आजदेखि भारत र चीनसँगका सबै नाका बन्द, अन्तर्राष्ट्रिय हवाई उडान पनि रोकियो

काठमाडौं : कोरोना भाइरसको संभावित जोखिम न्यूनीकरणका लागि सरकारले आजदेखि देशका सबै सीमा नाका बन्द गर्ने भएको छ। हिजो बेलुकी बसेको मन्त्रीपरिषद बैठकले निर्णय गरेअनुसार आज विहान १० बजेदेखि भारत र चीनतर्फका सबै नाका बन्द गर्न लागिएको हो।

चैत १६ गतेसम्म सबै नाका बन्द रहने अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए। नाकाहरु लामो समय रोक्नुपर्ने अवस्था आएमा दुईपक्षीय वार्ताबाट निर्णयमा पुगिने मन्त्री खतिवडाको भनाइ छ। नाकाबाट यात्रु आवागन रोकिए पनि सामान ढुवानी भने नरोकिने मन्त्री खतिवडाले जानकारी दिए।

‘अन्तर्राष्ट्रिय सीमाका प्रवेश नाकाहरुमा यात्रुको आवागमन मात्रै स्थगन गरिएको हो, मन्त्री खतिवडाले भने, सामानको ढुवानी नियमित हुन्छ।’ एक देशको संक्रमण अर्को देशमा नसरोस् भनेर छिमेकी मुलुकको समेत हितलाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको मन्त्री खतिवडाले जानकारी दिए। आइतबार मध्यरातबाट नेपाल आउने हवाई उडानहरू रोकिएका छन्।

अत्यावश्यक सेवाबाहेक अन्य सरकारी र सार्वजनिक काम बन्द भएका छन्। नागरिकहरू सकेसम्म घर बाहिर निस्कन र भीडमा नजान सकारको अपिल छ। त्यस्तै आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सशस्त्र प्रहरी अस्पताल बलम्बु कोरना आशंकितहरूको उपचार गर्ने छुट्टै अस्पताल निर्माण गर्ने भएको छ।

तपाईको प्रतिक्रिया