जाजरकोटः विश्व बजारमा पुग्ने काइनाइट उत्खनन् बन्द

No description available.
जाजरकोट । विश्व बजारमा अत्याधिक माग रहेको नीलो रंगको रत्न पत्थर (काइनाइट) उद्योग बन्द भएपछि स्थानीयको रोजीरोटी गुमेको छ । जाजरकोटको कुशे गाउँपालिका–५ टालेगाउँस्थित सौरेनी र कालिकोटको भर्तामा काइनाइट उत्खनन्को काम बन्द भएको हो । सौरेनीको खानीबाट उत्खनन् गरिएको रत्नपत्थर भारतको गुजरात र जयपुर हुँदै विश्व बजारमा निकासी हुने गरेको थियो ।

सरकारले ८ वर्षअघि काइनाइट उद्योगबाट उत्खनन गर्न बन्द गरेको थियो । नेपालमा रत्न विज्ञानसम्बन्धी अध्ययन अनुसन्धान नहुँदा पनि यसको सदुपयोग हुन नसकेकको युवा व्यवसायी सुशील रावलले बताए । उनका अनुसार भारतका झन्डै १ सय कलेजमा यो विषयमा अध्ययन हुने गरेको छ ।

‘नेपालको कलेजहरूमा यस विषयमा अध्ययन अध्यापनको कुरो त परै जाओस् खानी तथा भूगर्भ विभागमा जेमोलोजिकल ल्याबसमेत छैन,’ उनले भने, ‘लगानीकर्ताहरूले यसको उत्खनन गरेर स्थानीयस्तरमै सैयौं युवालाई रोजगारी दिन खोजेका छन्, तर सरकारले वातावरण नै बनाएन ।’

खानी तथा भूगर्भ विभागले ५ वर्षअघि गरेको एक अध्ययनअनुसार जाजरकोट कालीकोट र दैलेखमा ५ किसिमका टुर्मालिन र २ प्रकारको काइनाइट अत्याधिक मात्रामा पाइने गरेको छ । विभागले गरेको अध्ययनमा जाजरकोटको काइनाइट पाकिस्तानपछिको विश्वकै सबैभन्दा बढी गुणस्तरको मापन गरिएको छ । जाजरकोटमा ९ वटा खानी दर्ता भएको विभागको तथ्यांक छ ।

आर्थिक वर्ष २०६९÷७० मा ४ सयदेखि ४ सय ५० मेट्रिक टन टुर्मालिन र काइनाइट जाजरकोटबाट भारतको जयपुरमा निर्यात गरिएको थियो । उक्त कच्चा रत्न भारतबाट अमेरिका, युरोपका विभिन्न देशहरूमा पुगेको विभागले जनाएको छ ।
असुरक्षित तरिकाले खानी सञ्चालन गर्दा अहिलेसम्म १० स्थानीयले ज्यान गुमाएका छन् । कर्णालीका बासिन्दाको मुख्य आयस्रोत नै जडिबुटी र रत्नपत्थर रहेको कर्णाली प्रदेश योजना आयोगका पूर्वसदस्य दीपेन्द्र रोकायाले बताए । ‘कर्णालीमा हजारौं परिणाममा विभिन्न खनिज पदार्थ निकाल्न सकिन्छ,’ उनले भने, ‘त्यसको सदुपयोग गर्न सके मात्र प्रदेश आत्मनिर्भर बन्न सक्छ ।’ उनले रत्नपत्थरको निकासी बन्द हुँदा हजारौं युवाहरू भारतमा मजदुरी गर्न जानुपर्ने बाध्यता भएको बताए ।

No description available.

जाजरकोटमा रत्नपत्थर खोजतलासका लागि विभिन्न ८ वटा कम्पनीले अनुमति लिएका छन् । खोजतलासको अनुमति लिएको २ वर्षभित्र खानी उत्खनन गरी सक्नुपर्ने प्रावधान छ । उनीहरूलाई ५ सय किलोसम्मको रत्नपत्थरको अनुसन्धान गर्ने र गुणस्तर परीक्षणका लागि निर्यात गर्न पाउने प्रावधान छ । तर सबै कम्पनीले एक दशकअघि अनुमति लिए पनि लाइसेन्स होल्ड गर्ने काम मात्र गरिरहेको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । उनका अनुसार काइनाइटको निर्यात प्रतिबन्ध भएपछि कम्पनीहरूले खोजतलास नै बन्द गरेका छन् ।

