विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ ।

ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ।

एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ दिनसम्म भेट गरेका थिए। पाँच ऋतुले गरी ४० दिन भेट गरेकाले वसन्त ऋतु सुरु हुने चैतकृष्ण प्रतिपदाभन्दा ४० दिनअघि माघ शुक्ल पञ्चमीकै दिन वसन्त पञ्चमी मनाउन थालिएको हो । यसै समयदेखि वसन्तराग गाउन थालियो।

माघ महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदांग ज्योतिषको वैदिक तिथिपत्र अनुसार मधु(सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा विष्णुर कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो ।

शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ, र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ ।

तपाईको प्रतिक्रिया