जाजरकोटमा शक्ति बस्नेतको ‘ह्याट्रिक’, ९०३१ मतान्तरले विजयी


जाजरकोट । जाजरकोट बाट प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत विजयी भएका छन् । कुल ६५ हजार ६६१ मतमध्ये बस्नेतको पक्षमा ३४ हजार १५१ आएको छ । उनले नेकपा एमालेका निरज आचार्यलाई ९ हजार ३१ मतले पराजित गरे ।

एमाले नेता आचार्यले २५ हजार १२० मत प्राप्त गरे । बस्नेतले यो सँगै तीन पटक संदसदीय निर्वाचन जिते । संविधान सभाको दोस्रो निर्वाचन २०७०, २०७४ सालमा भएको निर्वाचनमा प्रत्यक्ष जाजरकोट बाट बस्नेत निर्वाचित भएका थिए । स्वास्थ्य मन्त्री, गृहमन्त्री र वन तथा वातावरण मन्त्री समेत बस्नेत भईसकेका छन् ।
को हुन् शक्ति बस्नेत ?
नेकपा ( माओवादी केन्द्र) का उपमहासचिव समेत रहेका शक्ति बहादुर बस्नेत जाजरकोटको ग्रामिण वर्ग संघर्षवाट राजनीति सुरु गरेका नेता हुन् । वि सं २०२८ साल वैशाख ०१ भेरी नगरपालिका– ०१ कालेगाउँमा उनको जन्म भएको हो ।
बुवा डण्डवीर बस्नेत र आमा धर्म कुमारी बस्नेतका कान्छा सुपुत्रको रुपमा जन्मेका हुन् शक्ति बहादुर बस्नेत । उनका तीन दाजुभाई रहेका छन् । उनकी जीवन संगिनी पूर्व शान्ति तथा पुर्ननिर्माण मन्त्री सत्य पहाडी हुन भने, उनकी एक मात्र सन्तान छोरी संगम बस्नेत रहेकी छिन् । बस्नेतले राजनीतिक शास्त्रमा स्नातकोत्तर गरेका छन् ।

ग्रामीण वर्ग संघर्षलाई उठान गरेर सशस्त्र वर्ग संघर्षको माध्यमवाट नयाँ जनवादी राज्य सत्ता स्थापना प्राप्त गर्ने मार्ग दर्शनवाट अभिप्रेरित युवा शक्ति बहादुर वस्नेत २०४६ सालको जनआन्दोलनमा सहभागी भएर तत्कालिन नेकपा एकता केन्द्र (मशाल)मा आवद्ध भएका थिए ।
बस्नेत २०४८ सालमा तत्कालिन एकता केन्द्र (मशाल) राप्ती क्षेत्रिय समन्वय समिति सदस्यको जिम्मेवारीमा रहेर पार्टी कामको भुमिकालाई पुरा गर्दै आएका थिए भने २०४९ सालदेखि पार्टी जिल्ला सेक्रेटरीको जिम्मेवारीमा रहेर काम गर्दै आएका थिए ।

उनले २०५१ साल देखि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को पश्चिम क्षेत्रिय व्युरो सदस्यको जिम्मेवारीमा रहेर ग्रामिण वर्ग संघर्षको फिल्ड नेतृत्व गर्दै आएका थिए । यहि समयमा जिल्लाका सचेत युवाहरुको टिमले बर्ग संघर्षलाई संगठित गर्नका लागि ग्रामीण संघर्षलाई तिव्रता दिएको थियो । गाउँका सामन्तहरुको घर सेवोटेज गर्ने, जाली तमसुकहरु जलाउनुका साथै कयौं जनविरोधि फटाहहरुको बारीका मुला फाल्ने सम्मका गतिविधीहरुको कमाण्ड र निर्देशन गर्दै आएका बस्नेत २०५५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेका थिए ।

२०५७ साल देखि पार्टी केन्द्रीय सदस्य जिम्मेवारीमा रहेका बस्नेतले भेरीकर्णाली क्षेत्रीय व्युरो ईन्चार्जको भुमिका निर्वाह गरे । २०५९ सालमा पार्टी पोलिटव्यूरो सदस्य भएका शक्तिले भेरी कर्णाली, थारुवान जस्ता क्षेत्रिय व्यूरो ईन्चार्जको भुमिका निर्वाह गर्दै, ६१÷६२ को ढाँडमा टेकेर टाउकोमा हान्ने माओवादी योजनामा जनमुक्ति सेना नेपाल डिभिजन कमिसार भएर गण्डक अभियानमा सहभागी भएका थिए । २०७१ सालमा पार्टीको स्थायी कमिटी सदस्य निर्वाचित भए । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन बाट बस्नेत उप महासचिवमा निर्वाचित भए । जाजरकोट बाट ठूला दलको उपमहासचिव पाउने पहिलो व्यक्ति हुन् । अन्य पार्टीका केन्द्रीय सदस्यहरु मात्रै छन् । पार्टी भित्र पनि निकै प्रभावशाली युवा नेताका रुपमा रहदै आएका छन् ।
तीन पटक मन्त्री
पहिलो संविधान सभाको निर्वाचन २०६४ पछि बस्नेत २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएर गणतन्त्र स्थापनापछिको जाजरकोट जिल्लाको पहिलो मन्त्रीका रुपमा आफुलाई उभ्याएका थिए । २०७० सालमा भएको दोस्रो संविधान सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष निर्वाचित बस्नेत गृहमन्त्री बने । २०७२ मा भारतले गरेको अघोषित नाकाबन्दीमा उनले गृहमन्त्रीको रुपमा सफल काम गरेका थिए । देशको विषम् परिस्थितिमा देश र जनताको शान्ती सुरक्षामा खरो उत्रन उनलाई सजिलो थिएन । नाकाबन्दी जस्तो विषम समयमा बस्नेतले आफुलाई अडिग राखेर देशमा शान्ति र सुरक्षाका सवालमा कुनै सम्झौता हुन दिएनन् ।

एमाले संगको सहकार्यमा बनेको सरकारमा गृह मन्त्रालय सम्हालेको अबस्थामा उनको कार्यकालको चारैतिर बाट प्रशंसा भएको थियो । देशको समग्र सुरक्षा प्रशासनलाई नीतिगत सुधार गर्न,नाकाबन्दी र मधेश आन्दोलनको सहज व्यवस्थापन गर्न सफल भएका थिए । संघीयता कार्यान्वयन क्रममा भएको पहिलो निर्वाचन २०७४ मा ३२ हजार २८१ मतका साथ विजयी भए । त्यसपछि नेपाल सरकारको वन तथा वातावरण मन्त्री सम्हाले । शान्त ,शालिन तथा बौद्धिक नेताका रुपमा आफूलाई स्थापित गरेका वस्नेत विवादरहित समेत पर्दछन् ।

तपाईको प्रतिक्रिया