जाजरकोट प्रहरीको सक्रियता : घरघरमा हाते पर्चा, घरेलु हिंसा अन्त्य प्राथमिकता

कालीबहादुर नेपाली
जाजरकोट । घरेलु तथा लैङ्गिक हिंसा नियन्त्रणमा जाजरकोट प्रहरीले घरदैलो अभियानको शुभारम्भ गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रहरी प्रमुख (डिएसपी) सन्तोष निरौलालाई लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी सचेतनामुलक घरदैलो कार्यक्रमको हाते पुस्तिका हस्तान्तरण गरी जिल्ला व्यापी रुपमा कार्यक्रमको शुभारम्भ गरेका हुन् । जिल्लामा घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धीका मुद्धाहरु प्रहरी कार्यालयमा धेरै आउने भएकोले सचेतनामुलक हाते पुस्तिका सबै घरमा पु¥याउने गरी अभियानको थालनी गरिएको डिएसपी सन्तोष निरौलाले जानकारी दिए ।

उनले भने, ‘यस जिल्लामा घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धीका धेरै मुद्धाहरु प्रहरी कार्यालयमा आईरहेका छन्, जनचेतना अभावले भईरहेका यस्ता मुद्धाहरुको नियन्त्रणका लागि सचेतनामुलक हातेपुस्तिका वितरण गरी सर्वसाधारणमा जनचेतना फैलाउने लक्ष्य लिएका छौं ।’ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले प्रहरीले थालेको अभियान एकदमै सराहनीय रहेको बताए ।

‘जाजरकोट जिल्लामा घरेलु हिंसाका मुद्धाहरु बढीरहेका छन्, यस्ता समस्या समाधानका लागि प्रहरीले थालेको अभियान फलदायिक छ, उनले भने, प्रहरी सँगै जाजरकोटका सरोकारवालाहरुले यस अभियानमा साथ दिन जरुरी छ ।’ सचेतनामुलक हाते पुस्तिकामा घरेलु हिंसा केहो, घरेलु सम्बन्ध भन्नाले के बुझिन्छ, लैङ्गिक हिंसा भनेको केहो, यातना कति प्रकारका छन्, उजुरी गर्ने तरिका, उजुरी गर्ने ठाउँ, कस्तो सजाय छ, हदम्याद कति रहेको छ ? भन्ने विषयवस्तु पुस्तिकामा समेटिएको छ । सामुदायिक सेवा केन्द्र जाजरकोटका अध्यक्ष दिपक खनालको अध्यक्षमा शुभारम्भ भएको कार्यक्रम गैरीखालीमा सम्पन्न भएको थियो ।

कति आउँछन् प्रहरीमा उजुरी ?
जिल्ला प्रहरी कार्यालय जाजरकोटमा घरेलु हिंसा सम्बन्धीका उजुरीहरुको संख्या बढीरहेको छ । गत आ.व. ७८÷७९ मा १ सय ९६ घरेलु हिंसाका उजुरी दर्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यस्तै, १ सय ९२ लैङ्गिक हिंसाका उजुरी दर्ता भएका छन् । घरेलु तथा लैङ्गिक हिंसा सम्बन्धीका ३ सय ८८ वटा उजुरी गत आर्थिक बर्षमा दर्ता भएका थिए । चालु आ.व. ७९÷८० मा लैङ्गिक हिंसा सम्बन्धीका ४१ र घरेलु हिंसा सम्बन्धीका २१ वटा उजुरी दर्ता भएको डिएसपी निरौला बताए ।

घरेलु हिंसा गर्नेलाई कस्तो सजाय हुन्छ ?
कुनै व्यक्तिले सम्बन्ध भएको अर्काे कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातना सम्झनुपर्छ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्याउने अन्य कुनै कार्यलाई समेत जनाउँछ । कसैले घरेलु हिंसा गरेमा त्यस्तो व्यक्तिलाई ३ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँ सम्म जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुनेछ ।

घरेलु÷ लैङ्गिक हिंसाको उद्योग वा दुरुत्साहन गर्ने वा मतियार हुनेलाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुनेछ । घरेलु÷ लैङ्गिक हिंसाको कसुरमा सजाय पाई सकेको व्यक्तिले पुन सोही कसुर गरेमा पटकै पिच्छे दोब्बर सजाय हुनेछ । सार्वजनिक जवाफदेहीको पदमा बहाल रहेको कुनै व्यक्तिले यस ऐन बमोजिमको कसुर गरेमा निजलाई दश प्रतिशत सजाय हुनेछ । यस ऐन बमोजिमको कसुर गरेको मितिले ९० दिन भित्र उजुरी दिनुपर्नेछ ।

तपाईको प्रतिक्रिया