
जाजरकोट । जिल्लाको भेरी नगरपालिका ४ का लोकेन्द्र चन्दले आफ्नो जन्मदिनको अवसर पारी विपन्न परिवारलाई राहत वितरण गरेका छन् । शुक्रवार भेरी नगरपालिका ४ रानागाउँका पदमकला कामीको घरमा गई दाल, चामल, तेल, नुन सहितको राहत वितरण गरेका हुन् । श्रीमानको मृत्यु पश्चात परिवारको छाक टार्न मुस्किल परेको वेला चन्दले घरमा पुगी राहत वितरण गरेपछि पदमकलाको परिवार निकै खुशी भएको छ । दैनिक ज्याला मजदुरी गरी खाने पदमकलाको परिवारमा कमाई गर्ने श्रीमानको मृत्यु भएपछि अब कसरी छोरीछोरी पढाउने देखि दैनिक गुजरा चलाउन समेत समस्या भएको छ ।

छ छोरी र एक छोरा रहेको पदमकलाको परिवार राहतको खोजीमा छ । स्थायी ठेगाना भेरी नगरपालिका ६ भएपनि विगत १९ बर्ष देखि सदरमुकाम खलंगामा बसोबास गर्दै आएका छन् । कमाई गर्ने श्रीमानको मृत्यु भएपछि पदमकलाको परिवारमा ठूलो बज्रपात परेको छ । गत असार २९ गते गाउँमै काम गरिरहेका पदमकलाका श्रीमान लक्ष्य कामीलाई भेरी नगरपालिका ६ का हिरा शाहीको कुकुरले टोकेपछि त्यसैको असरले साउन १३ गते प्राण त्यागे ।
श्रीमानको मृत्युले पदमकलाका आँखामा आँसु रोकिएको छैन् । परिवारको अभिभावक गुमाएपछि पदमकलाको परिवार अहिले निकै स्तब्ध छ । ‘कुकुरको टोकाई बाट श्रीमानको ज्यान गयो, हामीले कुनै न्याय पाएका छैनौ, कानुुनले समेत केही व्यवस्था छैन् भन्ने सुनेका छौं, के हामी न्याय पाउँदैनौ’ पदमकलाले भनिन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक पुष्कर पन्तले कानुनमा स्पष्ट व्यवस्था नभएकोले पीडित परिवारले भने जस्तै नभएको बताए । उनले भने, ‘हामीले शरीरका विभिन्न भागको मासु परीक्षणका लागि नेपालगञ्ज पठाएका छौं, दुई तीन महिना पछि रिपोर्ट आएपछि कारवाही प्रक्रिया अघि बढाउँछौं ।’ तत्काल खाना बस्नको लागि खाद्यान्न सहयोग गर्ने लोकेन्द्र चन्दलाई पदमकलाको परिवारले धन्यवाद व्यक्त गरेका छन् ।
जन्मदिनको अवसरमा विभिन्न फजुल खर्च गर्नुभन्दा विपन्न नागरिक सहयोग गर्न पाउँदै निकै खुशी भएको चन्दले बताए । चन्दले यसभन्दा अघि पनि जन्मदिनको अवसरमा विपन्न नागरिकलाई सहयोग गर्दे आएका छन् । जाजरकोट जिल्लामा समाजसेवाको माध्यम बाट चन्दले आफ्नो छुट्टै पहिचान बनाएका चन्द यूवा पुस्ताका निकै आशा लाग्दो नेता समेत मानिन्छन् ।
















































। ४ भाद्र २०७९, शनिबार