१ गजल
किन आइरहेको छैन बतास यहाँ
रोकिन थालिसक्यो मेरो सास यहाँ
बहुत दुःख लाग्छ यस्तो दुःख देखेर
मेरा दुःखहरू छदै छैनन् खास यहाँ
म पूरा हुँ भनेर भन्नू मेरो भ्रम रैछ
कोही ढाक्दैछन् आधाआकाश यहाँ
अध्याँरोमा आफ्नै पदचाप तर्साउछ
फर्केर हेर्दैछु आफ्नै आसपास यहाँ
म सल हुँ, ऊ काँध हो लापर्वाह केटीको
म कसरी सम्हालिउँ रामबिलास यहाँ
अझै देखीरहेको छु तिम्रा आँखाहरू
यसको मतलब अझै छ मधुमास यहाँ
म खोजीरहेको छु भुइँका ताराहरू
म हेरिरहेछु धर्तीमा आकाश यहाँ
ठिकै हो पलभरमै प्रेमको भुत उत्रियो
को बोक्न सक्छ आगो एकनास यहाँ
यति उदास किन छ आजकल गल्ली
उनको हुन छाड्यो र बसोबास यहाँ ?
भेटिएको छैन एउटा कोरा कागज
मेटिएको छैन कलमको प्यास यहाँ
काँध बदल्नु पर्दैन यो त्यो सहर हो
गाडी चढेर जान्छ एक लाश यहाँ
मेरो चेहेराको ठेगानामा राखीदिएँ
रातहरू डुल्दै थिए उदास यहाँ
तँलाई सलामी अझै जिउँदो देख्दैछु
के हुँदैछ तेरो मर्ने अभ्यास यहाँ
बिपिन सलामी, डोटी
२, गजल
उसले भिक मागेर गरेको दान हो
लाग्छ भिखारी हैन उ भगवान हो
घमण्ड गर्ने मान्छे पो घमण्डी हो
घमण्ड नगर्ने मान्छे त महान हो
मीठो बोल्दा बिग्रन्न मीठो बोल्नुस
बोली वचन मान्छेको पहिचान हो
आफैलाई मार्छ आफैलाई जन्माउँछ
यो रहर कतिसम्मको बलवान हो
हरिश जोशी, बझाङ
३, गजल
नबनाऊ चित्र देखिन्न
कस्तो छ चरित्र देखिन्न।
छोरी छाउ गोठमा सरिछे
र पो घर पवित्र देखिन्न।
बाटोमा देखिन्छ दोबाटो
दोबाटोमा मित्र देखिन्न।
झ्यालबाट के नियाल्दैछौ
जहाँ भित्र बाट भित्र देखिन्न।
निम्बा, सल्यान
४, गजल
नजिक सर्नु झन्झन् खुशी बाँड्ने बेला
बढीहाल्छ धड्कन खुशी बाँड्ने बेला
यो रात्रीको हत्या म गर्दिन सक्छु
नसम्झिनु दुश्मन खुशी बाँड्ने बेला
सजाए छु शिरमा टीका चाँदनीको
तिमी बन्नु चन्दन खुशी बाँड्ने बेला
बढोस् श्वास थोरै चुरा बज्न थालुन्
खुला राख्नु लोचन खुशी बाँड्ने बेला
खुशी नै खुशीमा खुशी बाँड्न मन छ
नहोस् केही बन्धन खुशी बाँड्ने बेला
रोमा लम्साल, काठमाण्डौ
५. गजल
दुःख पिर सँग सरोकार छैन
खोली तिर सँग सरोकार छैन
छ तस्बिर सँग सरोकार छ
छैन तस्बिर सँग सरोकार छैन
तिम्रो साथ सँग सरोकार मेरो
तिम्रो शरीर सँग सरोकार छैन
रकिव’ म अन्जान’ बाटोलाई
मुसाफिर सँग सरोकार छैन
रुपेश अन्जान, अर्घाखाँची
६. गजल
कहिले घृणा जस्तो कहिले प्यार जस्तो
उनीले गरेको प्रेम रहेछ व्यापार जस्तो
सधैं परदेशी भएर बसिरहनु पर्यो मलाई
यो देश र मेरो सम्बन्ध भयो किनार जस्तो
घरि देश बोल्छ घरि–घरि प्रेम बोलिरहन्छ
को होला खै यो मान्छे गजलकार जस्तो
बेलाबेला विचार बदलिरहनुहुन्छ महोदय
एउटै विचार गर्नुहोस् तपाईं विचार जस्तो
केहि बोल्नु अगाडि केही सोचेर बोल्नुहोस्
जीव्रो पनि हो एउटा भयंकर हतियार जस्तो
तिमी सधैं एउटै लागि रह्यो मलाई प्रिया
तिमीलाई लाग्यो होला “मनु“ हजार जस्तो
मनोज दाहाल “मनु“, सल्यान
७. गजल
पछार्ने र उचाल्ने चलन छ यहाँ
यो ढुङ्गा पगाल्ने चलन छ यहाँ
आमाबुवालाई वृद्धाआश्रम राखी
घरमा कुकुर पाल्ने चलन छ यहाँ
समयको घाम उदाएर ढुब्ने बेला
नौलो काम थाल्ने चलन छ यहाँ
आआफ्नो खराबि देख्दैन कसैले
अरुको निहाल्ने चलन छ यहाँ
बबिता बिष्ट, दैलेख
८. गजल
तिमी एक अवसर हौ भेट्नुपर्ने
मैले मेरो जिन्दगीमा समेट्नुपर्ने
पानी पर्नु अघिनै बादल दौडिदैछ
भविष्यले वर्तमानमै लखेट्नुपर्ने?
तँ साथ दे जिन्दगी म सामना गर्छु
चुनौती आएको छ गला रेट्नुपर्ने
जतिबेला कर्ममा उभिन सकिनँ
त्यतिबेलै यो भाग्यले घचेट्नुपर्ने?
हुरी जस्तो जिन्दगीले जिम्मा पायो
पत्कर जस्ता सपनाहरु सँगेट्नुपर्ने
– बबिता भुजेल, खोटाङ
९.गजल
हात काटेर फाल्दिने बिचार भयो
घर बनाएको थिएँ कारागार भयो
बच्चालाई बेलून किन्न हिडेको थिएँ
यही बेलामा सरकारको सवार भयो
एक शुन्यले यतिसम्म भयो कोही
हिजो सय थियो आज हजार भयो
खुब मेहनतले लगाएको थियो धार
आफ्नै घाँटीमा तरबार पुग्यो बेकार भयो
म फलाम पिटेर अछुतो भएँ ठिक छ
महोदय सुन पिट्ने कसरी सुनार भयो
मनोहर बाबू , जाजरकाेट
१०. गजल
यसर्थ मलाई लाग्छ स्वभाविक छ पुरानो
आधुनिक छ“जिन्दगी“आर्थिक छ पुरानो
ठगिएकाहरु सर्बाङ्गिण ठगिदै जान्छन,
पूरा देखिने चीज नयाँ,आंशिक छ पुरानो
मिसिनेहरु अलि निन्याउरा भएर नि आए,
चम्किएको छ एकल तत्व,यौगिक छ पुरानो
शहीदको कथामा यो अधुरो कथा के रहेछ,
अमर भएर के गर्नु , असामयिक छ पुरानो
तिमी वर्षौ टाढा भएर आउ फरक पर्दैन,
हाम्रो सम्बन्ध कति धेरै नजिक छ पुरानो
नरेन्द्र बिष्ट (समाकुल),बझाङ
















































। ७ जेष्ठ २०७९, शनिबार