२१ वर्षसम्म आरोप-प्रत्यारोपको भूमरीमा राजदरबार हत्याकाण्ड

Image
काठमाडौं । २०५८ सालको जेठ १९ गतेको राति भएको राजदरबार हत्याकाण्डको नामले चिनिएको राजा विरेन्द्रको वंश नाश भएको २१ वर्ष भएको छ। नारायणहिटी राजदरबारभित्रै राजा विरेन्द्र, रानी ऐश्वार्या, राजकुमार धिरेन्द्र, दिपेन्द्र, अधिराजकुमारी श्रुती, अधिराकुमार निराजनसहित १० जनालाई गोली हानी हत्या गरिएको थियो।

नेपालको इतिहासको निकै कहाली र दर्दानाक दिनको स्मृतिमा हरेक वर्ष राजदरबा हत्याकाण्डका दोषीलाई कारबाही गर्न अनुसन्धान गर्ने प्रतिबद्धता सरकारहरुले गर्दै आएका छन्।

राजा विरेन्द्रको वंश नाश भएपछि राजा बनेका ज्ञानेन्द्र आफ्नै अहंकारले नेपालको अन्तिम राजा बन्‍न पुगे। उनले पनि आफ्नो दाजुको वंशनाशको विषयमा अनुसन्धान गर्न कुनै चासो देखाएनन्। धेरैले उनीमाथि पनि आशंका व्यक्त नगरेका होइनन्।

तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराईले उक्त घटनालाई आधुनिक कोतपर्वको संज्ञा दिएको यस हत्याकाण्डबारे चिनिया प्राध्यापक वाङ् चुङ्ले पुस्तक नै प्रकाशन गरेका छन्।

नारायणहिटी घटनाका खलनायक नामको उक्त पुस्तकको ‘नेपालको सुरक्षात्मक रणनीति’ को पृष्ठ १९ मा अमेरिकी र भारतीय गुप्तचर संस्थाको हात रहेको आरोप लगाएका छन्। कांग्रेस नेता चक्रप्रसाद बाँस्तोलाले २०६७ मा सोही कुराको खुलासा गरेका थिए।

भारतीयहरुले दिपेन्द्रले उक्त हत्याकाण्ड गराएको बताउँदै आएका थिए। राजकुमार दीपेन्द्रको माथमा सबै दोष हालेर ध्यान अन्यत्र मोड्न खोजेको जस्ता तर्क र आरोप, प्रत्यारोप, लाञ्छनाहरु लगाइए। तत्कालीन शाही नेपाली सेनाको अक्षमताको भयंकर आलोचना भयो।

तत्कालीन राजा ज्ञानेन्द्रले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति बनाए। तर, विपक्षी दलका नेता माधवकुमार नेपाल आयोगमा पहिले बस्न मानेर पनि पछि बसेनन्।

एक हप्तामा दुई सदस्य रहेको उच्चस्तरीय जाँचबुझ आयोगले युवराज दीपेन्द्रलाई घटनाको मुख्य अभियुक्त करार गरेर मदिरा र नाम नखुलेको कालो पदार्थ सेवन पश्चात उक्त जघन्य अपराध गरेको किटान गर्‍यो।

वैज्ञानिक र विश्वसनीय अनुसन्धान नभएको भन्दै उक्त दाबी सार्वजनिकरुपमा अस्वीकृत भयो। राजनीतिक पार्टीहरूले पनि समय समयमा यस घटनाबारे थुप्रै फण्डा गरिरहेकै छन्। यसको प्रामाणिकतामा आआफ्नो अनुकूल व्याख्या विश्लेषण गर्छन्। तर, यसको वस्तुनिष्ठ छानबिनका लागि भने कोही पनि तयार देखिँदैनन्।

दलहरुले सत्ता प्राप्ति र अप्राप्तिको विषय बनाएर आरोप प्रत्यारोप गरे। जजसले यो घटनालाई अतिरन्जित बनाए, उनीहरु कसैले पनि आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छानबीन आयोग बनाउन जाँगर देखाएका छैनन्।

यसर्थ पनि घटना खुल्दुली र कौतुहलताको विषय बनेको छ। यही शंका र आरोप-प्रत्यारोपको भूमरीमा राजदरबार हत्याकाण्ड र नेपालीहरुले सबैभन्दा बढी आदर गरेका राजा विरेन्द्रको वंश समाप्त भएको २१ वर्ष पूरा भएको छ।

तपाईको प्रतिक्रिया