५ वर्षअघि विश्वमै बहुमूल्य काइनाइट र टुर्मालिन पत्थरको खानी रहेको जाजरकोटमा पत्थर प्रशोधन उद्योग पनि सञ्चालन गरिएको थियो । बेरोजगार युवालाई जिल्लामै रोजगारी दिने उद्देश्यले व्यवसायी रावलले रत्न पत्थर उद्योग सञ्चालन गरेका थिए । रावलले झन्डै ५ लाख रुपैयाँ लगानीमा ५ वटा मेसिन खरिद गरी उद्योग सञ्चालनमा ल्याएका थिए । तर जिल्लामा उद्योग सञ्चालन गर्दा रत्न पत्थरको व्यवस्थित बजार नहुनु, उद्योग सञ्चालनका लागि युवालाई अनुदानको व्यवस्था नहुनु, मेसिन सञ्चालन गर्न बिजुली नहुनुले उद्योग सञ्चालनमा समस्या भएको उनको भनाइ छ ।

‘कुशेस्थित टालेगाउँमा पाइने काइनाइट विश्वकै उत्कृष्ट मानिएको छ,’ उनले भने, ‘खानी विभागको अनुसन्धानबाट ७ प्रकारका टुर्मालिन पाइने पुष्टि भइसकेको छ ।’ विभागले गरेको अध्ययनमा जाजरकोटमा ग्रिन, पेट्रोल, फेन्टा, लेवन, बल्याक, पिंक र टचग्रिन टुर्मालिन पाइन्छ । यस्तैगरी ब्रेलिन, गार्नेट, क्वार्ज, फुनराइजजस्ता मूल्यवान् पत्थर पनि पाइने गरेको विभागले ५ वर्षअघि गरेको अनुसन्धानमा देखिएको थियो ।

No description available.

विश्वका विभिन्न मुलुकमा सौन्दर्य र मानव गहनाका रूपमा प्रयोग हुँदै आएको रत्न पत्थर धार्मिक आस्थाका हिसाबले महत्त्वपूर्ण मानिन्छन् । किलोको हिसाबले खरिद गरी उद्योगमा प्रशोधन गरी क्यारेटमा बिक्री वितरण गरिने भएको हुँदा जेम्स उद्योग घाटामा नजाने स्थानीय उद्यमी कमानबहादुर खड्काले बताए ।

रत्न पत्थरको व्यापार गर्नका लागि राष्ट्रियभन्दा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पर्ने उनले बताए । ‘हाम्रा लागि नजिकको अन्तर्राष्ट्रिय बजार भनेको भारत हो,’ उनले भने, ‘हामीले आफैं थाइल्यान्ड पु¥याउन निकै गाह्रो छ, तर रत्नको माग सबैभन्दा बढी थाइल्यान्डमा छ ।’ सरकारले उद्योगमैत्री नीति निर्माण गर्नुपर्ने कुशे–३ अर्छानीस्थित मिनरल्स कम्पनी प्रालिका सञ्चालक करे चदाराले बताए । ‘सरकारले उद्योगीलाई अनुदान दिने, बिना धितो ऋण प्रवाह गर्ने नीति निर्माण गर्नुपर्छ,’ उनले भने ।

फ्रान्सका भूगर्भविद् अनुसन्धानकर्ता जिल्स रेभिनियोलगायतको टोली मंसिर १६ गतेदेखि २३ गतेसम्म अर्छानी, टालेगाउँ, पजारु, रुवा, जजाय, पैराम, टिकाचौर र गर्खाकोटको पत्थर खानीको अवलोकन गरी फर्किएको छ । अनुसन्धानकर्ता जिल्सले फ्रान्सबाट आफूले सहयोग जुटाउने बताएका छन् । टालेगाउँमा पाइने काइनाइट विश्वकै उच्च गुणस्तरको रहेको पाइएको घरेलु साना उद्योग विकास समिति सुर्खेतका निर्देशक बलबहादुर तामाङले बताए ।

No description available.

उनका अनुसार विश्वमा पाइने झन्डै ८ हजार प्रकारका ढुंगामध्ये करिब १ हजार प्रकारका ढुंगामा रत्न पत्थर हुन्छ । उनले त्यसमध्ये टुमार्लिन, काइनाइट, रुबी, हेम्वरगाइड, डेम्बराइट, गार्नेट, क्रिस्ट्रनलगायत ८ प्रकारका रत्न पत्थर जाजरकोटमा पाइने जानकारी दिए । पैंकको जलजलामा एकोमारिनको अनुसन्धान भइरहेको समितिले जनाएको छ ।
आजको कान्तिपुर दैनिकमा हरिहर सिंह राठौरले यो समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया