
काठमाडौँ : देशभर अहिले निजी तथा सामुदायिक गरी ३४ हजार ३६८ विद्यालय सञ्चालनमा रहेको पाइएको छ।
विद्यालय शिक्षामा स्रोत साधनको उचित व्यवस्थापन, गुणस्तर अभिवृद्धि र प्रभावकारी सुपरीवेक्षणको व्यवस्थाका लागि तयार पारिएको मस्यौदा अनुसार सामुदायिक विद्यालय २६ हजार ४५४ (७७ प्रतिशत) र संस्थागत विद्यालय ६ हजार ७६० (२० प्रतिशत) सञ्चालनमा छन्।
त्यसैगरी धार्मिक विद्यालय १ हजार १५४ (३ प्रतिशत) विद्यालय सञ्चालनमा छन्। यी विद्यालयमा शैक्षिक सत्र २०७८ को कुल ७० लाख ९२ हजार ९५९ विद्यार्थीमध्ये आधारभूत तह (कक्षा १-५) मा ३५ लाख ४८ हजार ६३६ विद्यार्थी रहेका छन्।
आधारभूत तह (कक्षा ६-८)मा १७ लाख ७७ हजार ३४४, माध्यमिक तह (कक्षा ९-१०) मा १० लाख ७९ हजार ३६३ विद्यार्थी अध्ययनरत छन्। माध्यमिक तह (कक्षा ११-१२) मा ६ लाख ८७ हजार ६१६ विद्यार्थी रहेकाे उल्लेख छ।
शिक्षक दरबन्दी पुनर्वितरण सुझाव कार्यदल २०७५ अनुसार देशभरका कुल ९ हजार ४४७ वटा माध्यमिक विद्यालयमा हाल कार्यरत शिक्षक १९ हजार ५१७ छन्। तर विद्यार्थी संख्या तथा विषयगत आवश्यकताका आधारमा हेर्दा माध्यमिक तहमा जम्मा आवश्यक शिक्षक दरबन्दी संख्या ४३ हजार १२ देखिन्छ। यो हिसाबले २४ हजार ३८४ शिक्षक अपुग देखिएको मस्यौदामा उल्लेख छ।
६ हजार ५०१ माध्यमिक विद्यालयमध्ये ७१ वटामा मात्र विज्ञान, गणित र अंग्रेजी विषयका सोही तहका विषयगत शिक्षक रहेका छन्। १०२ वटामा मात्र गणित र अंग्रेजी विषय तथा १०४ वटामा मात्र विज्ञान र अंग्रेजी विषयका सोही तहका शिक्षक रहेको मस्यौदामा उल्लेख छ।
















































। ६ पुष २०७९, बुधबार