निर्वाचन आचारसंहिता : पालन गर्न सरकार र राजनीतिक दलको प्रतिबद्धता‚ प्रचारको समय थप्न आग्रह

काठमाडौं : सरकार र राजनीतिक दलहरूले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा जारी हुने निर्वाचन आचारसंहिता इमान्दारीपूर्वक पालना गर्न प्रतिबद्धता जनाएका छन्।

आज निर्वाचन आयोगले आयोगमै गरेको सरकार र दलहरूसँगको छलफलमा उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन्। साथै दलहरूले चुनावी प्रचारप्रसारका लागि समय थोरै भएकाले प्रचारप्रसारका लागि समय लम्ब्याउन पनि आयोगसँग माग गरेका छन्।

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाकी नेत्री दुर्गा पौडेल, लोकतान्त्रिक समाजवादी पार्टीका नेता केशव झालगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन्।

निर्वाचन आयोगले प्रधानमन्त्री, गृहमन्त्री र अन्य राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधि बोलाएर निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न गराउन आचारसंहिता पालनाका लागि आज प्रतिबद्धता लिएको हो।

प्रतिबद्धतापत्रमा भनिएको छ, ‘संविधान, निर्वाचन आयोग ऐन, राजनीतिक दलसम्बन्धी ऐन, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३, प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, प्रदेशभा सदस्य ऐन र निर्वाचन आचारसंहिता, २०७९ भएका प्रावधानहरु इमान्दारीका साथ पालना गर्न गराउन हामी प्रतिबद्ध छौँ।’

आयोगले जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल सङ्घीय समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीलाई पनि प्रतिबद्धतापत्रमा हस्ताक्षरका लागि आमन्त्रण गरेको थियो।

निर्वाचन आचारसंहिता केही दिनभित्रै जारी गर्ने तयारी गरिरहेको आयोगले राजनीतिक दलहरूलाई बोलाएर प्रतिबद्धतापत्र लिएको हो।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दलहरुबाट निर्वाचन आचारसंहिता पालना गर्ने गराउने विषयमा प्रतिबद्धता जाहेर भएको बताए।

नेकपा माओवादी केन्द्रका नेता पोखरेलले निर्वाचन आयोगले जारी गर्न लागेको निर्वाचन आचारसंहिताका विषयमा केही सुझाव दिनुका साथै प्रतिबद्धतापत्रमा हस्ताक्षर भएको जानकारी दिए।

राजनीतिक दलहरूले निर्वाचन प्रचारप्रसारको समय नपुग्ने भएकाले केही समय बढाउन माग गरेको बताइएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ यही असोज २ र ३ गते उम्मेदवारको बन्दसूची पेश भइसकेको छ।

पहिलो हुने निर्वाचित हुने प्रत्यक्ष निर्वाचनतर्फ भने यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने कार्यक्रम छ।

प्रतिनिधिसभाका कुल सदस्य २७५ प्रत्यक्ष र समानुपातिक र सातै प्रदेशसभाका सदस्यतर्फ ५५० सिटका लागि निर्वाचन हुन लागेको हो।

तपाईको प्रतिक्रिया