
काठमाडौं : फिफा विश्वकप लगायत अन्तरराष्ट्रिय खेल प्रतियोगितामा वानएक्स बेट एपमार्फत सट्टाबाजी गराउने एजेन्ट पक्राउ परेका छन्।
सट्टाबाजी गराई रकम संकलन गर्ने गराउने काममा सक्रिय लमजुङ सुन्दरबजार घर भइ हाल टोखा बसेका २६ वर्षका सुजन गौली पक्राउ परेका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो कमलपोखरीबाट पक्राउ गरी गौलीलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ।
प्रहरीका अनुसार हालसम्म उनले इसेवा, आइएमइ पे र खल्ती एपबाट २ करोड ३६ लाख ३३ हजार १३८ रुपैयाँको कारोबार गरेको देखिएको छ। उनले विभिन्न २६ वटा डिजिटल वालेट तथा बैंकिङ प्रणालीमार्फत ७ करोड ७२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार देखिएको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए।
प्रहरीका अनुसार गौलीले एजेन्टको रूपमा काम गर्ने गरेको, रकम संकलन र भुक्तानी गरेको आधारमा २५ प्रतिशत कमिशन निर्धारण हुने भएकाले बढी रकम संकलन र भुक्तानीको लोभमा विभिन्न व्यक्तिको नाममा वानएक्स बेटको खाता खोली कारोबार गर्ने गरेको खुलेको हो।
गौलीका साथबाट प्रहरीले वानएक्स बेट एप, एजेन्टहरूले प्रयोग गर्ने एक आइफोन, एक मोबाइल, युएइको सिमकार्ड सहित विभिन्न नेटवर्कका ६ वटा सिमकार्ट, नबिल बैंकको चेक, ग्लोबल आइएमइ बैंकको भिसा कार्डसमेत बरामद गरिएको छ।
















































। २९ मंसिर २०७९, बिहीबार