
जाजरकोट । स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै सात वटै स्थानीय तहमा दलहरूले चुनावी सरगर्मी बढाएका छन् ।
कांग्रेस, एमाले, नेकपा एकीकृत समाजवादी, माओवादी र राप्रपालगायत प्रमुख राजनीतिक दलहरूले निर्वाचनलाई लक्षित गरी वडा र टोलस्तरीय अभियान चलाइरहेका हुन् । ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान लिएर गाउँगाउँ पुगेका सभापति वेदराज सिंहले ७७ वडामा उक्त अभियानले तीव्रता पाएको बताए ।
अगुवा कार्यकर्ता भेला र मतदाताको अपेक्षा संगाल्दै उम्मेदवारको टुंगो लगाउन थालिएको उनले बताए । ‘अहिले हामी घरघर पुग्ग्ने र कार्यकर्ताको भेट्ने काममा व्यस्त छौं,’ उनले भने, ‘अब केन्द्रीय समितिको बैठकले कस्तो निर्णय गर्छ सोहीअनुसार नयाँ चुनावी रणनीति बनाइनेछ ।’ पार्टीको भेला, प्रशिक्षण, बैठकलगायत कार्यक्रमलाई ७७ वडामै केन्द्रित गरिएको नेकपा माओवादी केन्द्र जाजरकोटका संयोजक डम्मरबहादुर रावतले बताए ।
‘अहिले हाम्रो पार्टीमा प्रवेश गर्नेको लहर चलेको छ,’ उनले भने, ‘हिजो हारेका पालिका र वडाहरूमा अहिले जित्ने रणनीति तयार पार्दै टोलटोलबाट अभियान चलाएका छौं ।’ नेकपपा एमालेले पनि सात वटै स्थानीय तहमा चुनावी कार्यक्रम गरिरहेको पार्टी अध्यक्ष खीमबहादुर शाहीले बताए ।
‘टोल समितिमार्फत अभियानहरू गाउँमा तीव्र छन्,’ उनले भने, ‘कुनै पार्टीसँग गठबन्धन नगरी एकल रूपमा चुनावमा गएकाले पार्टीका सबै तहलाई बलियो बनाइरहेका छौं ।’ उनले कमजोरहरूले गठबन्धनको आश गर्ने बताए । उनका अनुसार पार्टीको बैठक, भेला र कार्यकर्ता प्रशिक्षणमार्फत उम्मेदवार छान्ने काम समेत भइरहेको छ ।
‘अहिले उम्मेदवारबिना नै घरदलौमा जुटेका छौं,’ उनले भने, ‘उम्मेदवार चयन भएपछि पनि दोस्रो चरणका चुनावी कार्यक्रम गरिनेछ ।’ विगतमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका कामको समिक्षा पनि भइरहेको उनले जानकारी दिए ।
उनले स्थानीय तह निर्वाचन– २०७४ मा पार्टीले तयार पारेको घोषणा पत्रअनुसार काम भयो वा भएन भन्नेबारे छलफल समेत भइरहेको उनले बताए ।
उम्मेदवार छान्न वडामै सकस
आसन्न स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूलाई उम्मेद्वार छान्न वडामै सकस पर्ने देखिएको छ । उम्मेद्वार आकांक्षीहरूको संख्या धेरै भएका कारण सबै राजनीतिक दलले केही समय सकस व्यहोर्नुपर्ने देखिएको हो ।
चुनावको मिति नजिकिदै जाँदा दलहरूले उम्मेदवारको आकांक्षीहरूको सूचि पनि तयार पार्न थालेका छन् । जिल्लाका ७ वटा स्थानीय तहमा ७७ वडा छन् ।
वडाध्यक्षको टिकट वितरणमा ध्यान नपु¥याएपछि सबै राजनीतिक दलको सोचेजस्तो परिणाम नआउने बुझाइ धेरैको छ । वडामा खटिएको, जनतासँग नियमित सम्पर्कमा रहेको भन्दा अलग भएर टिकट वितरण भए त्यसले राम्रो परिणाम नदिने जनता आधारभुत विद्यालयका प्र.अ. धनबहादुर विकले बताए ।
‘वडासम्मको चुनावको मनोविज्ञान फरक हुन्छ,’ उनले भने, ‘ वडाकै कारण पनि स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म परिणाम फरक पर्न सक्छ ।’ उनका अनुसार २०७४ को निर्वाचनमा वडामा सबै पार्टीको परिणाम सोचेभन्दा फरक आएको थियो ।
पहिलो ५ वर्षे कार्यकालमा सबैलाई वडाध्यक्षको क्षेत्राधिकार, काम, कर्तव्यबारे थाहा भएकाले पनि धेरैको आकांक्षा देखिएको उनले बताए । यसको व्यवस्थापनमा मुख्य दलले ध्यान पु¥याउनुपर्ने अर्का शिक्षक भीबहादुर शाहीले बताए ।
राजनीतिक दल पनि सकेसम्म त्यसलाई ध्यान दिएको बताउँछन् । नेकपा माओवादी केन्द्रका संयोजक डम्बरबहादुर रावतले त्यसमा पार्टी गम्भीर भएर लागेको बताए । ‘व्यक्तिको योगदान र सम्पर्क सम्बन्धका आधारमा वडाध्यक्षका उम्मेद्वारको निर्णय हुनेछ,’ उनले भने, ‘वडाबाटै सिफारिस भएर आएकामध्ये एकले जित्ने सुनिश्चितता भए मात्र टिकट पाउँनेछन् ।’
‘उम्मेदवार छनोटका लागि पार्टीले केन्द्रीय नेताहरूको सहभागितामै समिति बनाएको छ,’ उनले भने, ‘सन्तुलन मिलाएरै उम्मेद्वार छनोट गरिनेछ ।’
















































। ११ चैत्र २०७८, शुक्रबार