६ असार २०७९, सोमबार

४० वर्षपछि कुवेतविरुद्ध गोलको खडेरी तोडे दर्शन गुरुङले

काठमाडौं । नेपालले कुवेतमा भएको एसिया कप छनोटका ३ खेलमा १३ गोल खाएर एक गोल मात्रै फर्कायो । गोल फर्काउने खेलाडी थिए २० वर्षीय दर्शन गुरुङ । त्यो गोल राष्ट्रिय जर्सीबाट उनको पहिलो गोल थियो र कुवेतविरुद्ध नेपालको दोस्रो ।

सानै उमेरबाट फुटबल खेल्न थालेका दर्शनमा राष्ट्रिय टिममा खेल्ने रहर थियो । गाउँघरमा मामाहरुले खेलेको देखेर मैदान छिरेका उनले मामाहरुसँगै फुटबल सिके र खेले ।

इलामको विकट पहाडी गाउँ सन्दकपुरबाट पढाइको सिलसिलामा इलाम झरेपछि उनले स्कुलस्तरीय खेलमा भाग लिन थाले । उनले कोकाकोला कप स्कुल स्तरीय प्रतियोगिता खेले । त्यही खेलमा उनको कौशल फुटबल र एन्फासँग नजिक भएका जिल्लाकै एक व्यक्तिको नजरमा परेछ । जुन उनलाई एन्फासम्म ल्याइपुर्याउने बाटो बन्यो । एन्फामा भएको यू–१२ को सेलेक्सनमा उनलाई बोलाइयो । २०६७ सालमा १२ वर्षका दर्शन यू–१२ समूहमा छनोट भए ।

त्यसपछि उनले नेपालका यू–१४, यू–१५, यू–१६, यू–१९, यू–२३ हुँदै २०७७ सालमा उनले सिनियर टिममा डेब्यु पाए । २०७७ सालमा ढाकामा भएको बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा उनले डेब्यु गरेका थिए ।

ए डिभिजन लिगमा न्युरोड क्लब (एनआएटी)बाट खेले पनि उनले त्यसपछि राष्ट्रिय टिममा स्थान बनाउन सकेका थिएनन् । यसपटक प्रशिक्षकको व्यवहारप्रति आपत्ति जनाउँदै १० जना सिनियर खेलाडी टिमबाट बाहिरिएपछि उनले मौका पाए र त्यो मौकालाई सदुपयोग पनि गरे ।

०७७ सालमा राष्ट्रिय टिममा डेब्युपछि आत्मविश्वास बढेको थियो उनमा । ‘देशको लागि खेल्छु, गोल गर्छु भन्ने सोच झन् बढी आएको थियो । त्यही अठोटले मेहिनेत पनि गरेको थिएँ,’ उनी भन्छन् ।

कुवेती भूमिमा ४० वर्षपछि नेपालले फर्काएको गोल

नेपाली फुटबल इतिहासमै नेपालले पहिलो अन्तर्राष्ट्रिय गोल कुवेतविरुद्ध गरेको थियो सन् १९८२ मा । नयाँ दिल्लीमा भएको एशियाली खेलकुदमा वाईबी घलेले नेपाली फुटबल इतिहासकै पहिलो गोल कुवेतविरुद्ध गरेका थिए । त्यसयताको ४० वर्षमा नेपालले कुवेतविरुद्ध गोल गर्न सकेको थिएन । तर दर्शनले ४० वर्षको खडेरी तोडे । दर्शनको गोलसँगै नेपालले कुवेतमाथि ९ खेलमा गरेका गोलको संख्या २ पुगेको छ, जबकी योबीचमा नेपालले ३४ गोल खाएको छ ।

नेपालका लागि कुवेतलाई गोल फर्काउनु जति ठूलो उपलब्धि थियो, त्यति नै महत्वपूर्ण युवा स्ट्राइकर दर्शनको लागि पनि । पहिलो पटक राष्ट्रिय टिमको लागि गोल गरेका दर्शन निक्कै खुसी छन् । ‘त्यति बेला कुवेत जस्तो बलियो टिमको विरुद्ध गोल गर्न पाउँदा निकै खुसी थिएँ,’ कुवेतसँगको खेल सम्झँदै उनी भन्छन्, ‘पछि पनि यस्तै गर्दै जानेछु ।’

समय भएको भए अझै गोल गर्न सकिन्थ्यो कि भन्ने आत्मविश्वास पनि उनमा आएको थियो । तर उनको त्यो गोल नै ९०औं मिनेटमा भएको थियो । ‘पहिलो पटक राष्ट्रका लागि गोल गरेको थिएँ, त्यो गोल गरेर जिताउन पाएको भए अझ खुसी थपिन्थ्यो होला’, उनी भन्छन् । आफूले गोल गरेको खेल ४–१ को नतिजामा कुवेतलाई सुम्पनु परेकोमा उनी दुःखी पनि छन् ।

