कर्णाली प्रदेशको जाजरकोट विकास र समृद्धिको सम्भावनाको हिसावले कमजोर जिल्ला होइन् । न्यायपुर्ण नेतृत्व र जनमुखी योजनाको अभावले जनताका अनुभुतिहरुमा अत्याधिक आक्रोस र असन्तुष्टी भने विभिन्न रुपले निरन्तर व्यक्त भइरहेको छ । सम्भावना र अवसर भएर पनि जनताका गुनासाहरु र निरासाको मात्रा घट्दो क्रममा पनि देखिदैन ।
प्रकृति, सँस्कृति, इतिहास र आर्थिक पर्यटन विकासको सन्दर्भमा दुरदृष्टि सहितको योजना र नेतृत्वको खाँचो महसुस गरिरहेका जाजरकोटवासीका लागि यहाँका विभिन्न सम्पदाहरुको उचित व्यवस्थापन, संरक्षण, सम्वद्र्धन र समुचित प्रयोग तर्फ आम जिल्लावासी लाग्नु पर्ने आवश्यकता देखिईरहेको वेला जिल्लाका केही उत्साही युवाहरुको सक्रियतामा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान नामक सँस्था गठन भएको छ ।
जिल्लाका सम्पुर्ण सम्पदाहरुको संरक्षणका साथै जाजरकोट दरवारलाई संग्राहलय वनाउन यस प्रतिष्ठानले अघि वढाएको पहल जिल्लाको समग्र विकासका लागि कति सान्दर्भिक या आवश्यक छ भन्ने सवाल र अन्य समसामयिक विषयहरुमा पत्रकार कालीवहादुर नेपालीले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष युवा प्रतिभा जनक केसीसंग गरेको कुराकानीको अंश ।
१. यहाँलाई हाम्रो पहुँच अनलाइनमा हार्दिक स्वागत छ ।
काली जी लगायत हाम्रो पहुँच अनलाईन परिवारका सवै साथीहरुलाई धन्यवाद दिन चाहान्छु साथै यो लोकप्रिय अनलाइन पढ्नु हुने सवै आदरणीय पाठकहरुमा हार्दिक नमस्कार गर्न चाहान्छु ।
२. जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान किन स्थापना गर्नुभयो ?
सारै राम्रो प्रश्न गर्नु भयो । म व्यक्तिगत स्वभावका हिसावले पनि आफनो मौलिक कला, सँस्कृति, धर्म, सँस्कार, परम्परा र गाउँठाउँलाई कुनै पनि अवस्थामा भुल्न हुदैन र यसलाई सधैं निस्वार्थ मायाले जोगाइरहनुपर्छ भन्ने सोच राख्छु । जाजरकोट भौगोलिक हिसावले विकट भएपनि आर्थिक हिसावले गरिवीको रेखामुनि रहेपनि इतिहास, कला, साहित्य, सँस्कृति र मौलिक सम्पदाहरुमा निकै वैभवशाली छ ।
जिल्लाका ऐतिहासिक, साँस्कृतिक, सामाजिक, परम्परागत, साहित्यीक धार्मिक तथा प्राकृतिक सम्पदाहरुतिर ध्यान दिने भनेको यिनीहरु जोगाउने मात्र नभइ जिल्लामा आर्थिक विकासका सम्भावनाहरु उत्खनन गर्नु, जनताका लागि रोजगारीका अवसर सिर्जना गर्नु र भविष्यका पुस्ताका लागि दायित्व जोगाइ राखिदिनु हो । आजको पुस्ताले केहि नगरे भोलिका पनि केहि गर्न सक्ने छैनन किन कि सँस्कार र जिम्मेवारी पुस्ता पुस्तामा सर्दै जाने, सार्दै जाने कुरा हो ।
हाम्रा सम्पदा हामीले नजोगाए कसले जोगाउने ? हाम्रो सपना हामीले पुरा नगरे कसले पुरा गरिदिने ? यो विचार र धारणालाइ मनले मनन गरेर मैले सँस्थागत रुपले जिल्लाका सवै सम्पदाहरुको संरक्षणको पहल लिन र सवै सरोकारवालाहरुलाइ यसमा सहभागि गराउन यो जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान स्थापना गरेको हुँ । यस सँस्थाका सवै उद्देस्यहरु जिल्लाका आम सम्पदाहरु जोगाउने र यस तर्फ जिल्लावासी र सम्वन्धित सरोकारवालाहरुलाइ घचघच्याउने खालका छन् ।
३. यो प्रतिष्ठानले गर्ने काम र क्रियाक्लापहरु केके हुन वताइदिनुस न ?
