सल्यानका सरकारी कार्यालयमा साबुनपानीसहित सेवा

सल्यान : फैलँदो कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सल्यानका सबै सरकारी कार्यालयहरूले सेवाग्राहीलाई अनिवार्य साबुनपानीले हात धोएर मात्र कार्यालय प्रवेश गर्न अनुरोध गरेको छ। सेवाग्राहीले सेवा लिएर फर्कंदा पनि अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने व्यवस्था गरिएको प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखराका निमित्त प्रमुख वीरबहादुर वलीले बताए।

‘नेपाल पनि कोरोनाको जोखिममा छ। यस्तो अवस्थामा आम नागरिकलाई सेचत बनाउन यस्तो कार्यको थालनीका गरेका हौं’, वलीले भने। हतासको वातावरण सिर्जना गर्नेभन्दा सचेतना र आत्मबलको विकास गर्न यस प्रकारको कार्य थालनी गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए। ‘कोरोना भाइरसबाट बच्ने यो पूर्वतयारी हो,’ अधिकारले भने, ‘नगरपालिकामा सेवा लिनुपूर्व र सेवा लिएपश्चात् साबुनपानीले हात धुने व्यवस्था गरेका छौं।’

यस्तै बागचौर नगरपालिकाले पनि कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरेको छ। साथै नगरले विभिन्न ठाउँमा हात धुनका साबुनसहित पानीको व्यवस्था गरेको जनाएको छ।

हेल्थ डेस्कमा नौ हजारको स्वास्थ्य परीक्षण यता कपुरकोटमा स्थापना गरिएको हेल्थ डेस्कमा एक साताको अवधिमा नौ हजार बढीको स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ। स्वास्थ्य डेस्कका फोकल पर्सन देवेन्द्र कुमार सेनका अनुसार एक हजार सात सय ५२ सवारीसाधन रोकेर ६ हजार ७ सय ४५ पुरुष र तीन हजार ४० महिलाको जाँच गरिएको र कसैमा पनि कोरोना भाइरस संक्रमण देखा नपरेको उनले बताए ।

तपाईको प्रतिक्रिया