नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने प्रधानाध्यापकविरुद्ध मुद्दा

डडेल्धुरा : नक्कली शैक्षिक प्रमाण पत्र पेस गर्ने एक प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाको भूमिराज प्राथमिक विद्यालय बडममा प्रधानाध्यापक पदमा कार्यरत राहात शिक्षक कलावतीदेवी अवस्थीविरुद्ध मुद्दा दर्ता भएको हो।

प्रअ अवस्थीउपर नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेस गरी लाभ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको हो। कलापति कुमारी शर्मा भन्ने उनले कलापतिदेवी अवस्थीको नामबाट शैक्षिक योग्यताका प्रमाण–पत्र नक्कली रहेको भन्दै परेको उजुरीमाथि छानविन गर्दा पुष्टि भएकाले कारबाहीको मागसहित विशेष अदालतमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

उनले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय, इलाहाबाद भारतबाट हाइस्कूल परीक्षा उत्तीर्ण गरेको नक्कली झुठ्ठा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी २०५७ सालको मंसिरदेखि भूमिराज प्राविको निजी स्रोतमा र मिति २०६१ सालको पुसमा राहत दरबन्दीमा नियुक्ति भइ सरकारी सुविधा एवं लाभसमेत लिएको अख्तियारको ठहर छ।

साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) मा परिभाषित कसूर गरेको स–प्रमाण पुष्टि हुन आएकोले अवस्थीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया