहाएर । त्यतिबेला बाटोमा त्यसरी हिड्दै गर्दा बाँदरले माथिबाट ठूलै ढुंगा खसाएर झण्डै सिध्याएको थियो यो मान्छेलाई । त्यतिबेला ढालको रुपमा काम गरेको थियो एउटा सालको रुखले । त्यतिबेला त्यो सालको रुखले उक्त ढुङ्गा रोक्नका निम्ति ढालको काम नगरेको भए साँच्ची के हुन्थ्यो होला ? सोच्दा पनि असहज महसुस हुन्छ । लाग्छ हामी प्रकृतिका बरदान रहेछौं । मारे पनि प्रकृति र बचाए पनि प्रकृति । रुख पनि प्रकृत्ति हो, त्यतिबेला बचायो र अहिलेसम्म पनि प्रकृत्तिले बचाएकै छ । धन्य प्रकृति, म प्रति तिमी कति सकारात्मक र सहयोगी छौ । यति सकारात्मक र सहयोगी त मैले आफ्ना ठानेका मानिसहरु पनि छैनन् ।
बेस्तडाको उकालो चढ्दै गर्दा बीच उकालोमै मन्घर भन्ने एउटा बस्ती भेटियो । नाम धेरैपटक सुनेको तर आफनै आँखाले देख्न र आफ्नै पाइतालाले टेक्न नपाएको रमाइलो पहाडी गाउँ । शिरमा राताम्मे गुराँसहरु फुलेका थिए, नवदुलहीले सिउँदोमा पहिरिएको सिन्दूरजस्तै भएर । पाउ तर्फ कट्टी खोला कलकल गरेर बगिरहेको थियो, नवदुलहीका सुकोमल पाउहरुमा पहिरिएका पाउजुजस्तै भएर । लाग्यो यो मन्घर भनेको मनको घर होला कसैको लागि ।
मेरो त परिचयको मानिस कोही थिएन त्यो मन्घरमा । तैपनि माया लाग्यो मन्घरको । मन परिचयको मान्छेले मात्र होइन, मन प्रकृत्तिले पनि तान्छ भन्ने कुरा सिद्ध भयो त्यतिबेला । मेरो मन मेरा आफन्तहरुलाई छोडेर धेरै टाढा आइरहेको थियो । मेरो कुनै आफन्त नभएको बस्ती मन्घरमा पनि यो मन त्यहीं अल्झेलाझै गरी तानियो । लाग्यो मनघर पनि प्रकृतिकै उपहार त हो । हामी प्रकृतिकै उपहार भएपछि प्रकृतिले मार्नु, जोगाउनु र आकर्षित गर्नु कुन अस्वाभाविक सन्दर्भ भयो र ? आफन्तहरु त त्यसपछि भेटिएका परिचितहरु त हुन् । ती पनि कति दिनका आफन्तहरु हुन् र तिनीहरुसँग कहिले कट्टी हुने हो, थाहा छैन । थाहा यत्ति छ कि अरु जे जस्तो भए पनि त्यो मन्घर, त्यो कट्टी खोला र ती राताम्मे गुराँसहरुसँग पनि कहिल्यै कट्टी हुने छैन ।
बेलुका बास बस्न हामी जनप्रिय माध्यमिक विद्यालय, दशेराको अतिथि आवासमा पुग्यौं । वि.संं. २०५१ सालको कुरा हो, म त्यतिबेला जाजरकोटमा विद्यालय निरीक्षक हुँदा त्यतिबेलाको एसएलसीको परीक्षा सञ्चालन गर्न त्यो ठाउँमा केन्द्राध्यक्ष भएर गएको थिएँ । त्यसपछि भने त्यो ठाउँमा दोस्रो पटक गएको भनेको यसै पटक हो । त्यतिबेलाका शिक्षक र अहिलेका प्रधानाध्यापक टेकबहादुर थापा, शिक्षक जयबहादुर थापा र पुष्पजंग शाहसँग निकै मीठा कुरा गर्दै समय बित्यो । मैले त्यतिबेलाका घटनाक्रमहरु सुनाएँ । त्यतिबेला जल्दोबल्दो पार्टीको एकजना जिल्लास्तरका जल्दोबल्दो नेताले एसएलसीको परीक्षा सञ्चालनको क्रममा आफ्नो भाइको सीट राम्रो विद्यार्थीसँग मिलाइदिनका लागि नामै दिएर अनुरोध गरेका थिए । मैले रोल नम्बर अनुसार बस्नुपर्छ, त्यसरी मिलाउन सकिदैन भनेर सरी भनेको थिएँ ।
उक्त नेताले अरुको त मिलायो होला, मेरो मात्रै होला नमिलाएको भनेर मेरा कमीकमजोरी खोज्नतिर लागेछन् । त्यसको एकहप्तापछि भने त्यस्तोे केही नभेटेपछि मलाई परीक्षा केन्द्रमै आएर मर्यादित र निष्पक्ष परीक्षा सञ्चालन गरेकोमा धन्यवाद दिएका थिए । मैले गरेको निष्पक्ष र मर्यादित परीक्षाको बिडो थाम्ने काम भएको छ कि छैन भनेर सँगै बसेका प्रधानाध्यापकलाई सोधेको थिएँ । उहाँ हाँस्नु मात्रै भयो, थप कुरा गर्न चाहनु भएन ।
जनप्रिय माध्यमिक विद्यालय दशेरा लोकदोहोरी गायक एवं साहित्यकार शेरबहादुर अधिकारीले अध्यापन गर्दै गरेको विद्यालय पनि हो । जो अहिले हामी माझ हुनुहुन्न । कोरोनाको महामारीले उहाँलाई लिएर गयो । त्यतिबेला हरेक हप्ताजस्तो मलाई फोन गर्नुहुन्थ्यो र लघुकथा सुनाउनुहुन्थ्यो । अनि भन्नु पनि हुन्थ्यो– ‘मैले सयवटा जति लघुकथा लेखिसकेको छु । छाप्नु पर्ने छ ।’ सामाजिक सञ्जालबाट उहाँलाई कोरोना लागेको खबर थाहा पाएपछि मैले भनेको पनि थिएँ– मित्र अलि केयर गर्नुहोला, तपाइँलाई पहिले पनि कहिलेकाही दमले दुःख दिएजस्तो लाग्छ ।’ उहाँले ‘मलाई केही भएकै छैन । पोजिटिभमात्र देखिएको हो’ भन्नुभयो । त्यसको तीन दिनपछि मृत्युको खबर आयो । घरमा भन्दा हस्पिटलमा गएर उपचार गर्न खोजेका धेरै बिरामीहरु मनोबल कमजोर हुने भएको कारण मृत्यु भएको कुरा गर्दागर्दै हामीले उहाँका कृतिहरु सङ्कलन गरेर प्रकाशन गर्ने बारेमा कुरा ग¥यौं । उहाँको जन्मथलो दशेरा क्षेत्रलाई कला र साहित्यको उर्बर थलाको रुपमा विकास गर्न सके उहाँको समेत सम्मान हुने कुरा पनि ग¥यौं र म आबद्ध भएको साहित्यिक संस्था सिर्जना कला साहित्य प्रतिष्ठानको शाखा कार्यालय स्थापना गरेर दशेरामा साहित्यिक गतिविधिलाई सक्रिय बनाउने कुरा पनि गर्दै हामी आ–आफ्नो ओछयानतिर लाग्यौं ।
बिहान ६ बजे नै हामी साथीहरुबाट छुट्टिएर थलहतिर लाग्यौं । थलहमा गतवर्ष मात्र कार्यसम्पन्न भई चालु भएको पुलको थिकनेस बढाउनुपर्ने भएको कारण पुल मर्मत गर्न थालेको रहेछ । हामीले त्यही गएर थाहा पायौं । सार्वजनिक सडक अबरुद्ध हुने गरी काम गर्दा कम्तिमा एकहप्ता अघि नै सूचना दिनुपर्ने कर्तव्य होइन र ? हुन त ठेकेदारहरुले चलाएको देशमा ठेकेदारको यति मनपरी भएन भने के अर्थ भयो र † जेहोस्, त्यहाँककबाट कच्चीबाटो तन्नेरीहरु (जाँदा दिपेन्द्र चदारा र फर्कदा नवराज भण्डारी) को पल्सर बाइकमा उछिट्टिदै कुद्नु पर्दा मलाई स्पाइनल कर्डको तल्लो भागको अलि बढी माया लागिरहेको थियो, कतै टुट्छ कि वा फुट्छ कि वा फुत्किन्छ कि भनेर । त्यस्तो केही भएन । मनमनै फुर्ति लगाएँ –‘मेरो हड्डी पनि लरतरो रहेनछ ।’ त्यो बाटोमा बाइकमा कुद्दा त्यति हैरानी भएको थियो, सायद यस्तो हैरानी त चोरीबाट जंगलैजंगल भएर अमेरिका जाने नेपालीहरुलाई पनि भएन होला भन्ने पनि सोचें । कुशे गाउँपालिकाको कार्यालय रहेको थर्पु, भार्ममा पुगेपछि भने बिछट्टै रमाइलो भयो । त्यति रमाइलो त चोरी बाटो भएर अमेरिका पुग्नेहरुलाई पनि अमेरिका पुगेपछि भएन होला भन्ने पनि यो मनमा लागिरह्यो ।
छुट्टिएर थलहतिर लाग्यौं । थलहमा गतवर्ष मात्र कार्यसम्पन्न भई चालु भएको पुलको थिकनेस बढाउनुपर्ने भएको कारण पुल मर्मत गर्न थालेको रहेछ । हामीले त्यही गएर थाहा पायौं । सार्वजनिक सडक अबरुद्ध हुने गरी काम गर्दा कम्तिमा एकहप्ता अघि नै सूचना दिनुपर्ने कर्तव्य होइन र ? हुन त ठेकेदारहरुले चलाएको देशमा ठेकेदारको यति मनपरी भएन भने के अर्थ भयो र † जेहोस्, त्यहाँककबाट कच्चीबाटो तन्नेरीहरु (जाँदा दिपेन्द्र चदारा र फर्कदा नवराज भण्डारी) को पल्सर बाइकमा उछिट्टिदै कुद्नु पर्दा मलाई स्पाइनल कर्डको तल्लो भागको अलि बढी माया लागिरहेको थियो, कतै टुट्छ कि वा फुट्छ कि वा फुत्किन्छ कि भनेर । त्यस्तो केही भएन । मनमनै फुर्ति लगाएँ –‘मेरो हड्डी पनि लरतरो रहेनछ ।’ त्यो बाटोमा बाइकमा कुद्दा त्यति हैरानी भएको थियो, सायद यस्तो हैरानी त चोरीबाट जंगलैजंगल भएर अमेरिका जाने नेपालीहरुलाई पनि भएन होला भन्ने पनि सोचें । कुशे गाउँपालिकाको कार्यालय रहेको थर्पु, भार्ममा पुगेपछि भने बिछट्टै रमाइलो भयो । त्यति रमाइलो त चोरी बाटो भएर अमेरिका पुग्नेहरुलाई पनि अमेरिका पुगेपछि भएन होला भन्ने पनि यो मनमा लागिरह्यो ।
कुशे गाउँपालिकामा पुग्ने बित्तिकै फ्रेस हुँदै खाना खाएर स्थानीय पाठ्यक्रम निर्माणसम्बन्धी कार्यशालामा सहजकर्ताको हिसावले संलग्न भएँ । आयोजक संस्था कुशे गाउँपालिका र साझेदार संस्था सेभ द चिल्ड्रेन र पहाडी क्षेत्र विकास अभियानले सहभागी बोलाउँदा सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी समावेशी किसिमबाट बोलाइएको रहेछ । कार्यशालामा प्राथमिक तहदेखि माध्यमिक तहसम्म कार्यरत शिक्षकहरु पनि हुनुहुन्थ्यो । सामाजिक विकास समितिको संयोजकदेखि वडाध्यक्ष र वडा सदस्यहरु पनि हुनुहुन्थ्यो । राजनीतिक दलका पालिकास्तरका प्रतिनिधिहरु पनि हुुनुहुन्थ्यो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, शिक्षा शाखा प्रमुख र स्रोतव्यक्तिलगायतका स्टाफहरु पनि हुनुहुन्थ्यो । यसरी आउँदा महिला पुरुष, दलित, जनजाति, मधेशी आदिलाई समेत समेट्ने काम भएको थियो । यस्तो किसिमको इन्द्रेणी व्यवस्थापन बिरलै देखेको थिएँ अन्यत्रका यस्तै कार्यक्रमहरुमा । जस्तो प्रतिनिधित्व र व्यवस्थापन थियो, विषयवस्तुको उठान र उत्खनन् पनि त्यही हिसाबले भएको देख्दा म आफै सहजकर्ता हो वा सिकारु हो भन्ने कुरामा समेत आफैलाई सम्हालेर सोच्नुपर्ने भयो, सोचें । तथापि पटक–पटक द्विविधा भने भइरह्यो ।
कुशे गाउँपालिकाभित्रका स्थानीय बजारहरुको पहिचान गर्ने क्रममा सम्बन्धित समूहबाट बाटुले, पाचकटिया, साधिविसाउन, घरंगा, छेडा, मालुतरा, टापुचौर, तारेचौर, फुल्चाउली आदिको नाम आयो भने पर्यटकीय स्थानको रुपमा ब्याउली ढुंगा, लौरीबिनाई दह, कफल्ना र पैंकको मष्टा मन्दिर, झादेउ मन्दिर, महादेव मन्दिर, जसुदेव, रमाला मन्दिर, बर्मा मन्दिर, बिक्षे धारा, नारायण मन्दिर, मालिका मन्दिर, नौमुले, मौलो, सेवाला मन्दिर, भोटेचुली, देउराली ढुंगा, कुशे हिमाल, रामथली पहाड, पन्चासे, धार्पानी, लामकाने गुफा, गाईखुर, सापजिब्रे, धाउनी