कुवेती मुलुकका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी मैदानमा ढलेपछि सहायक प्रशिक्षकको निर्देशनमा नेपालले खेलेको थियो । ‘प्रशिक्षक अब्दुल्लाह मैदानमा भएको भए त्यति धेरै गोल खाइदैनथ्यो कि भन्ने लागेको थियो’, दर्शनले भने । प्रशिक्षक मैदानमा नभएपछि खेलाडीको मनोविज्ञानमा केही न केही असर परेको दर्शनले बताए । अस्पतालबाट फर्केपछि भेट्ने वित्तिकै प्रशिक्षक अलमुताइरीले राम्रो गर्यौ, अझै राम्रो गर्नू भने ।

अल्मुताइरीले ल्याएको परिवर्तन

दर्शनले राष्ट्रिय टिममा डेब्यु पाएका बालगोपाल महर्जनको प्रशिक्षणमा हो । उनले अल्मुताइरी र महर्जन दुवै प्रशिक्षकको प्रशिक्षणको भिन्नता राम्रोसँग बुझेका छन् । प्रशिक्षक महर्जनले धेरै खेलाडीको फिटनेसमा ध्यान दिन्थे । उनले भने, ‘बालगोपाल सरले हाम्रो फिटनेसलाई मुख्य रुपमा हेर्नु हुन्थ्यो ।’

अल्मुताइरी आएपछि भने राष्ट्रिय टिम मानसिक रुपमा बलियो भएको उनको अनुभव छ । उनले खेलाडीलाई बलियो प्रतिस्पर्धीसँग खेल्न शारीरिक फिटनेससँगै मानसिक रुपमा पनि खेलाडीलाई बलियो बनाएको भन्छन् दर्शन । ‘अब्दुल्लाह सरले हामीलाई मानसिक रुपमा तयार पार्नुहुन्छ । खेल खेल्नु अगाडि प्रतिस्पर्धीको भिडियो हेरेर विश्लेषण गर्नुहुन्छ । यो पहिला हुँदैनथ्यो’, उनले भने ।

‘अहिले हामी रक्षात्मक खेल्नुभन्दा बलियो प्रतिस्पर्धीसँग पनि भिड्न सक्ने अट्याकिङ खेल्न सक्ने भएका छौं’ दर्शनले भने, ‘उहाँले ल्याउनु भएको मुख्य परिवर्तन यही नै हो ।’

‘उहाँले राम्रो खेल्यौ भन्नुभयो । पहिला नेपाललाई निकै हेपेर खेल्थे अहिले उनीहरुले हाम्रो बारेमा सोध्छन्, यो तिमीहरुको खेलमा आएको सुधार हो । खेल हारे पनि नराम्रो नमान्नु भनेर सम्झाउनु भएको थियो’, दर्शनले अनलाइनखबरसँगको कुराकानीमा भने ।

दर्शनको घरेलु प्रदर्शन

एक पटक सिनियर फुटबल खेल्न थालेका दर्शनले घरेलु प्रतियोगितामा पनि फर्वाडकै भूमिकामा हुन्छन् ।

टोखा भगवतीबाट २०७३ बी डिभिजन लिग खेलेका उनले त्यहि वर्षबाट राष्ट्रिय लिग खेल्न थालेका हुन् । २०७३ मा एक पटक मात्र बी डिभिजन खेलेका उनले पहिलो पटकमा नै उत्कृृष्ट मिडफिल्डरको उपाधि जितेका थिए ।

त्यसपछि २०७५÷७६ मा उनले पहिलो पटक ए डिभिजन लिग खेल्ने अवसर पाए । एनआरटीबाट पहिलो पटक ए डिभिजन खेलेका उनले पहिलो सिजनमा नै ‘इमर्जिङ प्लेअर’ को उपाधि हात पारे । उनले एनआरटीको लागि पहिलो सिजनमा ३ गोल गरेका थिए ।

२०७७÷७८ को ए डिभिजनमा उनलाई टिमले पुनः आवद्ध गरायो । प्रशिक्षक राजु शाक्य र एनआरटी क्लबले उनलाई गत सिजनको ७ खेलमा कप्तानी पनि दिएका थिए । उनको लागि पछिल्लो सिजनको ए डिभिजन लिग दोस्रो ए डिभिजन लिग हो । त्यसमा उनले ४ गोल गरेका थिए । उनले कप्तानी गरेको टिम एनआरटी लिगमा तेस्रो स्थानमा रह्यो ।

