७ असार २०७९, मंगलवार

‘मलाई व्यवस्था हैन, तपाईंहरूको अवस्था बदल्नु छ’


सञ्चारकर्म छाडेर राजनीतिमा होमिएका रवि लामिछानेले आफू व्यवस्था बदल्न नभई नेपाली जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा होमिएको बताएका छन् । मंगलबार काठमाडौँको राष्ट्रिय सभागृहबाट ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका लामिछानेले जनतालाई कुनै ठुला सपना नबाँड्ने तर जनताले भोग्नुपरेका समस्यालाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।
अरू पार्टीभन्दा आफ्नो पार्टी फरक हुने दाबी गरेका लामिछानेले प्रमुख पार्टी र तिनका नेताहरूबाट कुनै आशा नभएकाले नयाँ पार्टी खोल्नुपरेको दाबी गरे । उनले नयाँ पार्टी भ्रातृ संगठन र कार्यकर्ताविहीन हुने समेत बताए । केहीअघि अमेरिकाको ग्रिन कार्ड त्यागेका लामिछानेले आफ्नो दललाई अमेरिकी मोडलअनुसार नै क्रियाशील गराउने जमर्को गरेको देखिन्छ ।

प्रस्तुत छ पार्टी घोषणाका क्रममा लामिछानेले व्यक्त गरेका विचार र प्रतिबद्धताका सम्पादित अंश :
हामीले जहिले पनि बेकारमा सरकारी अड्डाहरूमा झन्झट बोक्नुपर्ने अवस्था आएको छ । यहाँ ठुलाठुला आयोजना, ठुलाठुला योजना र ठुलाठुला सपनाको कुरा छोड्दिऔँ । बिचौलियारहित सरकारी अड्डा र ढिलासुस्ती नगरी, कसैलाई नचिनी जान पाए पनि आम मान्छेको जीवन सहज हुन्थ्यो ।

यी सामान्य मुद्दामा कसैको ध्यान गएन । म यहाँ कुनै पनि व्यवस्था परिवर्तन गर्न आएको होइन । मलाई कुनै पनि व्यवस्थाले यदि कसैसँग हिम्मत साहस, आँट र भिजन छ भने नागरिकलाई सुख दिन सक्छ भन्नेमा पूर्ण विश्वास छ । मलाई कुनै व्यवस्था बदल्नु छैन, मलाई तपाईंहरूको अवस्था बदल्नु छ । आम मान्छेको अवस्था बदल्नु छ । राजनीतिलाई मागी खाने भाँडो बनाएको असह्य भएर म राजनीतिमा प्रवेश गर्न आएको हुँ ।

हेलिकोप्टर चढेकोमा विमति छैन
जहाँ ८२५ सांसद छन्, १२ सय आसपास मात्र डाक्टरको दरबन्दी भएको ठाउँमा आम मान्छेले कसरी स्वास्थ्य शिक्षा कसरी पाउने ? हेलिकोप्टर लिएर कोही नेता चुनाव प्रचारमा जान्छ, मलाई कुनै आपत्ति छैन । हेलिकोप्टरले पुस्तक पनि पुर्‍याइदिनुपर्‍यो । हेलिकोप्टरले औषधि पनि पुर्‍याइदिनुपर्‍यो । आजको युगमा हेलिकोप्टर चढ्नु २/४ लाखको कुरा हो, त्यसमा मेरो विमति छैन । तर औषधि पनि त्यसैगरी पुग्नुपर्‍यो, मान्छेले उपचार पनि त्यसरी नै पाउनुपर्‍यो र विद्यार्थीहरूका लागि पुस्तक पनि त्यसैगरी पुग्नुपर्‍यो ।

परदेशीका समस्या सुन्ने चुस्त संयन्त्र बनाउँछु

विशेष गरेर आम मान्छेका मुद्दाहरूले नै मलाई यसतर्फ आउन प्रेरित गर्‍यो । वैदेशिक रोजगारमा आफ्नो परिवार छोडेर कलकलाउँदा केटाकेटी र भगवानजस्ता बा–आमालाई छोडेर माला र टीका लगाएर परदेशी भूमिमा जाँदा एयरपोर्टबाट ठगिएको नेपालीको समस्या मेरो समस्या हो । म ठुलो काम केही गर्न सक्दिनँ होला तर घरदेश छोडेर परदेशमा आफ्नो परिवार पाल्नमात्रै गएको त्यो नेपालीको समस्या सुन्ने चुस्त संयन्त्र बनाउने कुरा आज म यहीँबाट घोषणा गर्न चाहन्छु ।

अहिलेका दलका नेताबाट आशा छैन

विभिन्न राजनीतिक दलहरूसँगको संवाद मैले अगाडि नबढाएको होइन । कुराकानी नगरेको होइन । ती दलहरूलाई हेरेँ, ती दलहरूका आदरणीय नेताहरूलाई धन्यवाद भन्नबाहेक मसँग केही पनि छैन । किनकि मलाई त्योभन्दा पर अब उहाँहरूबाट त्यति आशा पनि छैन । आफ्नो यात्राको क्रममा म उहाँहरूको खरो आलोचक भएर पनि प्रस्तुत हुन चाहन्न । जति आलोचना गरेँ, पहिल्यै गरेँ । मलाई त आम सर्वसाधारणसँग सरोकार छ, म व्यवस्था परिवर्तनको मुद्दा लिएर यहाँहरू समक्ष आएको छैन । मलाई प्रचण्डजी, शेरबहादुरजी, केपी ओली वा अरू कुनै राजनीतिक दलका नेतासँग प्रश्न छैन । मलाई प्रचण्डसँग के प्रश्न होस् र ?

र, उहाँसँग भएको प्रश्न म जीवनभर गरिरहौँला, जिन्दगीभर उहाँलाई सोधौँला । हिजो टेलिभिजनबाट सोधेको थिएँ, भोलि संसद्‍मा उभिएर सोधौँला । तर परिवर्तन नै ल्याउँछु भनेर छातीमा गोली थापेर म शहीद हुन्छु कामरेड भनेर गोली थाप्ने योद्धामाथि मेरो सम्मान छ । प्रचण्डसँगको प्रश्न कायम राख्छु । तर योद्धाको बलिदानको अवमूल्यन म कहिल्यै गर्ने छैन । मधेस आन्दोलन लगायतका विभिन्न आन्दोलनमा आफ्नो ज्यान गुमाएका योद्धाहरूको बलिदानमा कहिल्यै प्रश्न गर्ने छैन तर तिनको नाम लिएर आफ्नो जीवन उकासेका मान्छेहरूका लागि मेरो प्रश्न टेलिभिजनबाट यात्रा गर्दै संसद् भवन अवश्य पुग्नेछ ।

म यो देशमा आजको मितिसम्म दर्ता भएका कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ । प्रत्येक राजनीतिक दलसँग राम्रा मान्छे नभएका होइनन् । केही राम्रा मान्छे पनि छन्, म तिनलाई सम्मान गर्न चुक्दिनँ । तिनको आलोचना गर्न पनि किन चुक्दिनँ भने तिनले आफ्नो पार्टीभित्र धावा बोलेनन्, कुरेर बसे, पर्खेर बसे । अबको पुस्ता सबैभन्दा ठुलो नेताको मृत्युपछि म त्यो पदमा पुग्छु भनेर कुरेर बस्दैन । अब जसको भिजन, उसैको सरकार । उमेर पुगेपछि त वृद्धाभत्ता मात्र पाइन्छ, सत्ता पाइँदैन ।

विलीन हुन चाहान्न

हो, एउटा मान्छेको प्रयासले फरक नपर्ने होइन । तर यो जर्जर संरचना र यत्रो परिवर्तनपछि आएको व्यवस्थाभित्र रहेर नयाँ ढङ्गमा नयाँ राजनीतिक पार्टी लिएर जान सकिएन भने पुराना पाटीभित्रको बेथिति मेट्ने दुस्साहस मेरो हुनेछैन, म त्यहाँभित्र विलीन हुनेछु । म त्यो दलभित्र विलीन हुन चाहन्न । आम नागरिकलाई चाहिएको जस्तो दल बनाएर, क्षमतावान् मान्छेहरूको साथ लिएर यो देशलाई नयाँ म्यान्डेट दिन तयार भएर आएको छु । देश बदल्ने तागत छैन ? छ । म एउटा प्रतिनिधि पात्रमात्र हुँ । मलाई थाहा छैन, ममा कति क्षमता छ । किनभने मान्छे सीमित क्षमताभित्र अटाउँछ । मलाई पनि मेरो सीमा रेखा थाहा छ । मलाई असीमित क्षमता दिएर कसैले पठाएको छैन । मलाई थाहा छैन भने कसलाई थाहा छ, म त्यसैलाई खोज्छु ।

जहाँ देख्यो त्यहाँ ढुङ्गाले हान्नुहोला

आजबाट एउटा नयाँ राजनीतिक दल दर्ता गरेर आजकै दिनबाट देश निर्माणको दिन गन्ती सुरु गर्नका लागि मैले प्रस्ताव गरेको राजनीतिक दलको नाम घोषणा गर्न चाहन्छु– राष्ट्रिय स्वतन्त्र पार्टी ।

यदि तपाईंसँग क्षमता छ भने यो पार्टीको सबैभन्दा माथि पुग्ने गरी स्वागत गर्न चाहन्छु । आज सुरुवात कसैले गर्‍यो होला, मैले यसको नेतृत्व लिएको हुँ । तर क्षमता नभएको दिन यो पार्टीमा म बसेछु भने जहाँ देख्यो त्यहाँ ढुङ्गाले हान्नुहोला । क्षमतावान् मान्छेहरूका लागि बनेको यो प्लेटफर्म कोही नभए पनि नमरोस्, आज पहिलो दिनमा देश, धर्ती माता, आफ्ना स्वर्गीय मातापिता, दिदीभाइ र शहीदहरू सबैलाई सम्झेर कसम खान्छु– क्षमता नभई–नभई पार्टीमा र्‍याल चुहाउँदै टाँस्सिएर बस्ने छैन ।

हामी लोकतान्त्रिक व्यवस्थामा छौँ, यहाँ स्वतन्त्र रूपमा उम्मेदवार हुनेहरूलाई मेरो सम्मान र स्वागत छ । कहीँ न कहीँ, कसै न कसैले युद्ध छेड्नुपर्थ्यो, तपाईंले छेड्नु भएको युद्धमा मेरो साथ छ, समर्थन छ । तर नआत्तिनुस्, हामीले देशभरिबाट समानुपातिक भोट सङ्कलन गर्नुपर्ने भएकाले यो प्लेटफर्म तपाईंको हो । तपाईंलाई पूर्णाधिकार दिन्छु म । मैले नेतृत्व गरेर निर्वाचन आयोगमा दर्ता गराए पनि क्षमतावान् मान्छेहरूलाई तपाईंहरूको भोटबाट चुनेर आफूभन्दा माथि राख्न म कहिल्यै हिच्किचाउदिनँ । त्यसकारण तपाईंले समानुपातिक भोट एकाकार गरेर यी वाक्क हुनुभएका दलहरूबाट छुटकारा पाउनका निमित्त र मेन स्वीच ‘अफ’ गर्न सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई खुला हृदयले स्वागत गर्न चाहन्छु । शब्दै शब्दको भण्डारमा राष्ट्रिय स्वतन्त्र पार्टी मैले आफ्ना लागि होइन, तमाम क्षमतावान् आगो लिएर उठ्न चाहेका मानिसहरूका लागि सुरुवात गराएको हुँ ।

कसरी फरक छ पार्टी ? सात विशेषता

हाम्रो पार्टी अरूभन्दा कसरी फरक हुन्छ ? यस्ता छन् सात विशेषता :

१. प्राइमरी निर्वाचन हुने

२. युवालाई ५० प्रतिशत प्लस एकको व्यवस्था

३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने

४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था

५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने

६. परिवारवादलाई पूर्ण रूपमा निषेध

७. भ्रातृसंगठन र कार्यकर्तारहित