११ जेष्ठ २०७९, बुधबार

वर्ष कृति पुरस्कार वसन्तीको ‘बोइ’लाई प्रदान गरिने


काठमाडौं । गोधूलि साहित्य प्रतिष्ठान बाट प्रदान गरिने ‘गोधूलि वर्ष कृति पुरस्कार–२०७८ युवा गजलकार वसन्त ओली वसन्तीको गजल कृति ‘बोइ’लाई प्रदान गरिने भएको छ ।

प्रतिष्ठानको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नगद रु १०,०००÷– राशि सहितको यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न थालिएको संस्थाका अध्यक्ष प्रकाश समीरले जानकारी दिए ।

सर्वाधिक चर्चामा रहेका कृतिहरु मध्यबाट छनोट गरेर एक कृतिलाई यो पुरस्कार हरेक वर्ष प्रदान गरिने पनि समीरले बताए । वसन्तका यसअघि तिर्सना (उपन्यास) कोशेली (संयुक्त मुक्तक संग्रह), इन्द्रेणी (संयुक्त गजल संग्रह) प्रकाशित छन् ।

प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको अभिनन्दन, सम्मान तथा पुरस्कार वर्ष २०७८ पाउने व्यक्तिको नाम सार्वजनिक गरेको छ । प्रतिष्ठानले हरेक वर्ष नेपाली भाषा, कला, साहित्य र समाजसेवाका क्षेत्रमा क्रियाशील व्यक्तित्वलाई अभिनन्दन, सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । प्रतिष्ठानले वर्ष २०७८ बाट विभिन्न विधामा पुरस्कृत र सम्मानित हुने व्यक्तित्वहरू नाम सार्वजनिक गरेको हो ।

गोधूली दीर्घ साहित्य–सिर्जना विशेष अभिनन्दन (२०७८)– वरिष्ठ कवि डा. दुबसु क्षेत्री, गोधूलि–भानुभक्त पोखरेल बाल साहित्य सम्मान– (२०७८), बाल साहित्यकार निर्मला बराल, गोधूलि भद्रकुमारी घले आदर्श आमा पुरस्कार (२०७८) (नगद रु १०,०००÷– राशिसहित) समाजसेवी पशुपति गुरुङ, गोधूलि कला सम्मान (२०७८) – कलाकार घनश्याम गौतमलाई प्रदान गर्ने भएको छ ।

त्यस्तै, प्रतिष्ठानले गोधूली समाजसेवा सम्मान (२०७८) – उर्मिला बि.क. र बिना बस्नेत, गोधूली युवा सिर्जनशील सम्मान (२०७८) – भूपेन बि.क. र रोशन बिशंखे, गोधूली–कुमारमान मास्के स्मृति सम्मान (२०७८) – गणेश लकान्द्री र भाईराम खड्गी, गोधूलि–चिसकुमारी गुरुङ बाल प्रतिभा पुरस्कार (२०७८) – बाल कलाकार प्रसन्न श्रेष्ठ (नगद रु २,५५५÷– राशिसहित) र गोधूलि सेवा सम्मान (२०७८) – पवनलाल श्रेष्ठलाई प्रदान गर्ने जनाएको छ ।
अभिनन्दन, सम्मान तथा पुरस्कार जेठ १५ गते आइतबार प्रतिष्ठानको बार्षिक उत्सवका अवसरमा प्रदान गरिने छ ।

प्रतिष्ठानको वार्षिक उत्सव तथा साधारण सभा जेठ १५ गते आइतबार प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जनाइएको छ । विगत एक दशकभन्दा बढी समयदेखि निरन्तर रूपमा विभिन्न साहित्यिक गतिविधिमा सक्रिय रहेको गोधूलि साहित्य प्रतिष्ठानले साहित्य, कला, सङ्गीत र समाजसेवाका क्षेत्रमा योगदान पु¥याउने वरिष्ठ साधक तथा नवोदित प्रतिभालाई विभिन्न सम्मान तथा पुरस्कृत गर्दै आइरहेको छ ।