३२ बर्षमै स्थानीय सरकार हाँक्ने जिम्मेवारी पाएका केसी

स्थानीय सरकार हाँक्ने ३२ वर्षीय केसी

रुकुम पश्चिम । रुकुम पश्चिमका रवि केसी ३२ वर्षका भए । उनी यही उमेरमा स्थानीय सरकारको नेतृत्वमा पुगेका छन् । माओवादी केन्द्रबाट उम्मेदवार बनेका केसी आठबिसकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । केसीले निकटम प्रतिद्वन्द्वी कांग्रेसका धिरेन्द्र कुमार बटालालाई ७ सय ८४ मतान्तरले पराजित गरे । केसीले ७ हजार ३ सय ९९ र बटालाले ६ हजार ६ सय १५ मत पाए ।

विद्यार्थी संगठनबाट राजनीति शुरु गरेका केसी निर्वाचित भएपछि आफ्नो पहिलो प्राथमिकता कृषिमा क्रान्ति ल्याउने रहेको बताउँछन् । विद्यार्थी संगठनको इकाई कमिटीबाट शुरुवात गरेको राजनीतिक जीवन पार्टीको नगर अध्यक्ष हुँदै नगर प्रमुखसम्म पुगेको केसीले बताए ।

क्याम्पस पढ्न सुर्खेत शिक्षा क्याम्पस, मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत छिरेपछि आफ्नो राजनीतिक हिडाईंको गति बढेको उनी बताउँछन् । विद्यार्थी राजनीतिमा लाग्नेका लागी मध्यपश्चिम विश्वविद्यालय एउटा गतिलो खुड्किलो हो । उनी त्यही खुड्किलोबाट २०७० सालमा मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस सुर्खतको अध्यक्ष बने ।

माओवादी सुर्खेतको जिल्ला कमिटी सदस्य हुँदै आठबिसकोट नगर कमिटी सचिव, अध्यक्ष भएर पार्टीमा सक्रियताका साथ लागे र ३२ वर्षको तन्नेरी अवस्थामै स्थानीय तहको प्रमुखको जिम्मेवारीमा पुग्न सफल भए ।

१५ वर्षको हुँदा अखिल क्रान्तिकारीको सदस्यता लिएका केसी एमाले, नेपाली कांग्रेस सहितका अन्य गठबन्धन दलका उम्मेदवारलाई हराउँदै नगर प्रमुखमा विजयी भए ।

माओवादी र एमाले एक हुँदाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुकुम पश्चिम जिल्ला सचिवालय सदस्य बनेका केसीको राजनीतिक यात्राले दुई दशक पूरा गरेको छ। विद्यालायमै ८ कक्षामा पढ्दा अखिल क्रान्तिकारी एकाई सचिवबाट उनले राजनीति शुरु गरेका थिए ।

आठबिसकोटलाई समृद्ध सुव्यवस्थित र सुन्दर नगर बनाउने योजनासहित निर्वाचित भएका केसी युवाहरुका लागि आशाका केन्द्र बनेका छन् । तार्किक, अध्ययनशील, जुझारु, कुशल र निडर भएका कर्णाली प्रदेशकै कान्छा नगरप्रमुख केसी यतिबेला नयाँ परिचय बनाउन लागेका छन् ।

राजनीतिक शास्त्रमा स्नातक गरेका केसीले दुई दशकमै जनताको मन जितेर लोकप्रियता कमाएका छन् । उनी विद्यार्थी राजनीतिमा लाग्नेहरुका लागि प्रेरणाको स्रोत बनेका छन् । राजनीतिमा सक्रिय भएर निरन्तर लाग्नेहरु राजनीतिमा स्थापित हुन्छन् भन्ने उदाहरण केसीको राजनीतिक जीवन यात्राबाट प्रष्ट हुन्छ।

स्थानीय तहको संरचनामा रुकुम पश्चिममा तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका छन् । ती सबै नगरपालिका र गाउँपालिका मध्येमा केसीले सबैभन्दा बढी मत ल्याएर विजयी भएका हुन ।

सबैभन्दा कम उमेरमा नगरप्रमुख बनेका केसी उमेरभन्दा जिम्मेवारी र राजनितिक पृष्ठभूमिले परिपक्व भएकोले पालिका नेतृत्वमा होमिएको बताउँछन् । उनी भन्छन, ’उमेरले कान्छो भएपनि म राजनीतिक हिसावले परिपक्व छु। समृद्ध नगर निर्माणका लागि ठोस् योजना, भिजन र मिसन बनाएको छु । सोही अनुसार काम गर्ने संकल्पसहित नगरपालिकाको समग्र विकासमा लाग्ने छु ।’

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा देशैभरीको अवस्थालाई विश्लेषण गर्दा जनप्रतिनिधिको रुपमा धेरै युवाहरु स्थानीय तहको नेतृत्वमा पुगेका छन् । युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् भन्ने कुराको उदाहरण युवा जनप्रतिनिधिले प्रष्ट पारिदिएका छन् ।

विद्यार्थी संगठनमा इमान्दार खटाई, सक्षम र पार्टीभित्र योग्यमत व्यक्तित्व र समाजले विश्वास गरेका केसी सानै उमेरमा नगरपिता बनेका छन् । उनी व्यक्तिगत व्यवाहारकै कारण बढी लोकप्रिय छन् । युवा नेतृत्वलाई अवसर दिन र कृषिमार्फत युवाहरुलाई नै पहिलो प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएका केसीले युवाहरुकै साथ पाए । कांग्रेसले उठाएका उम्मेदवार भन्दा धेरै योग्य र सक्षम अनुहार भएकोले जनताले आफुलाई चुनेको र चुनाव जित्न सहज भएको उनको दाबी छ ।

जिल्लाको ४६ प्रतिशत भुभाग रहेको आठबिसकोट नगरपालिकामा कृषि र पशुपालनमा जोड दिएर सबैलाई आत्मनिर्भर बनाउने मुख्य योजनासहित कृषीमा आधुनिक प्रविधि प्रयोग गरी पालिकाको स्तर उकास्नमा जोड दिईने उनको भनाइ छ । राजनीतिमा स्थापित हुने दौडमा अघि बढेका ३२ वर्षका केसीले आगामी पाँच वर्ष स्थानीय सरकारको नेतृत्व गर्ने अवसर पाएका छन् ।

तपाईको प्रतिक्रिया