गलत डिजाइनले पुल अलपत्र

रुकुम पश्‍चिम — मुसीकोट नगरपालिका–१ र बाँफिकोट गाउँपालिका–१० जोड्ने गाराघाटस्थित सानीभेरी नदीको पक्की पुल निर्माण सक्न ठेकेदार कम्पनीलाई २०७५ माघ महिनासम्मको म्याद दिइएको थियो । एक वर्षअघि म्याद सकिए पनि पुलको १० प्रतिशत कामसमेत सकिएको छैन ।

सानीभेरी गाउँपालिकाका दुईवटा वडा जोड्न सानीभेरी नदीमा पिल्लर उठाएर अलपत्र छाडिएको पुल । तस्बिर : हरि/कान्तिपुर

सानीभेरी नदीमै निर्माणाधीन फल्लेबगर–मेगा मोटरेबल पुलको हालत पनि उही छ । सानीभेरी गाउँपालिका–२ र ४ नम्बर वडा जोड्न पुलको ठेक्का गरिएको ६ वर्ष भयो ।

सडक डिभिजन कार्यालय, चौरजहारीले ठेक्का खोलेर सम्झौता गरेका पुल नबन्दा यात्रुले लामो समयदेखि सास्ती भोग्दै आएका छन् । पुल निर्माणको समय अझै एकीन नहुँदा स्थानीयले आगामी वर्षातमा पनि ठूलो जोखिम मोल्नुपर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिम जोड्न ठूलीभेरी नदीमा निर्माण गर्न थालिएको रग्दा मोटरेबल पुलको प्रगति झन् निराशाजनक छ । पुलमा काम सुरु नभएर ठेकेदारले ठेक्का ‘होल्ड’ गरेको पाँच वर्ष बित्यो ।

यही अवस्थामा तीनवटै पुलको निर्माण हुने छाँट छैन । गलत स्टिमेटका कारण निर्माणमा समस्या भएपछि कम्पनीले हात झिक्नेसम्मको तयारी गरिरहेका छन् । जाजरकोटबाट रुकुम पश्चिमको आठबीसकोट नगरपालिकास्थित खदी जोड्न १० करोड ३१ लाख रुपैयाँमा मृत सञ्जीवनी/ग्याल्वा जेभीले रग्दा पुलको जिम्मा लिएको थियो । दुई वर्षमा निर्माण सक्ने भनेको पुलको काम सुरु भएको छैन । डिभिजन कार्यालयले पेस्कीस्वरुप कम्पनीलाई दिएको ९० लाख रुपैयाँ फिर्ता लिइसकेको छ ।

१८ महिनामा निर्माण सक्ने सर्तसहित २०७१ सालमा सपना/शैलुङ जेभीले फल्ले बगर–मेगा पुलको जिम्मा लिएको थियो । एक वर्षसम्म निरन्तर काम गर्दा पनि प्रगति हुन नसकेपछि कम्पनीले निर्माणको काम अलपत्र पारेको छ । ठेकेदारले एक करोड २५ लाख रुपैयाँ सडक डिभिजनलाई फिर्ता गरिसकेका छन् । गाराघाट पुलको काम भने नागार्जुन कन्ट्रक्सको लापरवाहीले अघि बढ्न सकेको छैन । हालसम्म दुवै तर्फको पिलरको केही काम सकिनुबाहेक अरु प्रगति नभएको डिभिजनले जनाएको छ । २०७३ सालमा डिभिजनले १० करोड ८६ लाख रुपैयाँमा पुल निर्माणको सम्झौता गरेको थियो । सपना–सैलुङ कन्स्ट्रक्सनका इन्जिनियर वीरेन्द्र भट्टराईका अनुसार तीनवटै पुलको डिजाइन ‘पाइल फाउन्डेसन’ हो । ‘२१ मिटर जमिनमुनिबाट ढलान गर्दै पुल निर्माण गर्नुलाई पाइल फाउन्डेसन भनिन्छ,’ उनले भने, ‘तराइमा यस प्रकारको संरचनाउपयुक्त भए पनि पहाडमा निर्माण गर्न मुस्किल देखियो ।’

उनले ठूलो प्रयास गर्दा पनि २१ मिटर जमिन खन्न नसकिएको बताए । ‘हामीले निरन्तर प्रयास गर्‍यौं,’ उनले भने, ‘अहिलेकै अवस्थामा पाइल डिजाइनको पुल बनाउन १७ वर्ष लाग्ने देखिन्छ, सानो मेसिनले २१ मिटर जमिनमुनि प्वाल पार्न नसकेपछि ‘पाइलिङ रिक मेसिन’ ल्याउने प्रयास गरे पनि सम्भव भएन ।’ ४६ मेट्रिक टनको उक्त मेसिन सडक साघुँरो भएकाले निर्माणस्थल पुर्‍याउन नसकिएको उनको गुनासो छ ।
सुरुदेखि नै डिजाइन परिवर्तन गर्न आग्रह गरे पनि सुनुवाइ नभएपछि काम नथालिएको मृतसञ्जीवनी/ग्याल्वा जेभीका प्रतिनिधि रत्न खड्काले बताए । ‘केही मिटर खन्नेबित्तिकै कडा चट्टान लाग्दा समस्या भयो,’ उनले भने, ‘पहाडमा पाइल फाउन्डेसनभन्दा ओपन फाउण्डेसन संरचनाको पुल निर्माण सहज छ ।’ तीनवटै निर्माण कम्पनीले सडक डिभिजन कार्यालयमार्फत सडक विभागमा म्याद थप तथा डिजाइन परिवतर्नका लागि निवेदन दिएका छन् । तर, कुनै कारबाही अगाडि बढेको छैन ।

सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुनले ठेकेदार कम्पनीको लापरवाहीले पुल निर्माण नहुँदा समस्या भइरहेको बताए । ‘अरु प्राविधिक कुरा जनताले थाहा पाउँदैनन्,’ उनले भने, ‘स्थानीयको सुविधाका लागि जतिसक्दो छिटो पुल निर्माण गर्न जरुरी छ ।’ कान्तिपुर 

तपाईको प्रतिक्रिया