उम्मेदवार वायोग्राफी : गठबन्धनलाई पछार्ने दाउमा निरज


जाजरकोट । २०३३ सालमा जाजरकोटको भेरी नगरपालिका –११ जगतिपुरमा निरज आचार्यको जन्मभयो । साधारण किसान परिवारमा जन्मिएका आचार्यका पाँच दाजुभाईमध्ये उनी काईला हुन् ।

युवा राजनीतिमा परिचित अनुहार हो, निरज आचार्य । १९ वर्षे उमेरमै उनी नेकपा एमाले निकट युवा संगठन (तत्कालीन राष्ट्रिय प्रजातान्त्रिक संघ) का केन्द्रीय सदस्य बनेका थिए ।

किशोर उमेरमै युवा संघको केन्द्रीय नेता हुनुमा भने २०५४ सालको स्थानीय चुनावमा देशकै कान्छा जनप्रतिनिधि निर्वाचित हुनुले काम गरेको थियो । १८ वर्ष कटेपछि जनप्रतिनिधि हुन पाइने वैधानिक सीमा भर्खर काटेका निरज त्यसबेला जिल्ला विकास समितिको सदस्य निर्वाचित भए । ‘देशकै कान्छा जनप्रतिनिधि भनेपछि चर्चा हुने नै भयो । अझ म जाजरकोटबाट प्रतिनिधित्व गर्थे’ निरज भन्छन्, ‘जिविस सदस्य भएकै वर्ष प्ररायु संघको महाधिवेशन हुँदा अवसर पनि मिल्यो ।’

२०५४ चैतमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट निरजले केन्द्रीय सदस्य सँगै, तत्कालिन भेरी अञ्चल संयोजक तथा इन्चार्जको जिम्मेवारी पाए । केपी ओली संस्थापक रहेर २०४७ सालमा गठन भएको प्ररायु संघ एमालेमा प्रभावशाली जनसंगठन बनिसकेको थियो । युवा संघमा उनी धेरै पछिसम्म कान्छा केन्द्रीय सदस्य भनेरै चिनिए ।

तर अहिले उनी ४५ वर्ष पुगिसके । किशोर उमेरका नेता भनेर राजनीतिक पंक्तिमा चिनिएका निरज पाको उमेर समूहका भनेर चिनिन थालिसके । ‘युवा संघबाट विदा लिएको पनि धेरै भइसक्यो । राजनीति भनेको उतारचढाबको संयोजन पनि रहेछ’, उनी भन्छन् । राजनीति उतारचढाबको संयोजन भन्नुमा निरजले २०५४ पछि थप राजकीय भूमिकाको अवसर नपाउनुको अर्थमा बुझ्न सकिन्छ ।

‘यसभन्दा अघि पनि सांसदको उम्मेदवारमा सिफारिस त २०६४ सालदेखि भइरहेकै छु, तर टिकट भने अरुले नै पाउने परिस्थिति बन्ने गर्यो’, उनी भन्छन् । २०६४ र २०७० मा पार्टीभित्रैका नेताले टिकट पाउँदा निरजको भूमिका मत माग्नेमा सीमित भएको थियो । २०७४ मा भने नेकपा माओवादी केन्द्रसँग गठबन्धन हुँदाको असर उनमा पर्यो । प्रदेशसभा सदस्यको टिकट पाएर पनि अन्तिम समयमा निरजले उम्मेदवारी फिर्ता लिनु परेको थियो ।
यसपटक भने नेकपा एमाले बाट प्रतिनिधि सभा सदस्य उम्मेदवारमा सर्वसहमत निरजको नाम सिफारिस भयो । उनी नेकपा एमाले बाट उम्मेदवार बने । यस पटक उनले २०७४ को निर्वाचनमा आफैले सघाएका माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेत सँग प्रतिस्पर्धा गर्नुपरेको छ ।

‘लामो समयपछि जाजरकोटी जनताको चाहना पुरा हुँदैछ’ उनी भन्छन्, ‘रोक, भोक, अभाव र गरिबीले थिचिएको गाउँमा जन्मेर अनेकौं सामाजिक–राजनीतिक अप्ठ्याराका साथी बनेको हुँदा मलाई जनताले विश्वास गर्नेछन् ।’

युवा र पार्टीको राजनीतिबाट व्यवस्था परिवर्तनको संघर्ष गरिसकेकाले अब सांसद बनेर जाजरकोटको परिचय बदल्ने उनको सपना छ । ‘जाजरकोट देशको अवस्था हेर्ने एउटा आँखी झ्याल हो । यहाँको अभाव, गरिबी र बेरोजगारीबाट देशको दर्द देख्न सकिन्छ’ निरज भन्छन्, ‘जाजरकोटको परिचय बदल्नु मेरो संकल्प हुनेछ ।’

अनुभव र योग्यता
पञ्चायत अन्त्य भएर बहुदलीय व्यवस्था स्थापना भएको केही वर्षपछि राजनीतिमा होमिएका निरज, आफ्नो अनुभव र इन्दारिताकै कारणले सांसद बन्न योग्य रहेको बताउँछन् । ‘जनताको असली प्रतिनिधि भएर संसदमा प्रस्तुत हुनेछु । मसँग पैसा र पावर होइन, जनताको विश्वास छ’, उनी भन्छन् ।

दाजु रामलालको प्रेरणाबाट २०५० सालमा अखिल पाँचौंको जाजरकोट जिल्ला सदस्य भए यता निरन्तर राजनीतिमै रहेर जाजरकोटी जनतालाई साथ दिएको उनी बताउँछन् । युवा संघ र पार्टीको भूमिकाले पनि आफू निरन्तर राजनीतिमै रहेको प्रमाणित हुने उनको भनाइ छ । अखिलको सदस्य भएको वर्षदिन भित्रै उनी जिल्ला उपसंयोजक र अर्को वर्ष जाजरकोट अध्यक्ष भए ।

यसपछि उनी विद्यार्थीबाट युवातिर तानिए । २०५४ मा युवा संघको केन्द्रीय सदस्य बनेका उनी २०५८ मा केन्द्रीय कार्यालय सचिव नै बने । विराटनगरमा २०६३ सालमा सम्पन्न छैटौं राष्ट्रिय सम्मेलनबाट उनी संगठन विभाग प्रमुख र लहानमा सम्पन्न सातौं महाधिवेशनबाट महासचिव बने । आठौं महाधिवेशनमा उनी युवा संघको अध्यक्षकै दावेदार थिए, तर पराजित भए ।

सँगै, उनी जाजरकोट पार्टीको भूमिकामा पनि छदैथिए । २०५४ देखि लगातार ९ वर्ष जिल्ला सदस्य, यसपछि भेरी अञ्चल कमिटी सदस्य, राष्ट्रिय परिषद सदस्य र केन्द्रीय श्रम तथा रोजगार विभाग सचिवको भूमिकामा क्रमशः रहे ।

३ जेठ २०७५ मा माओवादी केन्द्रसँग एकता भएपछि निरज पार्टीकै केन्द्रीय सदस्य छन् । गएको वर्ष चितवनमा सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट पनि उनी केन्द्रीय सदस्य दोहोरिएका छन् । ‘व्यवस्था परिवर्तन र सामाजिक रुपान्तरणको आन्दोलनमा इमान्दारिताका साथ जिम्मेवारी पूरा गर्ने प्रयत्न गरेको छु’ निरज भन्छन्, ‘मलाई जाजरकोटका जनताले राम्रोसँग चिनेका छन् ।’ शिक्षा क्षेत्रमा आचार्यले त्रिभुवन विश्वविद्यालय बाट स्नातकोत्तर गरेका छन् ।

बोनश जीन्दगी

विद्यालय उमेरमै राजनीतिमा होमिएका निरज आफूले जीन्दगीलाई बोनश मान्छन् । ‘धेरैपटक मृत्युको मुखबाट उम्किएको छु, त्यसो हुदा मैले बोनशको जीन्दगी बाँचिरहेको छु’ उनी भन्छन्, ‘बोनश जीन्दगीलाई जनताकै निम्ति समर्पित गर्छु ।’

रंगभेद, जातीभेद र राजनितिक हस्तक्षेपका विरुद्ध भएका आन्दोलनहरुको अगुवाइ गर्ने क्रममा थुप्रैपटक जेल बसेको उनीसँग अनुभव छ । विशेषगरी २०६२ सालमा ज्ञानेन्द्र शाहले कू गर्दा निरज युवा संघका महासचिव थिए, त्यसो हुँदा शाही कूविरुद्ध उनी नेतृत्वदायी भूमिकामा रहे ।

‘शाही कूविरुद्ध आन्दोलनकै क्रममा कलंकीमा गोली चल्यो, मुस्किलले ज्यान जोगियो’, उनी भन्छन् । जाजरकोट र बाँकेमा भएका आन्दोलनहरुमा पनि उनी कयौंपटक घाइते भए, जेल बसे ।

तर राजतन्त्रको अन्त्य भएर २०७२ मा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने उनी बताउँछन् । त्यसमा जाजरकोटी जनता र विकास प्राथमिकतामा राख्ने उनी बताउँछन् । ‘अब जाजरकोटमा गरिबी र अभावको गीत होइन, हरेक नागरिकको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ’ उनको प्रतिबद्धता छ, ‘जाजरकोटीहरु स्वाभिमानी र इमान्दार छन्, मेहनती छन् । हरेक कुरामा आत्मनिर्भर बन्न सक्छन् भन्ने भाष्य स्थापित गर्न ‘सुखी जाजरकोटी, समृद्ध जाजरकोट’को संकल्प लिएको छु ।’

विदेश यात्रा
राजनीति गर्ने मानिसले आफ्नो देशको भूगोल, इतिहास र संस्कृतिको न्यूनतम ज्ञान राख्नुपर्दछ भन्ने मान्यता बोकेका निरजले नेपालका झण्डै ७० जिल्लाको भ्रमण गरिसकेका छन् । उनमा अन्र्तराष्ट्रिय सम्बन्ध र ज्ञान पनि उत्तिकै छ । देशभित्र मात्र होइन, अन्र्तराष्ट्रिय सञ्जाल पनि तयार पारिरहेका छन् । विभिन्न देशको भ्रमणबाट ती देशको राजनीतिक, सामाजिक तथा अन्य विभिन्न पक्षको अध्ययन गरी सकारात्मक पक्षलाई आफ्नो देशको विकास नीतिमा समाहित गराउन सकिन्छ भन्ने उनको धारणा छ । जसको पहल शुरु गरिसकेका छन् । निरजले अहिलेसम्म भारत, चीन,दक्षिण अफ्रिका, नर्वे, पोर्चुगल, स्पेन, बेल्जियमको भम्रण तथा अध्ययन गरेका छन् ।

चुनाव जित्न निरजलाई कति सहज ?
स्थानीय तह निर्वाचनको मतको अंकगणितलाई हेर्दा निरजलाई चुनाव जित्न त्यति सहज छैन् । ३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधार एमाले पहिलो दल बनेको छ । एमालेले २४ हजार ४ मत पाउँदा कांग्रेसको २२ हजार ३४२ र माओवादीको १८ हजार ६२२ मत छ । एकीकृत समाजवादीको २ हजार ३३४ मत देखिन्छ । अघिल्लो निर्वाचन २०७४ मा वाम गठबन्धनका कारण प्रत्यक्ष चुनाव हारे पनि समानुपातिकतर्फ कांग्रेस पहिलो शक्ति थियो । उसले २० हजार ४८६ मत पाउँदा एमालेले १७ हजार ६७१ र माओवादीले १३ हजार ५७१ मत पाएको छ । स्थानीय तहको निर्वाचनको मतलाई मिलाएर हेर्दा ४० हजार गठबन्धनको मत छ भने एमालेको २४ हजारमै सीमित छ । यसरी हेर्दा निरजलाई चुनाव जित्न त्यति सहज देखिदैन् ।

तपाईको प्रतिक्रिया