हट्दै कर्णालीका कहर

करिडोरले जोडिएपछि गाउँमै व्यवसाय र रोजगारी, सदरमुकामकै मूल्यमा उपभोग्य सामान

मुग — सामान किन्न एक महिना हिँडेर बर्दियाको राजापुर र चिसापानीसम्म पुगेका सोरु गाउँपालिका–४, नेरगाउँका ६५ वर्षीय अर्जुन बुढा अहिले दंग छन् । उनकै घरमुनिबाट कर्णाली करिडोर निर्माण भएपछि जग्गाको कारोबार बढ्यो नै, सस्तो दरमा उपभोग्य सामान पाइएको छ ।

‘हामीले ठूलो दुःख भोग्यौं,’ उनले भने, ‘छोरा–नातिका लागि सुखका दिन आए ।’ उनका आफन्त केवल बुढाले नेरघाटमा खाजा पसल सुरु गरेका छन् । कर्णाली नदीको तिरैतिर कर्णाली करिडोरको निर्माण तीव्र भएपछि उनले गाउँभन्दा आधा घण्टा टाढाको नेरघाटमा व्यवसाय सुरु गरेका हुन् ।

कर्णाली करिडोरले मुगु, कालीकोट र हुम्लाबासीको जनजीवन सहज बनेको छ । गाउँका दर्जन व्यक्तिले नेरघाटमा आई विभिन्न व्यवसाय थालेका छन् । कृषि उत्पादनले सहज बजार पाउन थालेको छ । कर्णाली करिडोरले वर्षौंदेखिको कहर हटाउन थालेको स्थानीय बासिन्दा सागर बमले बताए । ‘कुनै बेला हाम्रा पुर्खा महिना दिन हिँडेर चिसापानी र नेपालगन्जसम्म हाट गए,’ उनी भन्छन्, ‘अहिले गाउँमै सदरमुकामकै मूल्यमा सामान पाइन्छ ।’ उनको खेतमुन्तिरबाट कर्णाली करिडोर गएको छ । उनले व्यावसायिक तरकारीखेती गर्ने योजना बनाएका छन् ।

गाउँ नजिकै धमाधम सडक निर्माण हुन थालेपछि सडकछेउ बसाइ सर्ने क्रम बढेको छ । सोरु गाउँपालिका–४, लिब्रुका गंगाबहादुर शाहीले तीन महिनाअघि नेरघाटमा घर बनाएको बताए । ‘भीर–पहरामा यसरी सडक बन्ला भन्ने सोचेकै थिएनौं,’ उनले भने, ‘हुम्ला र तिब्बतसँग सडकको पहुँच जोडिएपछि सुखका दिन भित्रने आशा छ ।’ सडकछेउछाउ तरकारी र फलफूलका बगैँचा बन्न थालेको उनले बताए ।

हुम्लाको तुम्च, बालुकुना, खच्चा, नेरघाट, तल्तडी, श्रीनगर गल्फा, दोखुमलगायत स्थानलाई कर्णाली करिडोरले छोएपछि स्थानीय व्यवसायतर्फ उन्मुख भएका छन् । तुम्च र बालुकुनामा बजार बनिसकेको छ । ‘अब तराई झर्न आवश्यक भएन,’ सोरु–४ का भक्तबहादुर शाहीले भने, ‘घरदैलोमै राजमार्ग पुग्यो, वर्षौंको दुःखबाट मुक्ति पाइयो ।’ सीप, क्षमता र मिहिनेत भएकालाई करिडोरले घरआँगनमै रोजगारी दिएको उनको भनाइ छ ।

करिडोरकै कारण मुगु र हुम्लाका विभिन्न गाउँमा जग्गाको बिक्री बढेको छ । व्यक्तिगत लगानीमा खानेपानी, सिँचाइलगायत योजना निर्माण भइरहेका छन् । शाहीले गाउँमा जग्गाको मूल्य अकासिएको बताए । उनका अनुसार सडकछेउको जग्गा प्रतिमिटर ४० हजार रुपैयाँसम्म किनबेच भइरहेको छ ।

ज्यालादारी काम गर्ने सोरु गाउँपालिकाको फोतु, लिब्रु, रावलबाडा, नार्थपु, भीईलगायत बस्तीका मजदुरले अहिले करिडोरमै रोजगारी पाएका छन् । सडकमा काम गर्ने मजदुरलाई ज्यालाबापत दैनिक ७ सय रुपैयाँ दिइरहेको निर्माण व्यवसायी अंग शाहीले बताए । उनका अनुसार दैनिक ५ सय जनासम्मले रोजगारी पाएका छन् । ज्यालाबापत पाएको रकमले स्थानीय बासिन्दाले सडकछेउमै जग्गाजमिन जोडिरहेको उनले बताए ।

कालिकोटको खुलालुदेखि हुम्ला सरीसल्लासम्मको १ सय २३ किलोमिटर सडक निर्माणको काम नेपाली सेनाले गरिरहेको छ । अहिलेसम्म १ सय १५ किलोमिटर सडक निर्माणको काम सकिएको कर्णाली करिडोर सडक निर्माण कार्यदल संयोजक सेनानी मिलन कार्कीले बताए । उनका अनुसार अब ८ किलोमिटर सडक निर्माणको काम मात्र बाँकी छ । न्यूनतम ७ र अधिकतम ९ मिटर सडक चौडा बनाइएको उनले जानकारी दिए । आगामी असार मसान्तभित्र सरीसल्लासम्मको ट्र्याक खोलिसक्ने लक्ष्य भए पनि कडा चट्टान र भीरले समस्या भइरहेको उनको गुनासो छ । ‘आगामी दसैंसम्म जसरी पनि ट्र्याक खुल्छ,’ उनले भने, ‘रातदिन नभनी निर्माणलाई तीव्रता दिएका छौं ।’

सडक निर्माण कार्यदलका अनुसार हुम्लाको गल्फागाडमा ट्रसब्रिज निर्माणको काम पनि भइरहेको छ । पुल निर्माणको काम सकिनबित्तिकै सवारी साधन बालुकुनासम्म पुग्ने सेनानी कार्कीले बताए । वैशाखभित्र पुल बनाइसक्ने सेनाको लक्ष्य छ । करिडोर निर्माणका लागि चालू आर्थिक वर्षसम्म सरकारले १ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरेको छ । चालू आर्थिक वर्षमा एक करोड रुपैयाँको काम भइसकेको सेनानी कार्कीले जानकारी दिए । कान्तिपुर

तपाईको प्रतिक्रिया