कालीकोट — गाउँमा हुने विवाह, व्रतबन्धलगायत उत्सवमा हुड्केउली भाकामा दोहोरी गाएर सवाल–जवाफ फर्काउने मान्मका भोटे दमाइको निधन भएको छ । तीन वर्षदेखि हात–खुट्टा सुनिने र पेट फुल्ने समस्याले थला परेका ६७ वर्षीय दमाइको बुधबार जिल्ला अस्पतालमा निधन भएको हो ।
दमाइ ७ वर्षको उमेरदेखि हुड्के नाच्न थालेका थिए । उनले कर्णालीमा अगुवा हुड्के कलाकारको पहिचान बनाएका थिए । जिल्लाबाट ख्याति कमाएका थोरै हुड्के कलाकारमध्ये उनी पनि एक भएको पूर्वजिल्ला पञ्चायत सभापति हर्षबहादुर शाहीले बताए । ‘मान्मगाउँको दियो निभ्यो,’ उनले भने, ‘उनी बालकदेखि वृद्धसम्म सबैले आदर–सम्मान गर्ने एक असल कलाकार थिए ।’ उनलाई अन्तिम संस्कारका लागि शुक्रबार झरीमै स्थानीयले हुड्के नाच्दै तिला कर्णाली नदीमा पुर्याए ।
‘हुड्केउली नाचमा बेदनाका गीत गाउदै बिदा गरियो,’ उनका सहपाठी अने दमाइले भने, ‘अब गाउँमा सायद हुड्के नाचिदैन होला ।’ उनीहरूको जोडीले काठमाडौंमा सम्पन्न कर्णाली महोत्सवमा डेढ लाख रुपैयाँको पुरस्कार जितेको थियो ।
उनका अनुसार हुड्केमार्फत रमाइलो दोहोरी सवाल–जवाफ गरिन्छ भने पुराना वीरहरूका गाथा र पैकेला (राजा रजौटा) का कथा भन्ने गरिन्छ । ३० वर्षअघि हुड्के संस्कृति संरक्षणमा विशिष्ट योगदान पुर्याएवापत भोटे र अनेको जोडीले राजा वीरेन्द्रबाट तक्मा पनि पाएको थियो । भोटेका पत्नी, तीन छोरा र दुई छोरी छन् । कान्तिपुर
















































। २ चैत्र २०७६, आईतवार