१९ जेष्ठ २०७९, बिहीबार

स्मृतिमा राजा वीरेन्द्रः त्यो कहालीलाग्दो जेठ १९ फेरि कहिल्यै नदोहोरियोस्

सञ्जीव कार्की


आज जेठ १९ । २१ बर्ष अघि अर्थात् २०५८ सालको जेठ १९ एउटा कहालीलाग्दो दिनको रुपमा नेपालको इतिहासमा अंकित भएको छ । जनताले असाध्यै भरोसा, स्नेह र आदर गरेका राजा वीरेन्द्रको वंश सखाप र नातागोतासमेत गरी १० जनाको इहलिला समाप्त भएको दिन थियो त्यो ।

त्यो दिन नारायणहिटी राजदरबारभित्रै मारिएका राजा, रानी, राजकुमार, अधिराजकुमारी र अधिराजकुमारसहित अन्यलाई सम्झेर आजपर्यन्त मान्छेहरू भाव विह्वल बन्छन्, अभिभावक गुमाएको पीडाबोध गर्छन् । कहालीलाग्दो दर्दानाक अतित भनेर स्मरण गर्छन् । राजतन्त्रको जरा काटिएको दिन भनेर बुझ्छन् ।

तत्कालीन माओवादी नेता डा बाबुराम भट्टराईले उक्त घटनालाई आधुनिक कोतपर्वको संज्ञा दिएर लेख नै प्रकाशित गरे, ‘नयाँ कोत पर्वलाई मान्यता नदिऔं’ । देश दुनियाँले राजदरबार हत्याकाण्डबारे अनेक कोणबाट आआफ्नो दृष्टिकोण पेश गरे । चिनिया प्राध्यापक वाङ् चुङ्ले नारायणहिटी घटनाका खलनायक भन्दै आफ्नो किताब ‘नेपालको सुरक्षात्मक रणनीति’ को पृष्ठ १९ मा अमेरिकी र भारतीय गुप्तचर संस्थाको हात रहेको भनेका छन् । काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाले २०६७ मा सोही कुराको खुलासा गरेका थिए ।

राजकुमार दीपेन्द्रको माथमा सबै दोष हालेर ध्यान अन्यत्र मोड्न खोजेको जस्ता तर्क र आरोप, प्रत्यारोप, लाञ्छना, गालीगलौज र अपजस लाग्ने नलाग्ने ठाउँमा पनि लागे । तत्कालीन शाही नेपाली सेनाको अक्षमताबारे भयंकर आलोचना भयो । राजपरिवारको सुरक्षा गर्न नसक्ने सेनाको के काम भनेर औंला ठडियो । यस्ता रहस्यमय घटनाको विशेषता र प्रवृत्ति नै यस्तो हुँदोरहेछ, जसले शंकाको सुइ जता पनि तेर्साउन मिल्ने बनाउँदो रहेछ ।

तत्कालीन राजा ज्ञानेन्द्रले सर्वोच्च अदालतका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाट र विपक्षी दलका नेता माधवकुमार नेपाल रहेको उच्चस्तरीय छानबिन समिति बनाए । तर, विपक्षी दलका नेता माधवकुमार नेपाल आयोगमा पहिले बस्न मानेर पनि पछि बसेनन् । एक हप्तामा दुई सदस्य रहेको उच्चस्तरीय जाँचबुझ आयोगले युवराज दीपेन्द्रलाई घटनाको मुख्य अभियुक्त करार गरेर मदिरा र नाम नखुलेको कालो पदार्थ सेवन पश्चात उक्त जघन्य अपराध गरेको किटान गर्यो ।

उक्त दावी आम मान्छे पत्याउन मन्जुर छैनन् । वैज्ञानिक र विश्वसनीय अनुसन्धान नभएको भनेर सर्वत्र आलोचना छ । वस्तुगत, सत्यापनीयता, प्रयोगात्मक र प्रविधियुक्त अध्ययन नभएकोले यसको शुद्धता र निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको छ । सामान्य शङ्का र प्रश्न सामान्य नै मानिन्छ तर आम मान्छेले आजसम्म पत्याएका छैनन् । वैज्ञानिक विधि विधान बिनाको सतही अनुसन्धान प्रतिवेदन भनेका छन् । त्यसैले त्यो निर्मम घटना रहस्यको पर्दाभित्र नै छ ।

राजनीतिक पार्टीहरूले पनि समय समयमा यस घटनाबारे थुप्रै फण्डा गरे । यसको प्रामाणिकतामा आआफ्नो अनुकूल व्याख्या विश्लेषण गरे । समग्रमा शङ्कास्पद गतिविधि गरे । सत्ता प्राप्ति र अप्राप्तिको विषय बनाए । तर, जजसले यो घटनालाई अतिरन्जना गरे, तिनले आफू सत्तामा रहँदा पनि सत्यतथ्य जाँचबुझको लागि सर्वस्वीकार्य छानबीन आयोग बनाउन जाँगर देखाएका छैनन् । यसर्थ पनि घटना खुल्दुली र कौतुहलताको विषय बनेको छ । सत्यतथ्य र जनविश्वास प्राप्त आधिकारिकता नहुञ्जेल घटना रहस्यको मूल केन्द्रमा रहने छ । नेपाल मात्र होइन, विश्व नै यसबारे जिज्ञासु बनिरहने छ । आजको विषय घटनाको अनुसन्धान केन्द्रीत नभएर राजा वीरेन्द्रलाई स्मरण गर्नु मात्र रहेको छ ।


सालीन थिए वीरेन्द्र

वीरेन्द्र सालीन थिए, सभ्य थिए र समयको पदचाप अनि परिवर्तनको आकांक्षालाई आत्मसात गर्ने प्रजातान्त्रिक चेत भएका राजा थिए । राजा हुनुको अर्थमा केही पैतृक र वंशानुगत परम्परागत सोचाइ सामान्य अपवादबाहेक वीरेन्द्र उच्चकोटीका राजा हुन् । पञ्चायत व्यवस्थाको जननी पिताका पुत्र हुनुको नाताले त्यस व्यवस्थाका विकृतिको अपयश उनको भागमा पर्छ नै तर व्यक्तिगत रूपमा राजा वीरेन्द्र जनताको कुभलो चिताउने र राजा हुनुको अहम् प्रदर्शन गर्ने राजाको श्रेणीमा पर्दैन थिए । जसबारे उनलाई भोगेका, बुझेका मान्छेहरूको अनुभव छ ।

२०४६ को परिवर्तनपछि नै यो व्यवस्थामा आफू पनि नौलो र तपाईं पनि नौलो मिलेर सिक्दै सिकाउँदै काम गरौं भनेर अन्तरिम व्यवस्थाका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई समक्ष भनेको कुरा तत्कालीन मन्त्री परिषदका सदस्यहरूले शायद बिर्सेका छैनन् । आफूलाई ओछ्याएको रातो कार्पेटमा आफू नहिँडी सिनियर नेता तत्कालीन राष्ट्रिय सभा अध्यक्ष बेनी बहादुर कार्कीलाई आदरपूर्वक अघि लगाएर आफू पछि पछि हिँडेको एउटा दृश्यले उनमा रहेको सालीन र सभ्य संस्कारको परिचय दिन्थ्यो । जसको त्यतिबेला नै मनग्गे चर्चा र प्रशंसा भएको थियो ।

२०३६÷०३७ सालमा भएको विद्यार्थी आन्दोलनकै भरमा बहुदल र निर्दल रोजाउने प्रजातान्त्रिक आचरण उनमा सन्निहीत प्रजातान्त्रिक छवि थियो । २०४६ को जनआन्दोलनमा १९औं दिनमा नै कम मानवीय क्षतिमा नै बहुदलीय प्रजातन्त्र बहाली गर्न राजी हुनुमा उनको समयको पदचाप छाम्ने दृष्टिबोध भनेर बुझ्न सकिन्छ । यद्यपि पञ्चायतका कट्टर पञ्च र परिवार भित्रबाट पनि सजिलै नझुक्न र दमनको नीति अख्तियार गर्न विदेशी सहयोग लिएर भए पनि जनआन्दोलन दमन गर्न सुझाएको सुन्नमा आएकै विषय र प्रसङ्ग पनि थिए । तर, भारतसँग झुक्नुभन्दा आफ्ना नागरिकको अभिमत कदर गर्ने राजा वीरेन्द्रको मनसुवा थियो । जबकि गणतन्त्र घोषणापछि गरिएको तराई मधेस आन्दोलनमा नै ५३ जनाले ज्यान गुमाउनु परेको थियो । राजा वीरेन्द्र जनधनको क्षतिमा दुखी हुन्थे र मान्छे मारेर आफू टिक्नु, सत्ता टिकाउनु उनका लागि प्रियकर थिएन ।

राजा वीरेन्द्र २०५२ मा सुरु भएको माओवादी जनयुद्ध राजनीतिक रूपमा हल गर्नुपर्छ, सैनिक परिचालन समस्याको हल होइन भनेर तत्कालीन सरकारको सैनिक परिचालन गर्ने चाहनामा असहयोगी बनेको तथ्य घाम जत्तिकै छर्लंग छ । राजनीतिक द्वन्द्वमा सेना परिचालन गर्न नहुने कुरा सामान्य चरित्र र राजपरम्परा विपरित हो । राजा वीरेन्द्र संसारमा आएको परिवर्तन र जनअपेक्षामा घात हुँदा राजतन्त्रको भविष्य खतरामा पर्छ भन्ने सुझबुझ पूर्ण सोच राख्ने भएर नै होला कठोर र जनदमनको निर्णय गर्न हच्कन्थे भन्ने निस्कर्ष निकाल्न सकिन्छ ।

जनता रिझाएर नै शासन सत्तामा रहन सकिन्छ अन्यथा राजतन्त्र रहन्न भन्ने कुरामा उनको बुझाइ थियो होला भन्ने कुरा उनको शिक्षा र दीक्षाबाट सहजै अनुमान गर्न सकिन्छ । दार्जिलिङको सेन्ट जोसेफ स्कूलमा माध्यमिक शिक्षा पुरा गरेका र बेलायतको इटन कलेज त्यसपछि जापान र अमेरिकामा थप अध्ययन गरेका वीरेन्द्र प्रजातान्त्रिक बन्नुमा शिक्षा आर्जनका देशहरू पृष्ठभूमिगत आधार देखिन्छन् ।

वीरेन्द्रका महत्वपूर्ण कालखण्ड

महेन्द्र वीर विक्रम शाह र इन्द्रराज्य लक्ष्मी देवीको ज्येष्ठ पुत्रको रूपमा वीरेन्द्रको जन्म २००२ पुस १४ गते काठमाडौंको नारायणहिटीमा भएको थियो । २०२६ सालमा ऐश्वर्य राज्यलक्ष्मी देवी राणासँग विवाह

सुसम्पन्न भएर २०२८ मा दीपेन्द्र, २०३३ मा श्रुति र २०३६ मा निराजन शाहको जन्म भएको थियो । २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहणपछि नेपालको राजगद्दीमा वीरेन्द्र बसेका थिए ।

उनको जीवनकालका निम्न मिति उल्लेखनीय र विशेष छन् । राज्याभिषेक २०३१, शान्ति क्षेत्र प्रस्ताव सन् १९७३ (२०३०), राज्याभिषेक २०३१, जनमत सङ्ग्रह घोषणा २०३६, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्थापनामा योगदान २०४२, बहुदलीय प्रजातन्त्र घोषणा २०४६, नेपाल अधिराज्यको संविधान घोषणा २०४७, आमनिर्वाचन २०४८, मध्यावधि निर्वाचन २०५१, आमनिर्वाचन २०५६ र मृत्यु २०५८ जेठ १९ ।

राजा महेन्द्रद्वारा प्रतिपादित पञ्चायती व्यवस्थामा १८ वर्ष सक्रिय शासन गरेका राजा वीरेन्द्र २०४६ को बहुदलीय व्यवस्था आगमनपछि २०४७ को संविधानमा संवैधानिक राजतन्त्र स्वीकार गरी राजसंस्थालाई संविधानको परिधिभित्र मन्जुर बन्नु सामान्य घटना थिएन । राजतन्त्रको भविष्यको दीर्घायूको लागि उनले लिएको उचित निर्णय संवैधानिक राजा भएर जनताले पस्केको मानो खाएर सम्मानित भएर बस्नु थियो ।

आम मान्छेको नजरमा वीरेन्द्र

राजा वीरेन्द्र सरल र लप्पन छप्पन नजान्ने जनताको रुचिलाई ध्यान दिने लिबरल राजा थिए । आफ्ना पूर्वज पृथ्वीनारायण शाहले स्थापना गरेको राज्यलाई राजसंस्था कायम राख्दै राष्ट्रियता बचाउन योगदान दिने राजाको रूपमा वीरेन्द्रलाई आम मान्छेले बुझेका छन् । तत्कालीन माओवादी नेताहरू प्रचण्ड र बाबुरामले पनि राजा वीरेन्द्रको कत्लेआमपछि उनको योगदान नेपाली राष्ट्रियता बचाउन महत्त्वपूर्ण रहेको बताएर तारिफ गरेका थिए । अझ प्रचण्डले एक कदम अघि बढेर राजा वीरेन्द्रसँग माओवादीको अघोषित कार्यगत एकता रहेको समेत खुलासा गरेका थिए ।

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले समेत वीरेन्द्रको संवैधानिक राजतन्त्रको स्वीकारोक्तिलाई सहज मानेर जनताले दिएको मानो खाएर बस्ने राजतन्त्र कम्युनिस्ट पार्टीको लागि पनि स्वीकार्य भएको भनेका थिए । यसर्थ पनि राजा वीरेन्द्र सबैले मन पराएका राजा थिए । वीरेन्द्र मर्दा हामी टुहुरा भयांै भनेर स्वतस्फूर्त कपाल खौरिने र जुठो बार्ने जनताको शोकले उनको लोकप्रियता मापन गर्थ्यो । राजसंस्थासँग सैद्धान्तिक मतभेद हुनु एउटा कुरा तर व्यक्तिगत रूपमा राजा वीरेन्द्र सबैका प्रिय नै थिए भन्दा अन्यथा हुन्न । नेपाली काँग्रेस राजा वीरेन्द्रको पालासम्म आफ्नो घोषित नीतिमा नै संवैधानिक राजतन्त्रको पक्षधर थियो ।

सिद्धान्तः राजतन्त्र अर्थात् राजा र प्रजातन्त्र एकै ठाउँमा सम्भव छैन भनिन्छ तर राजा भएका देशहरूमा पनि राजा र प्रजातन्त्र सँगै हिँडेको र उन्नत लोकतन्त्रको अभ्यास गर्ने मुलुकको रूपमा बेलायत, जापान र नर्वेलगायत विश्वका दर्जनौ देशको उदाहरण लिन सकिन्छ । राजतन्त्रका गुण अवगुण आफ्ना स्थानमा छन्, व्यवस्था नै सबथोक होइन पनि । एक उदारवादी राजाको असमयको अवसानले मन नदुखाउने नेपाली कमै छन् ।

मुलकमा राजनीतिको अनेकन आरोह अवरोह झेलेका पचाएका राजा वीरेन्द्र २१औं शताब्दीका प्रजातान्त्रिक आचरण बोक्ने राजा थिए । प्रजातन्त्रको मर्म गहिरो गरी बुझेका व्यक्ति थिए । दुर्भाग्य उनको मृत्यु भयानक, त्रासदीपूर्ण र विभत्स भयो । उनको मृत्युपछि राजवंश भाइ ज्ञानेन्द्रमा गयो तर उनले करिब ६ वर्ष मात्रै राजा हुने अवसर पाए ।

देशमा २०६२÷०६३ को जनआन्दोलन भयो । गणतान्त्रिक माओवादी पार्टीसँग संसद्वादी पार्टीको सहकार्य भयो र देश गणतान्त्रिक मुलुकमा रूपान्तरण हुन पुग्यो । तथापि आजको गणतान्त्रिक दिनमा पनि राजा वीरेन्द्रको स्मरण र सम्झना आम नेपालीको लागि गाढा र दुख्ने बिझाउने अतितको रूपमा रहेको छ । आफ्ना १० नातेदारसहित अनाहकमा मृत्यु वरण गर्न पुगेका वीरेन्द्र लगायत सबैमा श्रद्धान्जली । दुखद घटनाको सत्य तथ्य छानबिन गरेर आम मान्छेको शङ्का निवारण होस् । २०५८ जेठ १९ जस्तो कालो दिन फेरि फेरि कहिल्यै नदोहोरियोस् ।

लेखक कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका अनुसन्धाता एमफिल–पिएचडी हुन् ।

राेताेपाटी अनलाइन बाट साभार गरेका हाैं ।