तमलोपाका चुनावी घोषणापत्रका १५ वाचा

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलले आफ्ना घोषणापत्र जारी गर्ने क्रम सुरुआत गरेका छन् । यसक्रममा ‘समृद्ध र सबल नेपाल निर्माणको प्रतिबद्धता र संकल्प’ भन्ने नारासहित तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले शनिबार घोषणापत्र सार्वजनिक गरेको छ ।

जनकपुरधाममा आयोजित अन्तक्र्रिया कार्यक्रममा तमलोपाका अध्यक्ष वृषेशचन्द्र लाल र वरिष्ठ नेता डा विजयकुमार सिंहले संयुक्तरूपमा १५ बुँदे घोषणापत्र सार्वजनिक गरेका छन्। घोषणापत्रमा संविधान कार्यान्वयनको महत्त्वपूर्ण चरण र नयाँ युगको थालनीका रूपमा स्थानीय तहको निर्वाचनलाई लिइएको उल्लेख छ। स्वतन्त्रता, समानता, लोकतान्त्रिक अधिकार, पहिचानको सम्मान र संघीय स्वशासनका निम्ति निरन्तर संघर्षरत रहने पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

तमलोपाले ‘संघर्ष समानता र सम्मानको मधेसीको पहिचानको’ निर्धारित गरेको जनाउँदै १० प्रदेशीय राज्य पुनः संरचना, संविधान संशोधन, राज्य प्रायोजित प्रवासन, प्रदेशको भूमि प्रदेशकै अधिकार हुनुपर्ने, भूमिहीन दलित र सुकुम्वासीलाई आफ्नै जन्मथलोमा भूमि पाउने अधिकार, युवा र श्रमशक्ति, शिक्षामा सहज पहुँच हुनुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ ।

त्यस्तै कृषि, उद्योग र व्यापार सन्तुलन, निजी सार्वजनिक भागिदारी, मधेस विकासका निमित्त दीर्घकालीन सहमतीय विकास रणनीतिको तर्जुमा, क्षेत्रीय पार्टीको मान्यताको प्रावधान, जनसंख्या आधारित प्रतिनिधित्व, स्वतन्त्र र निष्पक्ष सञ्चार तथा व्यावहारिक विदेश नीतिलगायतका पार्टीको महत्त्वपूर्ण बुँदाहरू घोषणापत्रमा समावेश गरिएको छ ।

अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लालले पार्टी सक्रिय भएको एक महिना पनि नभएको अवस्थामा पार्टीलाई स्थानीय चुनावको निम्ति तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘निर्वाचनमा आफ्नो पार्टी कुनै गठबन्धनको पक्षमा छैन । लोकतन्त्रको निम्ति लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन जरुरी छ ।’

कार्यक्रममा पार्टीका वरिष्ठ नेता डा सिंहले तमलोपाले देशलाई राजनीतिक विकल्प दिने दाबी गरे। कार्यक्रममा पार्टीका विभिन्न जिल्लाका जिल्ला अध्यक्ष तथा नेता कार्यकर्ताको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया