
विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-६ मा ८ वर्षीया बालिकालाई बलात्कार गरिएको घटना लामो सयमसम्म गाउँमै ‘गुपचुप’ राखिएको पत्ता लागेको छ।
कानेपोखरी-६ का ४३ वर्षीय काजीमान पुरीले गत माघ ५ गते बालिकालाई बलात्कार गरेको खुलेको हो। घटना सार्वजनिक भएपछि पुरीलाई प्रहरीले पक्राउ गरेको छ।
मौखिक रूपमा मिलापत्र गरेर गाउँमै ‘गुपचुप’ पारिएको घटना ६ महिनापछि सार्वजनिक भएको छ।
‘बालिकालाई ६ महिनाअघि बलात्कार गरेको पत्ता लागेको छ,’ मोरङ प्रहरीका डीएसपी राजन कार्कीले भने, ‘घटना सार्वजनिक हुनेवित्तिकै आरोपीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको छ।’
कार्कीका अनुसार पुरीले आफ्नै घरमा लगेर बालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
बलात्कारका बारेमा स्थानीयले थाहा पाएपछि घटनालाई बाहिर नल्याउने शर्तमा सोही दिन मौखिम रूपमा मिलापत्र गराइएको रहेछ।
डीएसपी कार्कीले पीडित बालिकाका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा बलात्कारमा संलग्न पुरीलाई सोमबार पक्राउ गरिएको जानकारी दिए।
उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। पीडित परिवारले गत असार ३० गते प्रहरीमा जाहेरी दिएका हुन्।
कार्कीले बलात्कारलाई ‘गुपचुप’ राखिएको विषयमा अनुसन्धान भइरहेको र घटना लुकाउन भूमिका खेल्नेहरुलाई निगरानीमा राखिएको जानकारी दिए।
पुरीले गत माघ ५ गते बालिकालाई बलात्कार गरेको स्थानीयले बताए। घटनालाई बाहिर नल्याउने शर्तमा सोही दिन गाउँका अगुवाले धाकधम्की दिँदै पीडित बालिकाकी आमालाई क्षतिपूर्तीवापत केही रकम दिलाएको पनि प्रहरीले जनाएको छ। घटना हुँदा पीडितका बुबा घरमा थिएनन्। जागिरको शिलशीलामा मोरङ बाहिर रहेका बुबा घरमा आएपछि मात्रै घटना सार्वजनिक भएको हो।
‘म घरभन्दा बाहिर थिएँ। यो घटनाका बारेमा मलाई कसैले सुनाएनन्,’ बालिकाका बुबाले भने,’ छोरीलाई पिसाबमा समस्या भएपछि पटकपटक डाक्टरलाई देखाएँ । पछि छोरीले घटनाका बारेमा सुनाइन्।’
बिरामी परेकी छोरीलाई पिसाब गर्नसमेत गाह्रो हुन थालेपछि सोधीखोजी गर्दा बलात्कार भएको थाहा पाएको उनले सुनाए।
उनका अनुसार घरमा श्रीमती र छोरी मात्रै थिए। घटना सार्वजनिक गरेमा ज्यान मार्ने धम्की आएका कारण श्रीमतीले पनि बलात्कारको विषयलाई बाहिर ल्याउन नसकेको उनको भनाइ छ।
‘ज्यान मार्ने धम्की आएका कारण श्रीमतीले मलाई सुनाइनन्,’ उनले भने, ‘घरमा आमा- छोरी मात्रै बस्छौ, कसैलाई सुनाए ठीक हुँदैन भन्ने धम्क्याएका रहेछन्।’
छोरीले पनि लामो समयसम्म आफूलाई नभनेको उनले बताए। आफूले घटनाका बारेमा थाहा पाउनेवित्तिकै प्रहरीलाई खबर गरेको उनको भनाइ छ।
















































। ३ श्रावण २०७९, मंगलवार