मनकोट— खहरे सडकखण्ड निर्माणका कामदारले पाएनन् ज्याला, रित्तो चेक दिएर मजदुरलाई झुक्याउँदै


रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीमा सडक निर्माणका कामदारले ज्याला नपाएको गुनासो गरेका छन् । चौरजहारी नगरपालिका ४ को मन्कोट देखि वडा नं पाँचको खहरेसम्मको सडक खण्डमा ग्राभेल र नाला निर्माणको लागि काम गरेका मजदुरले ज्याला नपाएको गुनासो गरेका हुन् ।

सडक निर्माणको लागि काम गरेका करिब ४० जना मजदुरले काम गरेको ६ महिना बितिसक्दा पनि रकम नपाएको चौरजहारी नगरपालिका ४ का अतिराम रोकायले बताए । उनका अनुसार चौरजहारी नगरपालिका ४ मन्कोटका २० जना र वडा नम्वर ७ नार्जिका २० जना कामदारले ज्याला पाएका छैनन् । सबै जनाको गरेर करिब १० लाख रुपैयाँ पाउन बाँकि रहेको रोकायले बताए ।

पुस ९ गते देखि फागुन १७ गतेसम्म आफुले नाला निर्माणको लागि काम गरेको र हालसम्म ज्याला नपाएको उनले दुखेसो गरे । पटक पटक ज्यालाको लागि ताकेता गर्दा आफूलाई स्थानीय ठेकेदारले पैसा नभएको खाली चेक थमाईदिएर सम्पर्कविहिन भएको रोकायले उल्लेख गरे ।

No description available.

महिना दिनसम्म घरको काम छोडेर सडकमा काम गरेर श्रमको मूल्य नपाएको अर्का मजदुर थलबहादुर भण्डारीले बताए । उनले आफुलाई काममा लगाउने स्थानीय ठेकेदार नारायण बुढाले पैसा नदिन सक्छु, मुद्धा हालेपनि मलाई केही हुदैन भन्दै पन्छिने गरेको समेत बताए । उनले कतिपयले दुई महिनासम्म पनि काम गरेर हालसम्म पारिश्रमिक नपाएको जानकारी दिए ।

चौरजहारी नयाँ शहर आयोजना अन्तर्गतको उक्त सडकको काम द क्याभान कन्ट्रक्सन प्रा.ली.ले पाएको थियो । उक्त कन्ट्रक्सनबाट मन्कोट खहरे सडकखण्डमा ग्रोभल र नाला निर्माणको जिम्मा पेटी ठेक्का गर्ने चौरजहारी नगरपालिका ५ बेतेनीका ठेकेदार नारायण बुढाले लिएका थिए । ज्याला माग गर्ने केहि मजदुरलाई पैसा बिनाको चेक दिएर ठेकेदार बुढा सम्पर्कविहिन भएको श्रमिकको गुनासो रहेको छ ।

चौरजहारी नयाँ शहर आयोजनाले भने उक्त काम बापतको रकम सम्बन्धित मुख्य ठेकेदारलाई भुक्तानी भैसकेको जनाएको छ । भ्याट बाहेक ३५ करोडमा चौरजहारीमा कालोपत्रे र मन्कोट – खहरे सडकखण्ड ग्राभेल र नाला निर्माणको गर्ने सम्झौता भएको थियो । कालोपत्रको काम यस वर्ष हुने तर मन्कोट–खहरे सडकखण्डको काम सकिएकोले भुक्तानी भैसकेको आयोजना कार्यालयले जनाएको छ । मुख्य ठेकेदारबाट पेटी ठेकेदार र पेटी ठेकेदारबाट कामदारले रकम पाए नपाएको जानकारी कार्यालयमा नभएको बताईएको छ ।

यस विषयमा सम्पर्क गर्दा पेटी ठेकेदार नारायण बुढाले आफूलाई मुख्य ठेकेदार कम्पनी द क्याभान कन्ट्रक्सन प्रा.ली.ले पैसा नदिएको बताए । मुख्य ठेकेदारले नै रकम नदिएको हुनाले कामदारहरुलाई बेलैमा पैसा दिन नसकेको उनको भनाई छ ।
गाउँका दाजुभाई सबैको सहयोगले आफूले काम सम्पन्न गरेतापनि मुख्य ठेकेदारले आफुले पाउनुपर्ने रकम नदिएकोले कामदारलाई ज्याला दिन ढिलाई भएको बुढाले स्पष्ट पारे । पटक पटक द क्याभान कन्ट्रक्सन प्रा.ली.को चौरजहारीस्थित कार्यालय धाउँदा पनि आफूलाई वेवास्ता गरेको गुनासो उनले गुनासो गरे । कामदारहरुसँग सम्पर्क गरेर आवश्यक छलफल गर्ने समेत बताए ।

चेक बाउन्सको मुद्धाको तयारी
सडकखण्डमा काम गरेका कामदारहरुले पैसा नभएको चेक दिएर झुक्काएको बताएका छन् । बैंकमा पैसा निकाल्न जाँदा खातामा पैसा नै नभएकोले कानूनी प्रक्रिया अनुसार अदालत जाने मजदुरहरुको तयारी छ । श्रमको मूल्य नदिने ठेकेदार बिरुद्ध कानूनी लडाईमा जान बाध्य भएको अतिराम रोकायले बताउनुभयो । तीन जनालाई खाली चेक दिएको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया