रुस–युक्रेन द्वन्द्वका कारण हंगेरीमा सङ्कटकाल घोषणा


रुस र युक्रेन बीचको द्वन्द्वले असर पारेको भन्दै हंगेरीमा सङ्कटकाल घोषणा गरिएको छ । नवनिर्वाचित प्रधानमन्त्री भिक्टर अर्वानले गत मंगलबारबाट लागु हुने गरि सङ्कटकाल घोषणा गर्नु भएको हो । सङ्कटकाल कार्यान्वयनका लागि राज्यका विभिन्न निकायहरू परिचालित हुने पनि उहाँले जानकारी दिनुभयो । रुस र युक्रेन बीचको द्वन्द्व निरन्तर चलिरहेकाले सङ्कटकाल घोषणा गर्नु परेको प्रधानमन्त्री अर्वानको भनाई छ ।

दुई देशको द्वन्द्वका कारण आर्थिक सङ्कट बढ्दै गएकाले आर्थिक सङ्कट न्यूनिकरणका लागि सङ्कटकालले सहयोग गर्ने हङ्गेरीको सरकारले आशा गरेको छ ।

यस्तै, विश्व बैंकका प्रमुख डेभिड मालपासले रुस र युक्रेनबीचको युद्धले विश्वभर मन्दी छाउन सक्ने चेतावनी दिनुभएको छ । उहाँले हाल खाद्यान्न, ऊर्जा र रासायनिक मलको मूल्यमा उच्च वृद्धि भइरहेको तर्फ सङ्केत गर्दै विश्व मन्दीतर्फ जाने चेतावनी दिनुभयो ।

मालपासले हालको अवस्थामा मन्दीबाट बच्न सकिने अवस्था कठिन देखिएको पनि बताउनु भयो । गत महिनामात्र विश्व बैंकले आफ्नो ग्लोबल आर्थिक बृद्धिको प्रक्षेपणमा कटौती गर्दै ३.२ प्रतिशतमा सीमित हुने बताइसकेको छ । मालपासका अनुसार धेरै युरोपेली देशहरू अझै पनि पेट्रोलियम पदार्थ र ग्यासका लागि रूससँगै निर्भर छन् । तर हालको अवस्थालाई हेर्दा रूसले आफ्नो ग्यास आपूर्तिको माध्यमलाई रोकेपछि त्यस क्षेत्रमा मन्दीको अवस्था सिर्जना हुने वातावरण तयार भइसकेको उहाँको भनाइ छ ।

उहाँका अनुसार जर्मनीमा ऊर्जाको मूल्य अधिक बढ्न थालेको छ, जुन युरोपकै ठूलो र विश्वको चौथो ठूलो अर्थतन्त्र मानिन्छ । हाल धेरै पश्चिमा देशहरुले रुसी उर्जामाथिको निर्भरतालाई कम गर्ने योजनाहरु समेत बनाइरहेका छन् । यस्तै विकासशील देशहरुपनि इन्धन, खाद्यान्न र रसायनिक मलको अभाव खेपिरहेका छन् ।

तपाईको प्रतिक्रिया