
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (मओवादी केन्द्र) आफ्नै तागतमा चुनाव लड्ने बताएका छन् । ‘गठबन्धनको बलमा होइन आफ्नै तागतमा स्थानीय चुनावमा जाने हो’ सात वर्षपछि सोमबार (आज) रोल्पा पुगेका प्रचण्डले भने, ‘विशेष परिस्थितिमा बनेको गठबन्धन भएकाले तालमेल गर्नेबारे पनि ध्यान दिइने छ ।’
पूर्व–सभामुखसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको लिवाङस्थित घरमा पत्रकारहरूसँग बोल्दै देश पूर्ण रुपमा चुनावमा गएको बताउँदै संविधान धरापमा पर्न थालेपछि बनेको गठबन्धन भएकाले तालमेलको सम्भावना पनि उत्तिकै रहेको अध्यक्ष प्रचण्डले बताए । अवस्था हेरेर गठबन्धन र तालमेलसमेत गर्न सकिने प्रचण्डको भनाइ छ ।
उनले महानगर, उपमहानगर र जिल्लाका सदरमुकाममा रहेका स्थानीय तहमा गठबन्धन र तालमेल गर्दा राम्रो हुनेबारे छलफल चलिरहेको बताए। कांग्रेसको केन्द्रीय समितिको बैठकका अधिकांश सदस्यले समेत तालमेल र गठबन्धन गरेर जानेबारे छलफल भएको बताउँदै संविधान रक्षाका लागि गठबन्धनको जरुरी पर्न सक्ने उनको भनाइ थियो ।
प्रचण्डले गठबन्धन भत्काउन देशी विदेशी शक्ति लागिपरेको समेत आरोप लगाए। जनयुद्धले ल्याएका उपलब्धिलाई समेत उल्ट्याउन खोजिएको उनको दाबी छ। रोल्पा नगरपालिकाले सातदोबाटोमा निर्माण गरेको ‘जनयुद्ध स्मृति भ्यु टावर’ उद्घाटन र लिवाङमा आयोजित सभालाई सम्बोधन गर्न हवाई यात्रा गरी रोल्पा आएका हुन् ।
















































। १४ चैत्र २०७८, सोमबार