डोल्पामा घर भत्किदा एकै परिवारका दुईको मृत्यु, एक घाइते

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-४ मा पर्ने रङ्ग गाउँमा घर भत्किदा एकै घरका दुईको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा १२ वर्षीया मञ्जु बुढा र २ वर्षीया लक्ष्मी बुढा रहेको प्रहरी चौकी त्रिपुराकोटले जानकारी दिएको छ।

त्यसैगरि, अन्दाजी ३५ वर्षीया आमा रणमती बुढा गम्भीर घाइते भएकी हुन्। घाइते बुढालाई उपचारका लागि गाउँदेखि दुई घण्टाको दूरीमा रहेको बगर बजारस्थित मनिस मेडिकलमा ल्याइएको छ। घुडाभन्दा मूनि च्यापियर घाइते भएकी उनी बेहोस अवस्थामा रहेको र सलाइन पानी दिएर होसमा ल्याउने प्रयास गरिरहेको मेडिकल सञ्चालक गोरबहादुर बिकले जानकारी दिए।

उनको बाहिर चोट नदेखिएको र होसखुल्ने सम्भावना रहेको बताउँदै होसमा नआएमा तुरुन्तै अन्य अस्पतालमा रिफर गरिने बिकको भनाइ छ। शुक्रबार बिहानदेखि निरन्तर परिरहेको वर्षासँगैको हिमपातका कारण घरको माथिल्लो तलाको गाह्रोमा पानी पसेर बन्दै गरेको दुईतले नयाँ घर भत्किएर घटना घटेको मृतकका आफन्त वीरबहादुर बुढाले बताए।

घटना गएराति दुई बजे घटेको र बाबु बमबहादुर बुढा र छोरा उपेन्द्र बुढा छुट्टै सुतेकाले बाँचेको आफन्त बुढाले बताए। मृतक दुई छोरीसहित पाँचजनाको संख्यामा रहेको बमबहादुरको परिवार भुइतला बनाउने काम सकेर भर्खरै मात्र नयाँ घरमा सरेको थियो। अनुसन्धानका लागि प्रहरी चौकी त्रिपुराकोटको टोली घटनास्थलमा पुगेको बताइएको छ ।

तपाईको प्रतिक्रिया