
ऐतिहाँसिक जाजरकोट दरबार
जाजरकोट । जिल्लाका महत्वपूर्ण पर्यटकीय स्थलहरु ओझेलमा छन् । जिल्लाका थुप्रै मनोरम प्राकृतिक दृश्य, धार्मिक शक्ति पिठ, झरना लगायतका पर्यटकीय स्थल प्रचारप्रसार अभावमा गुमनाम भएका हुन् । जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि एकीकृत योजना नहुँदा पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको यहाँका आम नागरिकको गुनासो छ ।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको सूचि जिल्लाले निर्माण गर्न सकेको छैन् । सात वटै स्थानीय तहले आ –आफ्नो क्षेत्र भित्रका पर्यटकीय गन्तव्यको सूची बनाई पर्यटन विकास र प्रबद्र्धनका लागि एकीकृत योजना बनाउनुपर्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन् । पछिल्लो समय भौतिक विकास भएपनि प्राकृति, सांस्कृतिक, ऐतिहासिक परिचय माथि उठाउन पहल भएको छैन ।
जिल्लाको पर्यटन विकास र प्रबद्र्धनका लागि स्थानीय सरकारले बजेट विनियोजन र कार्यक्रम निर्माण गर्न असफल भएको भेरी नगरपालिका २ का पुष्प वलीले बताए । उनले भने, ‘नेपालका हरेक पर्यटकीय गन्तव्यको प्रचारप्रसार र प्रबद्र्धन तिब्र रुपमा भएको भईरहेको छ, तर यहाँका थुप्रै मनोरम प्राकृतिक दृश्य, धार्मिक शक्ति पिठ, झरना लगायतका पर्यटकिय स्थल गुमनाम छन् । यस्तो हुनुमा स्थानीय सरकारको उदासिनता हो ।’
नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यको सूचीमा जाजरकोटको ऐतिहासिक दरबार छ । त्यस्तै प्रदेश सरकारले सूचिकृत गरेको पर्यटकीय गन्तब्य भित्र जाजरकोटका थुप्रै स्थान परेका छन् । भेरी नगरपालिकाको ऐतिहासिक जाजरकोट दरबार, कुशे गाउँपालिकाको नदाइडाब झरना, बारेकोट गाउँपालिकाको साइक्वारी तिर्थ , छेडागाड नगरपालिकाको प्राचिन बौद्ध स्तुप, भेरी नगरपालिकाको मालिका मन्दिर , शिबालय , जुनचाँदे गाउँपालिकाको भैरबनाथ मन्दिर , बारेकोटको चाखुरे पाटन आन्तरिक तथा बाह्य पर्यटकका लागि महत्वपूर्ण गन्तव्य हुन् ।
तर यी क्षेत्रको प्रचार प्रसार प्रबद्र्धनमा कसैको चासो छैन् । स्थानीय सरकारका प्रमुखहरुले भने पर्यटन गरु योजना बनाउने भन्न छाडेका छैनन् । पर्यटन विकासको गुरु योजना बनाएर गाउँपालिकाको पर्यटन प्रबद्र्धन गर्ने शिवालय गाउँपालिकाले जारी गरेको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । भौतिक विकास र मानवीय विकाससंग पर्यटन विकास जोड्ने गरी योजना बनाएको गाउँपालिकाको दावी छ ।
मानव विकास सुचांकमा ६८ औं स्थानमा रहेको जाजरकोटको विकास लागि पर्यटन विकास र प्रबद्र्धन एक महत्वपूर्ण पाटो हो । जिल्लाका पर्यटकीय गन्तव्यको प्रचारप्रसार र संरक्षण सम्बद्र्धन गर्न जरुरी छ ।
जाजरकोट घुम्न पर्ने पर्यटकीय स्थल