राष्ट्रिय टिममा रहन चुनौती

युवा स्ट्राइकर दर्शनले २०७५÷७६ मा राम्रो प्रदर्शन गरेपश्चात राष्ट्रिय टिममा डेब्यु पाएका थिए । राष्ट्रिय टिमका सिनियर खेलाडी अर्थात पहिलो रोजाइको खेलाडी अहिले टिममा नहुँदा उनले राट्रिय टिममा कमब्याक पनि गरे ।

राष्ट्रिय टिममा टिकिरहन भने उनलाई कम चुनौतीपूर्ण छैन । उनी भन्छन्, ‘राष्ट्रिय टिममा स्थान बनाइराख्न सजिलो छैन, सिनियर दाइहरु हुनुहुन्छ । नयाँ खेलाडी पनि आउने क्रम बढ्दो छ । त्यसैले सधैं टिममा स्थान बनाउन अझ मिहिनेत गर्नुपर्छ ।’

राष्ट्रिय टिमबाट पहिलो गोल गरेपश्चात जिम्मेवारी बढेको दर्शनले बताए । ‘आउने दिनहरुमा अझ धेरै मिहिनेत गर्नेछु । यो खेलले मलाई झन धेरै जिम्मेवार बनाएको छ’, उनले भने ।

पहिलो पटक राष्ट्रिय टिमबाट डेब्यु गर्दा सानोमा देखेका सपनाहरु उनलाई झल्झली याद आयो । उमेरमा सानो भए पनि फुटबलमा निखारिएका दर्शनले अब आफ्नो पोजिसनको लागि सिनियर तथा नयाँ पुस्तासँग प्रतिस्पर्धा गर्नुपर्छ । अहिले आफ्नो खेल पहिले भन्दा निखारिएको दर्शन आफैंले अनुभव गरेका छन् । ‘कुन बललाई कसरी हान्ने कसरी ड्रिबल गर्ने भन्ने राम्रो ज्ञान भएको छ । आशा छ म आफ्नो खेल सुधार्दै राष्ट्रिय टिममा टिकीरहनेछु’, दर्शनले भने ।

आर्थिक समस्याले हराएका दर्शनको शानदार कमब्याक

परिवारमा आर्थिक संकट देखा परेपछि २०७६ पछि उनी फुटबलमा हराए । पारिवारिक समस्याका कारण एक पटक फुटबल छोडेर लाहुरे हुने निर्णय गरेका थिए । ‘बीचमा एक पटक लाहुरे भिड्न गएँ । परिवारमा समस्या आयो फुटबल मन परे पनि परिवार पाल्नुपर्ने थियो,’ उनी भन्छन् ।

मध्यम वर्गीय परिवारका एक्लो छोरा दर्शनलाई परिवार पाल्नुपर्ने बाध्यता पनि छ । वर्षमा एउटा लिग खेलेर परिवार पाल्न सक्ने अवस्था नेपाली खेलाडीको छैन । झट्ट सुन्दा नराम्रो लागे पनि यो नेपाली खेलाडीको आम समस्या हो । उनको सानो परिवारमा बाबा, आमा र बहिनी छन् ।

सुरुमा फुटबल खेल्न जाँदा परिवारबाट खासै समर्थन नपाएका दर्शनले आफूले आफूलाई प्रमाणित गरेका छन् । ‘बाबाले समर्थन गरे पनि ममीले फुटबल खेलेर के हुन्छ भन्दै करिअर सुरक्षित नभएकाले खासै समर्थन गर्नुहुन्नथ्यो । तर अहिले स्थिति फेरिएको छ,’उनी भन्छन् ।

नेपाली खेलाडीको नियमित आम्दानी छैन । विभागमा भएका खेलाडीको गुजारा चले पनि सामान्य खेलाडीलाई जीवन धान्न अझै पनि गाह्रो नै छ । दर्शन पनि कुनै विभागमा आवद्ध छैनन् ।

परिवारको समस्याको बावजुद पनि अहिले उनको परिवारमा हर्ष छाएको छ । गाउँका अनि आफन्तले पनि घरमा आउँदै बधाई दिने गरेका छन् । ‘कुवेतमा गोल गरेर फर्किए पश्चात घरमा आउँदै सबैले बधाई दिनुहुन्छ । मन नपराउने पनि आएर बधाई दिँदा आनन्द लाग्ने रहेछ,’ उनी भन्छन् । परिवारबाट पनि समर्थन र साथ पाएपछि आफूमा अझै बढी ऊर्जा थपिएको उनले बताए ।