जाजरकोटका जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाही सँग हाम्रो पहुँच डटकम अनलाईन पत्रिकाको हाम्रो संवाद श्रृखंलामा कुराकानी गरेका छौं । शाहीको बाल्यकाल, निजामति क्षेत्र प्रवेश, प्रमुख जिल्ला अधिकारी बनेर जाजरकोट आउँदै गर्दा बुनेका योजनाहरुलाई समेटेर गरेको संक्षिप्त कुराकानी गरेको प्रस्तुत छ ।
- तपाईको बाल्यकाल कसरी वित्यो ?
मेरो जन्म जाजरकोट जिल्ला भेरी नगरपालिका वडा नं २ रिसाङ्गमा २०३६ साल पौष २९ गते भएको हो । मेरी बुवाको नाम कर्ण बहादुर शाही र आमा सुर्य कुमारी शाही हो । मेरो जन्म निम्न मध्यम वर्गीय किसान परिवारमा भएकोले मेरो वाल्यकाल अध्ययनको साथ साथै परिवारका सदस्यलाई खेतीपाती तथा पशु पालनमा सहयोग गर्दै वितेको हो । मैले मेरो स्नातक सम्मको शिक्षा यसै जिल्लाबाट पुरा गरेकोले पनि अध्ययन र कृषि पेशालाई संग संगै अघि बढाउन सकेको हुँ ।
स्नातक तह अध्ययन कै क्रममा निजामती सेवा प्रवेश गरे पश्चात जागिरको क्रममा जिल्ला वाहिर पदस्थापन भए पश्चात कृषि पेशासंगको सम्बन्ध टुटेको हो । हाल मैले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा स्नातकोत्तर (एम.पि.ए.) र दक्षिण कोरियाको Yonsei University बाट सामुदायिक विकास विषयमा Master Degree गरेको छु ।
- तपाईलाई सबैभन्दा मनपर्ने के हो ?
मेरो रुचिको क्षेत्र कृषि र शिक्षण पेशा हो । विविध कारणले कृषि व्यवसायलाइ आधुनिकीकरण र व्यवसायिकीकरण गर्ने सोच पुरा गर्न सकिएन् । अझै पनि सेवा निवृत्त जीवन कृषि पेशामा फर्किने सोच राखेको छु । शिक्षणमा रुचि भएता पनि मैले एस. एल. सी. पास गरे पश्चात म निजामती सेवा प्रवेश नगर्दा सम्म शिक्षक सेवा आयोगले शिक्षक पदको विज्ञापन नगरेको र तत्कालिन अवस्थामा अस्थाई शिक्षक भर्ना छनौटमा व्यापक राजनीतिकरण र आफन्तवाद हावी भएकोले शिक्षणको अवसर पाउन सकिएन् । जसले गर्दा लोक सेवा आयोगको परीक्षा मार्फत निजामती सेवा प्रवेश एक मात्र विकल्प हो भन्ने निष्कर्ष निकाले ।
- निजामति सेवामा कसरी प्रवेश गर्नुभयो ?
म जिल्ला सदरमुकाम मै पढ्ने र लोक सेवा आयोग पास गरेर आएका साथीहरुसंग संगत भएका कारण लोक सेवा आयोग प्रति मेरो रुची बढ्दै गयो । जिल्लामा संचालन हुने हाजिरी जवाफ प्रतियोगितामा नियमित भाग लिने र लोक सेवा आयोग पास गरेर आएका साथीहरुसंग प्रतिस्पर्धा गरी पुरस्कृत हुने भएका कारण पनि लोक सेवा आयोगको परीक्षा पास गर्न सकिने आत्माविश्वास बढ्दै गएको थियो ।
तर मैले लोक सेवा आयोगद्वारा संचालित नायव सुव्वाको परीक्षा पास गर्नु पुर्व जाजरकोटबाट लोक सेवा आयोग पास गर्ने व्यक्तिहरुऔलामा गन्न सकिने संख्यामा हुनुहुन्थ्यो । निजामती सेवाको उच्च तहमा न्याय सेवा तर्फ अधिकृत पास गर्ने हेमन्त रावल (हाल जिल्ला न्यायाधीश ), शिक्षा सेवाको विद्यालय निरीक्षक पदमा हंशराज रोकाय र इन्जिनियरिङ्ग तर्फ निरज शाह भएता पनि प्रशासन सेवामा अधिकृत तहमा कुनै पनि व्यक्ति पास भएका थिएनन् ।
समकालिन साथीहरुमा खुला प्रतियोगिताबाट नायव सुव्वा तहको परीक्षा पास गर्नेमा प्रशासन सेवाको लेखा समुहको लेखापाल पदमा पूर्ण बहादुर बुढा र शिक्षा सेवाको प्रास पदमा चक्र बहादुर बुढा (२०५८ सालमा) पास भए पश्चात लोक सेवा आयोग पास गर्न सकिने आत्मविश्वास बढ्यो र ७/८ जना साथीहरु लोक सेवा आयोगको परीक्षा दिन तयारी थाल्यौ । २०५९ सालमा ललित विक्रम सिंह शिक्षा सेवा र म प्रशासन सेवाको ना.सु. पदमा सिफारिस हुन सफल भएका थियौ ।
