२४ बर्षिय गीता शिवालय गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित


जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकाको उपाध्यक्षमा २४ बर्षिय गीता शाही निर्वाचित भएकी छन् । सत्ता गठबन्धन दल नेकपा ( माओवादी केन्द्र) बाट उपाध्यक्षको उम्मेदवार बनेकी शाही भारी मतका साथ उपाध्यक्षमा निर्वाचित भएकी हुन् ।

शाहीले नेकपा एमालेकी नैनसरा शाहीलाई २ सय ४० मतको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएकी हुन् ।
शाहीले २ हजार ६ सय ५९ मत ल्याउँदा एमालेकी नैनसरा शाहीले २ हजार ४ सय २९ मत मात्रै प्राप्त गरेकी हुन् । विद्यार्थी राजनीति बाट राजनीतिमा सक्रिय शाही अखिल क्रान्तिकारी कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

को हुन् शाही ?
उपाध्यक्षमा निर्वाचित शिवालय गाउँपालिका–६ थालाकी स्थायी बासिन्दा हुन् । नेकपा (माओवादी केन्द्र) को पूर्वजिल्ला कमिटी सदस्य टोपबहादुर शाही (बिद्रोही) की नातिनी तथा हाल जिल्ला समन्वय परिषद सदस्य बिनोद कुमार शाहीकी छोरी गीता शाहीको जन्म २०५४ साल कार्तिक ३० गते भएको हो । सानैदेखि राजनीतिमा सक्रिय रहेकी शाही ईन्द्रज्योति माध्यामिक बिद्यालय थालारैकरमा अखिल क्रान्तिकारीको इकाई अध्यक्ष भएर राजनीतिक यात्रालाई सुरु गरेकी थिईन् ।

अखिल क्रान्तिकारी, जाजरकोट जिल्ला कमिटी सदस्य हुदै हाल कर्णाली प्रदेश कमिटी सदस्यको जिम्मेवारी समालेकी शाहीले कक्षा १ देखी कक्षा १० सम्मको पढाई ईन्द्रज्योति माध्यामिक विद्यालय शिवालय–६ थालारैकरबाट पुरा गरेकी थिईन् । कक्षा ११–१२ को पढाई बीरेन्द्र सामुदायिक माध्यामिक विद्यालय जुङ्गाथापाचौरबाट पुरा गरेकी शाहीले बीएको मेजर अर्थ र राजनीति शास्त्र विषयमा महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जबाट पुरा गरेकी छन् ।

शाहीका हजुर बुवा बिद्रोहीले २०५४ असार देखि तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा सहभागी भएका थिए भने, उनका बुवा बिनोद कुमार शाही सशस्त्र प्रहरी बलको जागिर छोडेर माओवादी पार्टीको राजनीतिक काममा सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया