
जाजरकोट । आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुका लागि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
निर्वाचनलाई निष्पक्ष तरिकाले सम्पन्न गर्न जिल्लामा एक सय ४३ मतदान अधिकृत र एक सय ४३ सहायक मतदान अधिकृतलाई एक दिने अभिमुखीकरण तालिम गरिएको हो । निर्वाचन गराउने तरीका, निर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको भुमिका लगायतका विषयमा मुख्य निर्वाचन अधिकृत केशव चपाई, प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपाने र निमित्त जिल्ला निर्वाचन अधिकारी नविन कठायतले प्रकाश पारेका थिए । शनिवार र आइतवार दुई दिन दुुई समुहमा अभिमुखिकरण गरिएको हो । सात पालिका रहेको जाजरकोटमा एक सय ५३ मतदान केन्द्रमा एक हजार एक सय ४० कर्मचारी खटाईएको छ ।
निर्वाचनमा खटिने कर्मचारीलाई मंगलवार सामग्री बुझाईने भएको छ । दुर्गम र विकटका निर्वाचनस्थल तर्फ बुधवार कर्मचारी पठाईने छ भने सवै मतदान केन्द्रमा कार्तिक १ गते अनिवार्य रुपमा पुगि सक्नुपर्ने निमित्त जिल्ला निर्वाचन अधिकारी कठायतले बताए । निर्वाचनको सवै तयारी पुरा भएको र कर्मचारी खटनपटनको काम समेत पुरा भएको मुख्य निर्वाचन अधिकृत चपाईले बताए ।
जिल्लामा शान्ति सुरक्षा र निर्वाचन सुरक्षालाई मध्यनजर गरेर तीन किसिमको सुरक्षा ब्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेले बताए । पहिलो घेरामा म्यादी प्रहरी र जनपद प्रहरी, दोस्रो घेरामा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिनेछ ।
















































। २७ कार्तिक २०७९, आईतवार