तत्कालिन अवस्थामा निजामती सेवा लगायत सरकारी सेवामा जाजरकोट जिल्लाको उपस्थिति ज्यादै न्यून रहको थियो र प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने आत्मविश्वास एकदम न्यून थियो । हामी निजामती सेवामा प्रबेश गरे पश्चात हामी भन्दा पछाडिको पुस्तालाई जुन आट दिन सकियो त्यो नै जिल्लाको लागि हामीले गरेको ठुलो योगदान जस्तो मलाई लाग्छ । हाल राज्यका सबै क्षेत्रमा जाजरकोट जिल्लाको उपस्थिति उल्लेख्य बृद्धी भएको छ । धेरै साथिहरु खुला प्रतियोगिता मार्फत उच्च तहमा पुग्न सफल हुनु भएको छ ।
म जाजरकोट जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा आउन चाहेको प्रमुख कारण नै हामी भन्दा पछिल्लो पुस्तालाई हामी पनि सक्छौ भन्ने भावनाको विकास गराउने हो । मेहनत र प्रयास गरेमा सफल भइन्छ भन्ने भावनाको विकास गराउने हो ।
- प्रमुख जिल्ला अधिकारीको रुपमा आउँदा तपाईले कस्ता खालका योजना बनाउनुभएको छ ?
प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा यस जिल्लामा रहँदा शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गर्ने, विकास निर्माण कार्यलाई सहजीकरण गर्ने, जिल्लामा सेवा प्रवाहमा सुधार गर्ने र सुशासन कायम गराउने योजनाका साथ काम गरि रहेको छु । जिल्लाका सरोकारवालाहरु संगको सहयोग, समन्वय र साझेदारीमा असल प्रणालीको विकास गर्दै कार्य संचालन गर्ने व्यवस्था मिलाइएको छ ।
यसले गर्दा आम जनमानसमा भनसुन, पद र पहुँचका आधारमा मात्र काम हुन्छ भन्ने गलत धारणाको अन्त्य हुन्छ भन्ने विश्वास छ ।यसका लागि सेवा प्रवाहमा सुधार, विकास निर्माणका क्रियाकलापमा सहजीकरण, विपद् व्यवस्थापन, अनुगमन तथा नियमनका क्रियाकलापलाई गति प्रदान गर्ने गरी कार्य संचालन भई रहेको छ ।यसका लागि जिल्लाका सरोकारवालाहरुसंग एक चरण छलफल तथा अन्तरक्रिया गरि सकिएको छ ।
हालै निर्वाचित जन प्रतिनिधिहरु वहाल भै सके पश्चात समन्वय बैठक आयोजना गरी समन्वयात्मक रुपमा विकास, सुशासन र सेवा प्रवाहका क्रियाकलाप अगाडी बढाइने छ । कर्मचारी प्रशासनका क्षेत्रमा नियमितता, अनुशासन, आचरणरव्यवहार सुधार र प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सुधार गरिने छ । उपलब्ध जनशक्तिको समन्वयात्मक र प्रभावकारी परिचालन गरी शान्ति सुरक्षालाई थप प्रभावकारी गराइने छ ।
जिल्ला विपद् प्रतिकार्य योजनालाई समसामयिक सुधार गरी विपद् प्रतिकार्य, राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी गराइने छ । नियमित वजार अनुगमन गरी कालेबजारी र उपभोक्ता हित विपरितका कार्यलाई निरुत्साहित गरिने छ ।
- अन्तमा के भन्नुहुन्छ ?
अन्त्यमा जिल्लाको समग्र विकासको लागि सरकारका तीन वटै तह, राजनैतिक दल, स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, पत्रकारिता क्षेत्र, जिल्लामा कार्यरत कर्मचारी तथा अन्य सरोकारवाला सबैले आ -आफ्नो स्वार्थ भन्दा माथि उठेर जिल्लाको समग्र हितलाई केन्द्रमा राखेर काम गर्न सकियो भने मात्र जिल्लाको समग्र विकास गर्न सकिने छ । यसका लागि भ्रष्टाचार र अनियमितता विरुद्ध शून्य सहनशीलताको नीति सबैले अवलम्वन गरौ । व्यक्तिगत स्वार्थ र कुण्ठालाई त्याग गरौं ।
















































। ७ जेष्ठ २०७९, शनिबार