
जाजरकोट । आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्ष्य गर्दै जाजरकोटका राजनीतिक दलले गाउँ गाउँमा चुनावीसभा गर्न थालेका छन् । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एमाले, एकीकृत समाजवादी र अन्य राजनीतिक दलले गाउँ गाउँमा राजनीतिक दल चुनावीसभालाई तीव्रता दिएका हुन् ।
जाजरकोटमा वाम लोकतान्त्रिक गठबन्धन र नेकपा एमाले, वीपी कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा नेपाल र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । आफ्नो पक्षमा मत माग्न ती दलले गाउँ गाउँमा भेलालाई तीव्रता दिएका हुन् । अहिले जिल्लाभर पालिकास्तरको भेला चलिरहेको र टोलटोलमा पनि कार्यक्रम सञ्चालन भइरहेको माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक टेकबहादुर रावलले जानकारी दिए ।

‘गठबन्धनमा रहेका दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल जनता समाजवादीले संयुक्त निर्वाचन परिचालन समिति बनाएर पालिका, वडा र टोलस्तरमा चुनावी भेला गरिरहेका छन्’ उनले भने, ‘मौन अवधि सुरु नहुँदासम्म हामीले चुनावी अभियानलाई तीव्रता दिने सोच बनाएका छौँ ।’
एमालेले अहिले पहिलो चरणको भेटघाट कार्यक्रम सकेर पालिका र टोलस्तरमा भेला गरिरहेको उक्त पार्टीका जिल्ला अध्यक्ष खीमबहादुर शाहीले बताए । ‘हाम्रा उम्मेदवारले घरदैलो भेटघाटका साथै चुनावी अभियानका रुपमा भेला गरिरहेका छन् ।” उनले भने, ‘मतदातामा हामी पार्टीको एजेण्डासहित पुगिरहेका छौँ ।”
राप्रपा नेपालले पनि जिल्लामा अहिले चुनावी प्रचारप्रचार गर्दै आइरहेको उम्मेदवार दिपक खनालले जानकारी दिए । ‘हामीले जिल्लामा मतदाताका समस्या र गुनासो सुन्नका साथै चुनाव लक्षित आमसभा गर्दै आएका छौँ,” उनले भने, ’जिल्लाभर नै हाम्रा पार्टीका नेता तथा कार्यकर्ता परिचालन भएका छन् ।”
जिल्लामा प्रतिनिधिसभाका लागि गठबन्धनबाट माओवादीका शक्तिबहादुर बस्नेत, एमालेबाट निरज आर्चा, कांग्रेस वीपीबाट पार्टीका झलनाथ वाग्ले, राप्रपाका दिपक खनाल र स्वतन्त्र रुपमा नरबहादुर कार्कीको उम्मेदवारी छ ।

त्यस्तै, प्रदेशसभाका लागि १ (क) मा गठबन्धनका तर्फबाट काँग्रेसका वेदराज सिंह केन्द्रका, एमालेका डम्बरबहादुर सिंह, स्वतन्त्र उम्मेदवार कमानबहादुर खड्का उम्मेदवार रहेका छन् । प्रदेशसभा (ख) मा गठबन्धनका तर्फबाट कांग्रेसका राजीव विक्रम शाह, एमालेका खीमबहादुर शाही उम्मेदवार रहेका छन् ।
















































। १९ कार्तिक २०७९, शनिबार