प्राकृतिक, सामाजिक, ऐतिहासिक धार्मिक तथा साँस्कृतिक सुन्दरता र महत्व भल्काउने दर्जन वढी जिल्लाका पर्यटकीय क्षेत्रहरु सुनसान देखिन्छन् । सुन्दरता, कला, सँस्कृति र विविध महत्व वोकेका खलंगाको जाजरकोट दरवार, मछाइनाको मालिका मन्दिर क्षेत्र, खलंगाकै कालेगाउँको शिवालय मन्दिर क्षेत्र, वाहुनथानको अचम्मको साङट गुफा, कुदुको भुमेश्वर गुफा, वारेकोटको ठाकुरजी दह, साइक्ँवारी क्षेत्र, खलंगा रानागाउँकै कालिका मन्दिर, सानीमालिका मन्दिर क्षेत्र, थाप्लेका चारनाल दरवारहरु, रिम्नाको सहिद पार्क, मैदेको गुफा, जगतिपुर दरवार क्षेत्र, पैंकको मष्टा मन्दिर क्षेत्र, वारेकोट रामीडाँडाको सिर्पाचौर उपत्यका, लहँको खानटाकुरा क्षेत्र, कुसे गाउँपालिकाको पाँचकटिया तथा गाईखुर क्षेत्र, कुशेकै कुशे हिमाल, वारेकोटको कराइचुली हिमाल, च्याखुरे पाटन,विभिन्न भरनाहरु, ९३ वर्ष पुरानो मटेलाको पुल, वुदवुदीको भुमिगत टयांकी, काफलचौरवाट देखि सुन्दर हिमशृङखलाहरुको दृश्यहरु र नलगाड र भेरी नगरपालिकाको सीमानामा पर्ने वडालेख क्षेत्र, छेडागाड नगरपालिकाको पजारु डाँडागाउँमा रहेका १३ औं शताव्दीमा निर्माण भएका चैत्य गुम्वा क्षेत्र अनि भेरी नदीको जलयात्रा अर्थात रयाफिटङ जाजरकोटमा पर्यटक तान्ने मुख्य सम्पदा र आधारहरु यति वेला सुनसान देखिन्छन । यहाँ उल्लेख गरिएका मध्य अधिकांश पर्यटकीय स्थलहरु प्रचारप्रसारको अभावमा ओझेलमा परेको देखिन्छ ।
स्थानीय तहको नीतिमा मात्रै सीमित
जाजरकोटका सात वटै स्थानीय तहहरुले आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दा पर्यटनलाई समेत प्राथमिकता राखेर सार्वजनिक हुन्छ । तर स्थानीय तहहरुले पर्यटन प्रवद्र्धनका लागि केके काम गरे भन्ने थाहा हुदैन् । स्थानीय तहको कागजमा मात्र पर्यटन प्रवद्र्धन सीमित भएको यहाँका जानकारहरु बताउँछन् ।
पर्यटनको राम्रो सम्भावना बोकेको जाजरकोटका स्थानीय तहले प्रभावकारी काम गर्न नसक्दा पर्यटकीय क्षेत्र ओझेलमा परेको नलगाड नगरपालिका स्थानीय प्रविन विकले बताए । स्थानीय तहका नीति तथा कार्यक्रममा मात्रै समावेश हुने पर्यटन प्रर्वद्धन कहिले व्यहारमा उर्ताछन् भन्ने सबैलाई चासोको विषय बनेको छ ।
भेरी नगरपालिका, नलगाड नगरपालिका,छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका, कुशे र बारेकोट गाउँपालिकाको नीति तथा कार्यक्रममा पर्यटन प्रवर्दनका लागि रकम विनियोजन गरेको देखिन्छ । कहाँ भएको छ पर्यटन प्रर्वद्धन भन्दै स्थानीय बासीन्दाहरुले प्रश्न समेत गरिरहेका छन् । पर्यटन प्रर्वद्धनका नाममा यहाँका स्थानीय तहहरुले बजेटको दुरुपयोग गरिरहेको पर्यटन संग सम्बन्धीत व्यक्तिहरुको भनाई छ ।
















































। २० श्रावण २०७९, शुक्रबार