शहीद स्मृति भवन अलपत्र


रुकुम पश्चिम । शहीदको सम्झनामा रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–७, छोटेबगरमा निर्माण थालिएको शहीद स्मृति भवन अलपत्र परेको छ। निर्माण व्यवसायीको ढिलासुस्तीले भवन निर्माण अलपत्र परेको हो।

सानीभेरी गाउँपालिका अध्यक्ष बिर्खबहादुर विष्टका अनुसार १० वर्षे सशस्त्र सङ्घर्षका अवधिमा ज्यान गुमाउने शहीदको सम्झनामा सो भवन बनाउन लागिएको हो। स्मृति भवनलाई युद्ध सङ्ग्रहालयका रूपमा विकास गर्ने सोच रहेको छ। यद्यपि बजेट अभाव र निर्माण व्यवसायीको लापरबाहीले भवन निर्माण लथालिङ्ग भएको अध्यक्ष विष्टले जानकारी दिनुभयो। स्मृति भवन निर्माणका लागि आर्थिक वर्ष ०७६/७७ मा कर्णाली प्रदेश सरकारबाट बजेट प्राप्त भएको थियो। त्यस वर्ष ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै मुद्दा परेपछि बजेट फिर्ता भएको थियो।

गाउँपालिका अध्यक्ष विष्टका अनुसार आर्थिक वर्ष ०७७/७८ मा प्राप्त ४० लाख रुपियाँले भवन निर्माणका लागि उपभोक्ता समितिमार्फत काम सुरु गरिएको थियो। त्यसयता भवन निर्माणमा प्रगति भएको छैन। भवन निर्माणका लागि ०७७/७८ मा बजेट नै नहुँदा काम हुन नसकेको गाउँपालिकाले जनाएको छ। आर्थिक वर्ष ०७८/७९ मा खोलिएको ठेक्का अनमोल निर्माण सेवाले पारेको थियो। २०७८ पुसमा सम्झौता गरेको थियो। २०८० असारसम्मका लागि म्याद थपसमेत गरेको छ।

कुल ४५ लाख २४ हजार ४४७ रुपियाँमा सम्झौता गरेको उक्त सेवाले हालसम्म १० प्रतिशत मात्र काम गरेको गाउँपालिकाले जनाएको छ। निर्माण व्यवसायीले बैङ्क ग्यारेन्टी राखेर पेस्की रकमसमेत लिएको छ। बारम्बार ताकेता गर्दा पनि निर्माण कम्पनीले अटेरी गरेको गाउँपालिकाको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया