नलगाडको चेवत्ता वस्ती बाढीको उच्च जोखिममा


प्रेम विश्वकर्मा
जाजरकोट । भारी वर्षाले जाजरकोटको अधिकांश ठाउँ प्रभावित भएका छन् । केही दिन यता आएको वर्षाका कारण जाजरकोटका अधिकांश गाउँ प्रभावित भएका हुन् । नलगाड नगरपालिका १ पाली नजिक रहेको चेवत्ता गाउँ निकै जोखिममा रहेको छ । यहाँका मानिसलाई सामान्य जनजीविका चलाउन पनि निकै अप्ठ्यारो भएको छ । ठूलो पहाडको मुनि भएको यो गाउँ भारी वर्षातका कारण जोखिममा परेको छ । यस गाउँको वरिपरिबाट दुइवटा खोलाले घेरेका छन् । खोलामा आएको बाढीका कारण गाउँ जोखिम परेको हो ।

बाढीका कारण चेवत्ता गाउँका १९ घरधुरी नै जोखिममा परेका छन् । स्थानीय पुर्ण बहादुर नेपालीका २ वटा बाख्रा,करिव २ सय ५० बोट टिमुर र २ सय बोट सुन्तलाका बोट नष्ट भएका छन् । यस्तै, गाउँ भरिका करिब १५ मौरी घार नष्ट भएको स्थानिय गिता परियारले बताईन् । गाउँमा बस्न पनि डराउनु पर्ने अवस्था रहेको परियार बताउँछिन् । उनले भनिन्, ‘राती सुतेपछि विहान कुन अवस्थामा फेला परिन्छ थाहा छैन, ज्यान नै जोखिममा राखेर बस्नुपर्ने बाध्यता छ ।’ त्यसै गाउँका स्थानीय पुर्ण बहादुर नेपालीले लगाएको मकै बाली पनि बाढीले सबै नष्ट गरेको छ । यसरी सिङ्गो गाउँ नै जोखिममा हुदाँ पनि सरकारले कुनै चासो नदेखाएको स्थानीय धर्मराज रानाको गुनासो छ ।

उनले भने, ‘भोट हालेर जिताएका जनता यस्तो दुःखमा पर्दापनि जनप्रतिनिधी मुखदर्शक बनेर बसेका छन्, बस्ती छाडेर जाने अन्त कुनै ठाउँ नभएको र ज्यान जोखिममा राखेर भए पनि यहि ठाउँमा बस्नुपर्ने बाध्यता छ ।’

नजिकैको स्थानीय सरकारले क्षति हेरेर राहत दिए आफुहरुलाई राहत हुने गाउँलेहरुको भनाई छ । उता जनप्रतिनिधिसँग कुरा गर्दा त्यहाँको समस्या हामीले बुझेका छौ भनी जवाफ फर्काएको गाउँलेको भनाइ छ । तर अहिलेसम्म कुनै पनि सरोकारवाला व्यक्ति अनुगमनको लागि गाउँसम्म नआएको उनीहरुको गुनासो छ ।

गाउँको समस्या समाधानको लागि स्थानीय सरकारले पहल गरिरहेको नलगाड नगरपालिका १ का वडाध्यक्ष धर्बेन्द्र विकले वताए । गाउँको समस्या तत्काल समाधान हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया