
दैलेख । दैलेखको गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष खेमराज ओलीले नीति विपरीत निवेदनमा ‘तोक’ लगाएको पाइएको छ। कार्यकाल सकिएपछि उनले गाउँपालिकामा राहतका लागि आएको निवेदनमा ‘तोक’ लगाएको पाइएको हो।
गाउँपालिकाका अध्यक्ष टोपबहादुर बिसीले पत्रकार सम्मेलन गर्दै गैर जिम्मेवारी व्यक्तिले स्थानीय सरकारमा आएका निवेदनमा ‘तोक’ लगाएको बताए। कार्यकाल सकिएका अध्यक्षले स्थानीय सरकार प्रमुखको हैसियतले निवेदनमा ‘तोक’ लगाउनु स्थानीय सरकार सञ्चालन ऐन विपरीत भएको बिसीको भनाइ छ।
राहतका लागि आएको निवेदनमा गाउँपालिकाका अध्यक्ष बिसीले पहिले नै तोक लगाएको भएपनि कर्मचारीको मिलेमतोमा निवर्तमान अध्यक्ष ओलीले पुनः सोही निवेदनमा तोक लाएका छन्। निवेदनमा ओलीले तोक लगाउँदै १० हजार रकम राहतका लागि रकम सहयोग गर्नु भनिएको छ।
गाउँपालिकामा कार्यरत सुब्बा कर्ण थापाको मिलेमतोमा पूर्व अध्यक्षले आफ्नो कार्यकाल सकिएपछि निवेदनमा ‘तोक’ लगाएका अध्यक्ष बिसीले बताए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ललित कुमार थापाले गलत काम गर्ने कर्मचारीलाई कारबाही गरिने बताए।
‘हामीले गलत काम गर्ने कर्मचारीलाई मौखिक जवाफ मागी सकेका छौँ, उहाँले भुलचुकमा यस्तो हुन पुगेको बताउनुभएको छ, उहाँसँग पुनः लिखित जवाफ माग गरेर निजामती ऐन अनुसार कारबाहीका लागि पहल गछौँ’, प्रशासकीय अधिकृत थापाले भने।
यता, गुराँस गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा कांग्रेस दैलेखका सचिव खेमराज ओलीले आफ्नै कार्यकालको निवेदन होला भनेर ‘तोक’ लगाएको बताए। ‘माथि उल्लेख गरिएको मिति हेरिन, कर्मचारीले तोक लगाउनु भनेर ल्याउँदा तोक लगाएको हुँ, हतारमा भएकाले मिति हेर्न भुलिएछ’, उनले भने।
















































। २ श्रावण २०७९, सोमबार