छहरा, तामाकोशी गुफा, भौताछहारी आदिको नाम आयो । त्यसैगरी भान्साका परिकारहरुको कुरा गर्दा आटो, ढिँडो, गुन्दुक, बडी, काइलाचा, कर्कलो, गाभा, लहरे पाप्रो, चाना, खाँदेको अचार, लाडु, अर्सा, सेलरोटी, दाल भात, खिर, सातु आदिको सूची तयार भयो । त्यसरी नै कुशेका स्थानीय सामग्रीहरुको सूचीमा डोको, डालो, पायो, सुपो, नाङ्लो, छाप्री, डोइलो, लभेत्ते, भकारी, खाप, खि¥य, मुदुस, पेटारो, कोसी, ठेकी, मदानी, डाडु, पनियो, कराइ आदिको नाम आयो । म आफूसमेत त्यही सेरोफेरोमा जन्मिएर पनि कतिपय खानेकुरा र सामग्रीका नामहरु भने त्यही कार्यशालामा सुनें ।
स्थानीय पाठ्यक्रम भनेकै स्थानीय सम्पदा, पेशा, व्यवसाय र विविध विषयवस्तुको बारेमा स्थानीय जानकारहरुबाट सहजीकरण गरी सिकाइ गरिने क्रियाकलापको नाम हो । चिनेको मान्छेको माया नचिनेको मान्छेको भन्दा बढी लागेझै स्थानीय पाठ्यक्रमको ध्येय बालबालिकालाई स्थानीय परिवेश र विषयवस्तुको बारेमा सहजीकरण गर्न सकियो भने बालबालिकाले पनि स्थानीय सम्पदा, सामग्री, संस्कृति र परम्पराप्रति आकर्षित हुनेछन् र अन्ततः आफू जन्मेको माटोलाई माया गर्नेछन् भन्ने हो । यसबाट कतिपय असल परम्परा, संस्कृति, संस्कार र रहनसहनलाई पुस्तान्तरण गर्न सकिने पनि हुन्छ । स्थानीयस्तरमा भएका पर्यटकीय स्थल, जडिबुटी र उत्पादनहरुको प्रचारप्रसार र बजारीकरण गर्न सहज हुने पनि देखिन्छ । स्थानीयस्तरका विविध विषयवस्तुको बारेमा बालबालिकाहरुसँग छलफल गर्दा बालबालिकाहरु खुशी पनि हुन्छन् र यसले गर्दा उनीहरुको रुचि पनि अध्ययनतिर बढ्छ भन्ने आशय पनि यस पाठ्यक्रमको हो । कार्यशालाका सहभागीहरुले स्थानीय पाठ्यक्रमको नाम नै ‘हाम्रो कुशे, हाम्रो खुसी’ राख्ने निणर्य सर्वसम्मतिबाट गरेपछि त झन् नामै काफी छ भने पनि हुने जस्तो देखियो ।
कुशे गाउँपालिकाले सामाजिक जीवनलाई व्यवस्थित गर्नका लागि गरेका केही निणर्यहरुमध्ये सार्वजनिकरुपमा मदिरा विक्रीवितरण र सेवन गर्न निषेध गरिएको निणर्य पनि मन प¥यो । सार्वजनिक समारोह, मेलापर्व आदिमा मदिरा सेवन गरी झगडा गर्ने, मारपिट गर्नेलगायत घरेलु हिंसामा समेत न्यूनीकरण भएको कुरा स्रोतव्यक्ति कृष्ण गिरीले गरिरहँदा मनमा छुट्टै प्रकारका आनन्द आयो । दशेराको ओरालो झर्दा सवारी चालक ध्वज थापाले गत पुस महिनामा जीप दुर्घटना भएको स्थल देखाएका थिए । जुन ठाउँको सडक सजिलो छ र फराकिलो छ, त्यहींबाटै मदिराले मात्तिएका सवारीचालक र यात्रुहरु सबैले छङ्गाछुर भीरतिर जीप सोझ्याएपछि सबै अर्थात बाह्रजनाकै मृत्यु भएको रहेछ । मदिराको ज्यादति घट्यो भने समाज अलि सभ्य र सुरक्षित हुने निश्चित देखिन्छ । कुशेको दुईदिने कार्यक्रम भ्याएर बुरुसेको लेक हुककँदै वीरेन्द्रनगर झर्ने क्रममा तीन घण्टासम्म पनि राताम्मे गुराँसहरुले स्वागत गरिरहँदा यो मन कति चंगा भयो, भनिसाध्य छैन । त्यही भएर होला, तराईतिर झरिसक्दा पनि मनभरि अझै गुराँस फुलिरहेको आभास भइरहेको छ । #युगबोध#
जीतबहादुर शाह । २७ फाल्गुन २०७९, शनिबार