माओवादी केन्द्र रुकुम पश्चिमले भन्यो,‘मुसिकोटको नतिजा स्वीकार छैन्’

मत गणनामा धादलि भएको भन्दै नतिजा स्विकार नगर्ने माओवादी केन्द्र रुकुमको घोषणा


रुकुम पश्चिम । नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले स्थानीय तह निर्वाचनको नतिजा घोषणालाई अस्विकार गरेको छ । धादलिपूर्ण रुपमा मत गणना भएको र सोही अनुसार सार्वजनिक गरिएको अन्तिम नतिजालाई नमान्ने माओवादी केन्द्रले जनाएको छ । आज (शनिवार) मुसीकोटमा विजय र्याली तथा विरोध कार्यक्रमको आयोजना गर्दै माओवादीले नगर प्रमुखमा वसन्तकुमार शर्मालाई घोषणा समेत गरेको छ ।

जनताले जिताएपनि धादलि गरेर कम मत ल्याउने व्यक्तिलाई नगर प्रमुख घोषणा गरिएको र उक्त नतिजालाई नमान्ने भन्दै माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनले पार्टीका तर्फबाट नगर प्रमुखका उम्मेदवार शर्मालाई नगर प्रमुख घोषणा गरे । ४५ वटा मतपत्रलाई गणनामा सामेल नगराई अवैधानिक रुपमा गणना गरिएको आफ्ना उम्मेदवारलाई गैरकानुनी रुपमा पराजित गरिएको उनले बताए ।

साथै सोमबारका लागि आयोजना गरिएको नगर उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुका लागि आयोजना गरिएको सपथ ग्रहणको कार्यक्रम पनि वहिष्कार गर्ने जनाएको छ । उक्त समारोहमा नगर उपप्रमुख, ८ वडाका वडाध्यक्ष र वडा सदस्यहरु सहभागी नहुने जिल्ला संयोजक रोकाले जानकारी दिए । अन्यायपूर्ण रुपमा गरिएको मत गणनाको कानुनी उपचार समेत खोजिने उनले बताए ।

वैशाख ३० गते भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली कांंग्रेसका महेन्द्र केसी र उप प्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन विजयी भएको घोषणा गरिएको थियो । नगर प्रमुखमा १३ मतले जीत हार भएको थियो । तर माओवादीले भने वडा नम्बर १४ का ४४ मत गणना नगरी एकपक्षिय रुपमा माओवादीका उम्मेदवारलाई हराउने काम भएको भन्दै विरोध जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरे अनुसार कांग्रेस–एमाले गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार महेन्द्र केसीले ६ हजार ९ सय १४ मत पाएका थिए भने माओवादी केन्द्र–नेकपा एकीकृत समाजवादी गठबन्धनका तर्फबाट नगर प्रमुखका उम्मेदवार बसन्तकुमार शर्माले ६ हजार ९ सय १ मत प्राप्त गरेका थिए । तर माओवादीले आफ्ना उम्मेदवारले ६ हजार ९ सय ४५ मत पाएको र आफ्ना उम्मेदवार विजयी भएको बताएको छ ।

तपाईको प्रतिक्रिया