चुनावमा मात्रै पुग्छन् नेताहरु विपन्न बस्तीमा, ‘आशा बाँड्छन् जितेपछि फर्किदैनन्’

May be an image of 5 people, people sitting and outdoors
जाजरकोट । बारेकोट गाउँपालिका २ रोकायगाउँका ५२ वर्षीय वीरे कामीलाई भेट्न दिनहुँ कुनै न कुनै दलका नेताहरू आइरहन्छन् । सानै उमेरदेखि शारीरिक अपांगता भोगिरेहका उनलाई यसअघिका चुनावमा पनि उम्मेदवारहरूले विभिन्न आश्वासन दिए । ‘चुनावमा त रोजगारीदेखि परिवारको खर्चसम्म दिन्छु भन्छन्,’ उनले भने, ‘तर जितेर गएपछि बैसाखी पनि दिन सकेनन् ।’

भेरी नगरपालिका ११ कटीगाउँका १ सय ५७ घर परिवार ऋणमा डुवेका छन् । ऋण तिर्नका लागि स्थानीयहरु भारत सहित अन्य मुलुकमा गईरहेका छन् । धेरै परिवार विस्थापित समेत भईसकेका छन् । निर्वाचनको बेला पुग्ने सबै उम्मेदवारले ऋण तिरिदिने बाचा गरे पनि जितेर गएपछि फर्केर नआउने गरेको स्थानीय नरबहादुर वरले बताए  ।

‘हामी त भोट बैंक मात्र भयौं,’ उनले भनिन्, ‘मत माग्नका लागि झूटो आश्वासन दिन्छन्, जितेपछि फर्केर पनि हेर्दैनन् ।’ यसपटक ऋण तिर्ने गरी आर्यआर्जनमा जोड्ने लिखित प्रतिबद्धता गर्ने उम्मेदवारलाई मात्र भोट दिने उनको भनाइ छ ।

उनले वर्षौंदेखि दलहरूले सपना बाँडिरहेको बताइन्  । उनका अनुसार गाउँमा मजदुरी नपाउँदा गाउँका अधिकांश युवा कमाइ गर्न भारत गएका छन् । पुर्ख्यौली पेशा पनि संकटमा परेपछि जीविकोपार्जनमा समस्या भएको उनले बताए । गत निर्वाचनमा जनप्रतिनिधिले मतदातालाई गरेरका बाचा पूरा नगरेकाले अहिलेका उम्मेदवारप्रति आफूहरूको भरोसा नभएको उनको भनाइ छ । झन्डै तीन÷ चार बर्ष देखि गाउँका अधिकांश मानिसहरु ऋणमा डुवेर गाउँ छोड्न बाध्य छन् ।

May be an image of 8 people, people standing, outdoors and tree

हरेक चुनावमा दलित समुदायको मत निर्णायक मान्ने दलहरूले दलित समुदायको समस्याहरुको कुरा वर्षौंदेखि बिर्सिरहेको उनको गुनासो छ । उनले गरिब र निमुखालाई भोटका लागि मात्र प्रयोग गरिएकामा आपत्ति जनाइन् ।

यसअघिको निर्वाचनमा गरेरका बाचा जनप्रतिनिधिले पूरा नगरेकाले यो निर्वाचनमा केही सोच्नुपर्ने बेला आएको कुशे गाउँपालिका ४ का दत्तबहादुर नेपालीले बताए  । ‘अहिले त उम्मेदवारले लिखित सहमति गरेपछि मात्र भोट दिने निर्णय गरेका छौं,’ उनले भने, ‘नेताहरूले जितेपछि महल ठड्याउँछन्, हामी भने मजदुरीका लागि बर्सेनि भारत जानुपर्छ ।’

May be an image of 6 people, people sitting and people standing

उनका अनुसार जिल्ला भरिका २ हजार भन्दा बढी परिवारहरु जिल्ला बाहिर छन् । अघिल्लो निर्वाचनमा उम्मेदवारहरूले ल्याएका एजेन्डा फेरि दोहरिएको नलगाड नगरपालिका ३ का गंगराम नेपालीले बताए । ‘यो पल्ट पनि हाम्रा लागि फकाउने एजेन्डा मात्र छन्,’ उनले भने, ‘अब त पार्टी हेरेरभन्दा पनि व्यक्ति हेरेर मतदान गर्नुपर्ने अवस्था आएको छ, अघिल्लो चुनावले हामीलाई धेरै पाठ सिकाएको छ ।’

तपाईको प्रतिक्रिया