मैले अघि पनि भनेँ हाम्रो यो प्रतिष्ठानको एउटै काम भनेको जाजरकोटका सम्पदाहरु जोगाउन पहल गर्ने,सरोकारवालाहरुलाई पनि यस्तै काम गर्न घचघच्याउने र प्रोत्साहित गर्ने हो । यो अन्तरगत जिल्लाका ऐतिहासिक दरवार, मठमन्दिर, मेलापर्व, लोकवाजा, भेषभुषा, भाषा, गीतसंगीत, नृत्य, चालचलन, साहित्य सिर्जनाहरुलाई संरक्षण गर्नका लागि प्रचारात्मक, निर्माणात्मक, सुधारात्मक क्रियाक्लापहरु गर्दै नयाँ पुस्तालाइ यी सम्पदाहरुवारेको ज्ञान र स्वरुप हस्तान्तरण गर्ने कामहरु हुन्छन् ।
यसका लागि हामी सवै सरकारहरु,सरोकारवाला निकायहरु, व्यक्तिहरु, गैरसरकारी सस्थाहरु, दातृ निकायहरुसंग खुला रुपले सहकार्य र समन्वय गरेर अघि वढ्छौं । यो सवैको साझा मुद्धा हो यसमा सवैको चासो चिन्ता र चिन्तन हुन जरुरी छ ।
४. यहाँहरुले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको पहल मार्फत जाजरकोट दरवारलाई संग्राहलय वनाउने कुरा उठाउनु भएको छ खासमा यो वारे वताइदिनुहोस न ?
हो । हाम्रो जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको विद्यानमा जिल्लामा रहेका सवै सम्पदाहरु संरक्षणको पहल गर्न १३ वटा उद्देस्यहरु छन् । ती मध्य ७ औं नम्वरको उद्देस्य अनुसार जाजरकोट दरवार संग्राहलय वनाउने कामको लागि पहल थाल्ने जमर्काे गरेका छौं । यसका लागि प्रारम्भिक चरणका कामहरु भइरहेका छन् ।
जाजरकोट इतिहास, सँस्कृति, प्रकृति सवैमा वैभवशाली छ भन्ने कुरा हामी दरवार संग्राहलय मार्फत सवैलाइ देखाउन चहान्छौं । जाजरकोट दरवार हेर्न आउनेहरुलाइ व्यवस्थित रुपमा यसको वास्तविक इतिहास र नेपाल एकीकरणमा जाजरकोटले पुरयाएको योगदानका प्रमाणहरु पनि दरवार हेर्न आउनेलाइ देखाउन चहान्छौं । संग्राहलय मार्फत दरवार अवलोकन गर्न आउने पर्यटकहरुलाइ समग्रमा जाजरका्टको चित्र देखाउन चहान्छौं । जाजरकोट र जाजरकोटको गौरवपुर्ण इतिहास जान्न र पढ्नका लागि दुनियालाइ आकर्षित गर्न चहान्छौं ।
५. तपाइहरुको यो अभियान सफल होला त ?
हाम्रो अभियान पुर्ण रुपले सफल हुन्छ । किन कि यो अभियान कोहि व्यक्ति र सँस्थाको अभियान होइन आम जाजरकोटीको अभियान हो,सुरु मात्र जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको हो । फेरि अभियान सफल हुने नहुने भन्ने कुरा नियत र उद्देस्यमा भर पर्छ । हामीले आम जाजरकोटीको हित र उन्नतिका आयामहरु सोचेर यो अभियान सुरु गर्न लागेको छौं ।
यो दरवार संग्राहलय स्थापनाको कामको स्वार्थ आम जाजरकोटीको स्वार्थसंग जोडिएको छ । जिल्लाको पहिचान र इतिहास जोगाउने सवाल संगसंगै स्थानीय जनताका लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने ध्येय हाम्रो हो ।यस कारण यो अभियान एउटा व्यक्ति या सँस्थाको मात्र नभएर सिंगो जाजरकोटको भएपछि सफल नहुने त कुरै भएन हैन र ?
६. उसो भए जाजरकोट दरवार संग्राहलय भएपछि जाजरकोट र यहाँका जनतालाइ के के फाइदाहरु हुन्छन् ?
जाजरकोट दरवार वाइसी चौविसे राज्य कालका वेला राजाहरु वसेको भवन मात्र होइन यो टुक्रा टुक्रा परेको नेपाललाइ एकिकृत विशाल नेपाल वनाउने महान अभियानमा जाजरकोटी वीर यौद्धाहरु परिचालित भएको ऐतिहासिक घर पनि हो । अझ भन्नु पर्दा यो आम जाजरकोटीहरुको सान पनि हो । जाजरकोट दरवार समग्र कर्णालीकै प्रमुख ए्तिहासिक सम्पदा हो । सरकारले त्यसै यो जाजरकोट दरवारलाइ सय वटा पर्यटकीय गन्तव्यहरुमा सुचिकृत गरेको होइन ।
त्यसैले जाजरकोट दरवार संग्राहलय वनाएर जाजरकोटले नेपाल एकिकरणमा पुरयाएको ऐतिहासिक योगदानका कुरा, जाजरकोट र राणा शासनविचको सम्वन्धका कुरा,प्रकृतिले जाजरकोटलाइ दिएका अमुल्य सम्पदाहरुका कुरा तथा जिल्लाको तत्कालीन सामाजिक, साँस्कृतिक जनजीवनका सवै मौलिक कुराहरुको ज्ञान केन्द्र वनाउने र संग्रालय मार्फत जाजरकोटको आर्थिक पर्यटनको प्रवद्र्धन गर्ने हाम्रो ध्येय हो ।
यसले जाजरकोटको पहिचान दिने मात्र नभइ यहाँका जनताको आर्थिक अवस्था सुधारका लागि समेत श्रोतको भुमिका गर्ने छ । दरवार संग्राहलय अवलोकन गर्ने पर्यटकहरु आउन थालेपछि यहाँका जनताको व्यापार व्यवसाय, आयआर्जन र रोजगारीको अवस्थामा समेत परिवर्तन आउने मैले विस्वास लिएको छु । यति मात्र होइन जाजरकोट दरवार संग्राहलय वन्ने वित्तिकै नजिकै रहेको धार्मिक मालिका क्षेत्र र शिवालय मन्दिर क्षेत्र, वारेकोटमा रेडपान्डा पाइने क्षेत्रको विकास र व्यवस्थापनको सवालले समेत उचित सम्वोधनको मौका पाउनेछ जसले भेरी नगरपालिका मात्र नभएर समग्र जिल्लाको लागि समेत फाइदाको कुरा जोडिने छ ।
६. जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानको ध्यान जाजरकोट दरवारलाइ संग्राहलय वनाउनेतिर मात्रै हो कि अरुतिर पनि हो ?
होइन, हाम्रो ध्यान जाजरकोटका सवै सम्पदाहरुको संरक्षणतिरै हो । हामीले जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठान स्थापना गर्न वित्तिकै पहिलो कामको रुपमा जाजरकोट दरवार संग्राहलय स्थापनाको काममा पहल लिने सुर कसेका हौं । किन कि यो सिंगो जाजरकोटको इतिहास र पहिचानसंग जोडिएको छ । हाम्रो विधानमा उल्लेख भएका १३ वटा उद्देस्यहरु यहाँले हेर्नु भयो भने सवै सम्पदाहरुतिर हाम्रो वरावर ध्यान दिएको पाउनु हुन्छ ।
सवै प्रकारका सम्पदाहरु संरक्षणका लागि पहल लिने , सरोकारवाला निकायहरुलाइ सक्रिय वनाउने, स्थानीय सरकारहरुलाइ जिम्मेवार वनाउने र जाजरकोटमा जन्मिएर जाजरकोटमै रहेका या जाजरकोट भन्दा वाहिर रहेका सवै जाजरकोटवासीहरुलाइ समृद्ध जाजरकोट निर्माणमा भावनात्मक एवम भौतिक रुपले जोड्ने हाम्रो उद्देस्य पनि हो । हामीले सक्ने र गर्नु पर्ने काम गरेको खण्डमा मात्र हामी र हाम्रा सन्ततिले देखेको सपना पुरा गर्न सकिन्छ भन्ने मान्यता मेरो हो ।
७. जिल्लाका अन्य सम्पदाहरुको वारेमा के छ नि तपाइको भनाइ ?
