
काठमाडौं । संयुक्त राष्ट्र संघको शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या ६ हजार १६ पुगेको छ। जसमध्ये ४२९ जना महिलाहरू रहेका छन्। यो संख्या इतिहासमै धेरे भएको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ। उनीहरू विभिन्न मुलुकका १२ वटा मिशनमा खटिएका छन्।
पछिल्लो समय नेपालबाट गत मंसिर २७ गते नेपाली सेनाको ‘लाइट इन्फ्यान्ट्री बटालियन’को अन्तिम डफ्फाबाट २ सय २ जना सेनाहरू शान्ति मिसनका प्रस्थान गरेका थिए।
राष्ट्र संघको शान्ति मिशनमा खटिने नेपाली सेनाको संख्या विश्वमै तेस्रो ठूलो हो। नेपालबाट हालसम्म १ लाख ४२ हजार ५८५ जना सैनिकहरू विभिन्न मिशनमा खटिएका छन्। तीमध्ये १ हजार ९८२ जना महिला रहेको जङ्गी अड्डाले जनाएको छ।
त्यस्तै शान्ति मिशनमा खटिएका ७१ जना नेपाली सेनाले सहादत प्राप्त गर्दा ६८ जना घाइते भएका छन्।
नेपालले सन् १९५५ मा संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेपछि पहिलोपटक १९५८ मा ५ जना नेपाली सेना लेबनानमा खटिएका थिए। यस दौरान नेपाली सेनाहरू इजिप्ट, सिरिया, माली, दक्षिण सुडान, कंगोलगायत देशमा खटिएका छन्।
‘संयुक्त राष्ट्र संघको आह्वानमा नेपाली सेनाको शान्ति स्थापना कार्यको इतिहासमै पहिलोपटक छ हजारभन्दा बढी नेपाली सेनाका फौजहरू शान्ति मिशनमा तैनाथ भइ एक ऐतिहासिक कोसेढुङ्गा कायम भएको छ,’ जङ्गी अड्डाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सन् १९५५ मा नेपालले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेपश्चात संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९५८ मा ५ जना लेबनानमा तैनाथ गरेसँगै सुरु भएको नेपाली सेनाको शान्ति मिशनको यात्राले ६ दशकभन्दा बढीको समयावधि पूरा गरिसकेको छ।’
















































। १ पुष २०७९, शुक्रबार