
जाजरकोट । जिल्ला दुई स्थानीय तहले घरघरमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन् । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकाले गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता प्रदान गरेका हुन् ।
बर्खाको समयमा स्थानीय तहका केन्द्रमा आउन घण्टौं लाग्ने र सुरक्षा वापतको भत्ता बाटामै सकिने भएकोले गाउँगाउँमा पुगी भत्ता वितरण गर्ने निर्णय गरिएको नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जानकारी दिए ।
उनले भने, ‘नगरपालिका भित्रका जेष्ठ नागरिक र अपांङ्गता भएका नागरिकहरुलाई गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं, नगरपालिकाको केन्द्र र बैंक शाखामा पुग्न घण्टौं लाग्ने र नगरवासीले निकै सास्ती खेप्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँमा पुगेर भत्ता वितरण गर्ने निर्णय गरेका हौं ।’ बर्खाको समयमा सबै ठाउँमा गाडी नपुग्ने, नागरिकले धेरै सास्ती व्यहोर्नु पर्ने भएकोले पायक पर्ने ठाउँमा गई भत्ता वितरण भईरहेको गिरीले बताए ।
‘सरकारले लागु गरेको सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खाता मार्फत पाउनुपर्ने व्यवस्था छ ।
पारदर्शिता र आर्थिक सुशासनका हिसावले धेरै उपयूक्त छ तर भत्ताको रकम बैंकमा आएर लिन टाढाबाट आउने व्यक्तिलाई सकस छ प्रभावकारी छैन्, त्यसैले न्युनतम दुःख र लागतमा स्ट्रिट सरकारको सिद्धान्त अनुसार नजिकैको स्थान बाट भत्ता वितरण गरियो’ प्रमुख प्रशासकीय अधिकृत गिरीले थपे ।
बैंक कर्मचारी समेत गाउँगाउँमा पुगी सबै ठाउँमा भत्ता वितरण गरेका छन् । अव नलगाड नगरपालिकाका दुई स्थानमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न बाँकी रहेको छ । यस्तै, जिल्लाको बारेकोट गाउँपालिकाले पनि गाउँगाउँमा गई सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए ।
‘नागरिकको सहजतालाई मध्यनजर गर्दै गाउँगाउँमा पुगी सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं ।’ सामाजिक सञ्जाल फेसवुकमा लेख्दै गिरीले आफ्नो चुनावी प्रतिवद्धता समेत भएको बताएका छन् ।
बर्खाको समयमा बैंकको लाइन बस्नुपर्ने, बाटोमा सास्ती खेप्नुपर्ने समस्याहरुलाई मध्यनजर गर्दै गाउँगाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय निकै खुशी भएका छन् ।
बाटो विग्रीएको धेरै पैसा खर्च हुने गाउँमै भत्ता पाउँदा आफु निकै खुशी भएको बारेकोट गाउँपालिका २ का धनवीर कामीले बताए ।
















































। ३ भाद्र २०७९, शुक्रबार