मैले अघि पनि भनिसकेको छु, हाम्रो ध्यान जाजरकोटका सवै सम्पदाहरुको संरक्षण सम्वद्र्धन तथा जाजरकोटको समग्र हितका लागि यी सम्पदाहरुको समुचित प्रयोग तर्फ हो । नेपाल सरकारले नै पर्यटकीय गन्तव्यमा राखेको हुनाले सुरुमा जाजरकोट दरवारको लागि हामीले पहल थालेको हो तर अन्य सम्पदाहरु पनि कुनै पनि कुरामा कम भने छैनन् ।
मछाइनाको मालिका मन्दिर क्षेत्र,कालेगाउँको शिवालय मन्दिर क्षेत्र, लहँको खानटाकुरा, वारेकोटको साइक्वारी क्षेत्र, कुशेको मष्टा मन्दिर क्षेत्र, पजारुको चैत्यगुम्वा क्षेत्र, विभिन्न झरनाहरु, गुफाहरु, खलंगाको रमाइलो मेला, वारेकोटको रामीडाँडा मेला, कुशेको धारपानी मेला, शिवालयको चिनीकम्द मेला, ढिमेको खाँडो नाँच, खलंगाको सिंगारु नाँच, भुर रिसांगको मयुर नाँच, लहँको ख्याली नाँच, पस्चिमको देउडा लगाएतका सवै सम्पदाहरुको संरक्षणको लागि हामी सस्थागत प्रयास अभियान निरन्तर जारी राख्छौं यसका लागि सवै सरोकारवालाहरुको साथ सहयोग र सहकार्यको लागि संधै अपेक्षा गर्दछौं ।
८. यो विषयमा स्थानीय तथा अन्य सरकारहरुको भुमिकावारे तपाइ के भन्नु हुन्छ ?
सारै राम्रो प्रश्न गर्नु भयो । जिल्लाको, गाँउनगरको इतिहास जोगाउने, सम्पदा जोगाउने अनि विकास र रोजगारीको अवसर सिर्जना गर्ने काम र दायित्व नै सरकारको हो । वास्तवमा जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले गरेको पहल त स्थानीय सरकार र जनप्रतिनिधिहरुले गर्नु पर्ने हो । परिवर्तन र विकास भनेको कुनै नयाँ भौतिक संरचना वन्नु र कोहि सिमित व्यक्तिहरुले जागिर पाउनु मात्र होइन ।
सरकारले त यस्तो काम गर्नु परयो जसले रोजगारीका लागि अवसरहरु जनताको घरमै पुगुन्, आयआर्जनका सम्भावनाहरु जताततै भेट्न सकियोस् । जनचासो र जनपहिचानका हरेक सवाल र सम्पतिहरुमा सरकारको दायित्व अनुभुत होस् । जाजरकोट जिल्लाका सातै स्थानीय तहमा यस्तो सम्पदाहरु छन जसमा स्थानीय सरकारले लगानी गरयो भने वर्षाैं सम्म जनताले रोजगारी पाइरहनु सक्ने र जनताको आय आर्जनको वाटो खुलिरहने सक्ने खालका छन् ।
९. अन्त्यमा जिल्लाका सरोकारवालाहरुलाइ केही भन्नु छ कि?
हामीले जाजरकोट दरवार संग्राहलय जाजरकोटकै हित र उन्नतिमा सहयोग पुरयाउनका लागि स्थापना गर्ने सोच वनाएका छौं । यस कार्यमा सवै जाजरकोटवासीको साथ सहयोग र विस्वास प्राप्त हुनेछ भन्ने कुरामा म ढुक्क छु । सकरात्मक सोच र प्रयासले नै हामीलाइ हाम्रो सपना पुरा गराउन सहयोग गर्छ भन्ने मेरो विश्वास छ ।
यो काम र जिम्मेवारी हाम्रै हो त्यसैले केहि हाम्रा लागि होला केहि आउने पुस्ताका लागि होला त्यो भन्दा पनि समग्रमा यो अभियान र काम समग्र जाजरकोटका लागि भएकाले सवैलाइ सहयोगका लागि आग्रह गर्न चहान्छु । अन्त्यमा यो अभियानवारे सवैलाइ जानकारी दिन मिडियाको अवसर दिएकोमा हाम्रो पहुँच डटकम विशेष गरी काजीवहादुर नेपाली जीलाई धन्यवाद दिन चहान्छु ।
















































। १३ भाद्र २०७९, सोमबार