
जाजरकोट । आर्थिक वर्ष २०७८–०७९ मा ट्राफिक प्रहरी कार्यालय जाजरकोटले ३९ लाख राजस्व संकलन गरेको छ । ट्राफिक नियम उल्लंघन गरेर सवारी साधनका चालकलाई कारबाही गर्दा वर्षभरिमा ३९ लाख ११ हजार ५ सय राजश्व संकलन भएको हो ।
४ हजार ५ सय ८० यातायातका सवारी साधनलाई कारवाही गर्दा ३९ लाख बढी राजस्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी सहायक निरीक्षक भरतबहादुर शाहीले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी २ हजार १ सय ८४ मोटरसाईकललाई कारवाही गर्दा १८ लाख ३८ हजार ५ सय राजस्व संकलन भएको छ । ७ सय ३४ बसलाई कारवाही गर्दा ६ लाख ५७ हजार राजस्व उठेको छ । ७ सय १२ जीप तथा कारलाई कारवाही गर्दा ६ लाख ५ हजार राजस्व उठेको छ ।
४ सय २४ ट्रकलाई कारवाही गर्दा ३ लाख ६९ हजार राजस्व संकलन भएको छ । यस्तै, ३ सय ८६ टेक्टरलाई कारवाही गर्दा ३ लाख २ हजार राजस्व उठेको छ । टेप्पु सहित अन्य १५२ सवारी साधन कारवाहीमा पर्दा १ लाख ४० हजार राजस्व उठेको ट्राफिक प्रहरी शाहीले बताए । जिल्लामा ट्राफिक कारबाहीमा पर्ने सवारी साधनको संख्या बढ्दै गएको छ । यसले राजश्वलाई पनि बढाईरहेको छ ।
रुट परमिट नभएका, क्षमता भन्दा बढी यात्रु तथा सामान बोक्ने, आवश्यक कागजात नबोक्ने, तिव्र गतिमा सवारी चलाउने जस्ता गल्ति गर्ने सवारी साधन कारबाहीमा पर्ने गरेको ट्राफिक प्रहरी प्रमुख शाहीको भनाई छ । ट्राफिक प्रहरी कार्यालयमा यातायातको सवारी साधन अभावले घटना घटेको ठाउँमा पुग्न निकै समस्या भएको समेत प्रमुख शाहीले गुनासो गरे ।
उनले भने, ‘ट्राफिक प्रहरी कार्यालयमा एउटा पनि सवारी साधन छैन्, घटना घटेको ठाउँमा, अथवा सवारी साधन दुर्घटना परेको स्थानमा पुग्ने निकै समस्या हुने गरेको छ ।’ मोटरसाईकल समेतको व्यवस्था गरिदिन ट्राफिक प्रहरी प्रमुख शाहीले नगरपालिका सँग माग गरेका छन् ।
















































। ५ श्रावण २०७९, बिहीबार