जनवादी, समाजवादी शिक्षा आम जनताको हो, पार्टी विशेष होइन ?

कालीबहादुर नेपाली(क.विज्ञान)


नेपालका कम्युनिष्ट पार्टीहरुले लामो समयदेखि जनवादी शिक्षाको वकालत गर्दै आएका छन् । यो शिक्षाको बारेमा लेख्य बहस कम भयो । प्राज्ञिक कर्म नगन्य मात्रामा भयो । यसमा राजनीतिक रंग लागेकै कारण साझा विमर्शले त स्थान नै पाएन् । परिणाम कम्युनिष्टहरुले यसलाई पेवा ठाने गैर कम्युनिष्टले भुत माने । अन्तत यसले आफ्नो असली रुप धारण गर्न नै सकेन । राजनीतिक व्यवस्थाका हिसाबले जनवादी,समाजवादी व्यवस्थामा भिन्नता छ तर शैक्षिक सार भने निकट छ । साथै नेपाली समाजको चरित्रलाई विश्लेषण गर्दा आजको शिक्षाको दिशा समाजवादी हुनुपर्दछ, तर शिक्षाको जनवादीकरणको विकास पनि भैइसकेको अथवा रहेको यहाँ समाजवादको दिसा ग्रहण गरेको जनवादी शिक्षा आवश्यकतामा जोड दिइएको छ ।

सबैभन्दा पहिला शैक्षिक अभियानता बुद्धिजीवि शिक्षाविद्,युवा विद्यार्थीहरुले जनवादी,समाजवादी शिक्षा कम्युनिष्टहरुको मात्रै हो भन्ने जडसुत्रीय चिन्तन हटाउनुपर्छ । यो साझा हो, ज्ञान् कसैको पेवा होइन्,मानव प्राणीको विकसित मष्तिस्कको उच्चतम परिणाम हो । यस शिक्षामा माक्र्सवादको रस जवर्जस्ती पिलाउने होइन्,नेताको गुणगान गाउने होईन, क्रान्तिको ध्वास कोच्याउने मात्रै होइन । यसमा जीवन सिकाउने हो,सशक्तीकरण गर्ने हो,अधिकार खोज्न सिकाउने कर्तव्य पुरा गर्न हौसाउने हो । अरुको सम्मान गर्न प्रेरित गर्ने हो । राष्ट्रको काम र जनतालाई माया गर्न सिकाउने हो । त्यसैले यो शिक्षा आम जनताको हो पार्टी विशेष होइन ।

विचार धारात्मक धार

बिचार धारात्मक रूपमा जनवादी,समाजवादी शिक्षा माक्र्सवादसंग निकट छ । तर यसले माक्र्सवादलाई जीवन प्रयन्त डग्मा मान्दैन,अध्ययनको विधि मान्छ । भौतिकवाद,द्वन्द्ववाद,वर्गको दृष्टिकोण आदिलाई स्वीकार गर्छ । यो सिद्धान्तले शिक्षा श्रमसंग जोडिनुपर्छ भन्छ । विद्यार्थीमा राजनीतिक सचेतना र समालोचनात्मक दृष्टिकोण विकास गराउनुपर्छ भन्छ । अधिकार र कर्तव्य प्रति सचेत गराउनुपर्छ भन्ने मान्यता राख्छ । जनज्ञान्, जनसीप र जनप्रबिधिलाई प्राथमिकता दिन्छ । जनताबाट सिक्नुपर्छ भन्छ । जनता इतिहासका निर्मता हुन् बैज्ञानिक विश्व दृष्टिकोण सिकाउनु पर्छ भन्छ ।

श्रमसंग जोडिएको शिक्षा 

माक्सवादी शिक्षा सार पक्ष नै शिक्षा र श्रमको एकत्व हो । श्रमले एकातिर उत्पादनमा सघाँउछ चरित्र निर्माण गर्छ,सामन्ती संस्कृतिको अन्त्य गर्छ अर्कोतिर यसले उद्विकासमा सघाँउछ । यस्तो श्रम शारीरिक र मानसिक दुबै हुन सक्छ । यो उमेर अनुसार फरक–फरक हुन्छ ।

जनताबाट सिकाइ 

जनताबाट सिक्ने कुरा नै जनवादी,समाजवादी शिक्षा,बुर्जुवा शिक्षा भन्दा फरक हुने आधार हो । बुर्जुवाहरु मुलतः गरिव,किसान,मजदुर,पछाडि परेका जनतालाई अशिक्षित मान्छन ,उनिहरुलाइ पढाउने भन्छन् तर उनिहरुबाट सिक्ने भन्दैनन् । जनवादी शिक्षाले उनिहरुलाई ज्ञानको स्रोत मान्छ । माओले यिनै किसान,तिनीहरु बस्ने समाज,तिनीहरुले काम गर्ने कार्यस्थललाई बिद्यार्थीको प्रयोगात्मक कक्षा गर्ने गराउने गुरु र प्रयोगशालाको रूपमा व्याख्या गर्छन । चिनमा यस्तै अभ्यास गरे । नेपालमा पनि दलित,जनजाति,अल्पसंख्यकहरुबाट ज्ञान् ,सीप,कला प्रबिधि सिक्न सकिन्छ । जस्तै जुत्ता बनाउने व्यक्तिबाट त्यो कला सिक्ने त्यसलाई आधुनिक बनाउने,कपडा सिउनेबाट सिलाउने कला सिक्ने आदि । यहीँ धारणमा परिवर्तन ल्याउन जरुरी हुन्छ,ती सीप हुनेहरू अशिक्षित होईन, तर पढ्न लेख्न पनि जाने राम्रो हुन्छ भन्नू पर्छ । उनिहरुलाई सिकाउने मात्र होईन उनिहरुबाट सिक्ने पनि हो ।

गरिखाने शिक्षा

जनवादी,समाजवादी शिक्षाले छिटो काम पाउने खानलाई दाम आउने शिक्षा खोज्छ । वर्तमन नेपाली शिक्षा टाउकाले टेकेर हिडेको छ । साधारण शिक्षा बढी छ व्यावसायिक र प्राविधिक कम छ । हामीलाइ चिनमा खाली खुट्टे डाक्टर भए जस्तो जनशक्ति बढी चाहिएको छ । धेरै लगानी गरेर पढ्ने पढेपछि काम पाउने वा आफै रोजगारी सृजना गर्न सक्ने शिक्षा दिनु पर्छ ।

शिक्षाको दायित्व

समाजवादी देशहरूले शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिएको छ । तर भिन्नतामा नाफा नलिने निजि क्षेत्रले पनि बिद्यालय संचालन गर्न सक्छ । शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिदैमा त्यो समाजवादी हुन्छ भन्ने छैन जस्तै नर्बे समाजवादी होइन ,तर शिक्षाको सम्पुर्ण दायित्व राज्यले लिएको छ । नेपालमा २०२८ को नयाँ शिक्षा पद्धति समाजवादी थिएन । त्यसैले दायित्वसंग जोडिएको मुल कुरा एउटा त्यो शिक्षाले कसलाई केन्द्रमा राख्छ कसलाई सहयोग पुर्याउछ भन्ने हो ।

जनवादी,समाजवादी शिक्षाले जनताको न्यायसंग त पहुँच खोज्छ र उच्च गुणस्तर पनि खोज्छ । नेपालमा शैक्षिक अनुभव हेर्दा निजिले सबैको न्यायसंगत पहुँच दिएन,सरकारीले गुणस्तरीयता दिएन,नेपालमा पुर्ण सरकारी बासबारी छाला जुत्ता, जनपुर चुरोट कारखाना,साझ यातायात असफल भए । आयल निगम घाटा भयो । सरकारी शिक्षाको गुणस्तर खुम्चीयो । यी उदाहरणले पुर्ण सरकारी नियन्त्रणको असफलता देखाउछ । तर यो आफैमा असफल प्रणाली भने होईन् । चीन,क्युबा, उत्तरकोरिया नर्बे,आदिमा सफल छ । यसले के देखाउछ भने प्रणाली भनेको कन्टेक्सचुयल हुन्छ । हामीले अरुको अभ्यास मात्रै होईन हाम्रो अवस्था बुझ्नु पर्छ ।

त्यसैले नेपालको आधारभूत तहको शिक्षा अनिवार्य र निःशुल्क भनिएकोले यो पुर्णतः राज्यको दायित्वमा आउनु पर्छ । यसले सबैलाइ न्यायगत पहुँच दिनेछ । तत्कालीन रुपमा आधारभूत तह भन्दा माथी सरकारी र सहकारी मोडेलमा जानू पर्छ । दीर्घकालीन सरकारीकरण गर्दै जानू पर्छ ।

माटोले मागेको शिक्षा 

कृषि,जडिबुटी,बन,जलस्रोत,पर्यटन खनिज नेपालका सम्पत्ति हुन,यिनिहरुको सम्बद्र्धन बिकास र सदुपयोग गर्ने शिक्षाको जरुरी छ । नेपालीको जीवन दर्शनको आधार माक्र्सवाद भन्दा पुर्बीय दर्शन हुन । त्यसैले पुर्वीय दर्शनलाई उपेक्षा गर्न मिल्दैन,माक्र्सवाद बिज्ञानलाई छोड्न पनि मिल्दैन,यिनिहरुले जोड्नु पर्ने हुन्छ ।

बिकाससंग जोडिएको शिक्षा

बिकास बहुआयामिक प्रकृया हो जसमा सामाजिक,सास्कृतिक,राजनीतिक मानवीय साथसाथै आर्थिक आयामहरु समाहित हुन्छन् । यी सबै पक्षलाई एकैसाथ अगाडि लैजान सक्ने शिक्षा जरुरी छ । यसका लागि शिक्षा उत्पादन संग जोडिनु पर्छ । यो राजनीतिक स्वतन्त्रताको कडी बन्नु पर्छ । सशक्तीकरणको साधन बन्नु पर्छ । छनौटको दायरा फराकिलो बनाउने माध्यम बन्नु पर्छ । यसले स्थानीय र बिश्वब्यापी ज्ञान् लाई जोड्नु पर्छ ।

शिक्षण विधि र मुल्यांकन प्रणाली

जनवादी शिक्षाले अनुभव केन्द्रित शिक्षण विधि खोज्छ । यो शिक्षाको मुख्य उदेश्य बोडर्युले भनेजस्तो पुर्नराबृत्ती होइन ,सृजना गर्ने हो । सृजना गर्नका लागि बिद्यार्थीले रुसोले भनेजस्तो प्रकृतिबाट सिक्नु पर्छ,डिवेनले भनेजस्तो क्रियाकलाप गरेर सिक्नु पर्छ,पेट्रीकले भनेजस्तो परियोजना कार्यबाट सिक्नु पर्छ,भिगोत्स्किले भनेजस्तो आफै ज्ञान् निर्माण गर्नु पर्छ,माक्र्सले भनेजस्तो श्रम गरेर सिक्नु पर्छ,माओले भनेजस्तो जनताबाट सिक्नु पर्छ,समालोचनात्मक बिधिबाट सिक्नु पर्छ । प्रौढ शिक्षाका लागि फ्रेरेले भनेजस्तो रिफ्लेक्ट बिधिद्धारा सिकाउनु पर्छ । हामीले यी सबै काम गर्न सकिन्छ मात्र प्रतिबद्धता भए पुग्छ । मुल्यांकन निरन्तर र उत्पादनक क्षमताका आधारमा गर्नुपर्छ ।

माक्र्सवाद गतिशील छ यसको प्रयोग बस्तुगत अवस्थाले निर्धारण गर्छ । माक्र्सवाद घोकाउदैमा मात्रै यो जनवादी समाजवादी शिक्षा हुदैन । जनवादी समाजवादी शिक्षा साझा शैक्षिक प्रणाली हो कुनै पार्टी बिशेषको मात्रै होइन । यो आत्मसात गर्छ,प्रतिस्पर्धामा बिश्वास गर्छ गतिशीलतामा जोड दिन्छ

नेपालको दलाल पुजीवादी संसदीय व्यवस्थाका मतियारहरुले शिक्षालाई स्वार्थमा प्रयोग गरिरहेका छन् । नेपालमा सञ्चालन निजी प्राविधिक शिक्षा देशका सर्वहारा श्रमिक विद्यार्थीको आवश्यकतामा भन्दा पनि बजारमा आधारित व्यापारीको चाहनामा सञ्चालित छ । यद्यपि यस शिक्षा बाट उत्पादित जनशक्तिको खपत हेर्दा नेपालको निजि प्राविधिक शिक्षा विदेशीहरूको कामदार उत्पादन गर्नमा सीमित भए जस्तो देखिन्छ ।

शिक्षाले कुनै एउटा सीप सिकाउनमा सीमित गराएर कसैको कामदार बन्न र अरूबाट शासित हुन प्रेरित गर्दछ । प्रकृति विज्ञान र समाज विज्ञानको ज्ञान सिकाएर निर्माणसँग जोड्न नसक्नु नेपालको निजि प्राविधिक शिक्षा अझ भनौँ, पुँजीवादी शिक्षा प्रणालीकै प्रमुख उपज हो । यसको विकल्पमा वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापन गर्न आम जनताको कार्यभार र अपरिहार्य आवश्यकता रहेको छ ।

यो जनताको शिक्षा हो, जनज्ञानमा आधारित हुन्छ जनताद्रारा व्यवस्थापन गरिएको हुन्छ । यसले स्थानीय बिशेषतालाइ आधार मान्छ, बिश्वब्यापीकरणलाई आत्मसात गर्छ, सो अनुसारको जनाशक्ती उत्पादनमा केन्द्रित हुन्छ । बैज्ञानिक ,राष्ट्रियता र जनवाद यो शिक्षाका आदर्श हुन । यसले कुनै पनि प्रकृतिको अधिनायकवाद मान्दैन ,यो आफैमा प्रजातान्त्रिक चरित्रको हुन्छ । यो त्यस्तो फुलबारी हो जहाँ सबै प्रकारका फुलहरु उम्रन,फक्रन र फल्न सक्छन् । त्यसैले यसको प्रयोग जसले गरेपनि हुन्छ ।

तपाईको प्रतिक्रिया