गाउँ पसे राजनीतिक दल

विगतका जस्तै आशा, सपना, पस्किरहेका छन्, गाउँगाउँमा चुनावको झल्को दिनेगरी दलहरुले प्रचारलाई व्यापकता बनाईरहेका छन् ।

  तस्विर : नेकपा एमालेले कुशे गाउँपालिकामा गरेको जनभेटघाट कार्यक्रम

जाजरकोट । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू गाउँ केन्द्रित भएका छन् । अहिले अर्को पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने होडबाजी नै चलेको छ ।

प्रमुख राजनीतिक दलहरु गाउँगाउँमा पसेका छन् । नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी लगायतका राजनीतिक दलहरु गाउँगाउँमा केन्द्रित हुन थालेका छन् । उनीहरुले चुनावी प्रचारको झल्को समेत दिन थालेका छन् ।

वडा कार्यसमितिको कार्यालय उद्घाटन, बैठक, नेता कार्यकर्तासितको भेटघाटमा कांग्रेसका जिल्ला नेताहरू व्यस्त छन् । एमाले र समाजवादीले पार्टीका पालिकास्तरीय भेला, बैठक र प्रशिक्षण तथा जनवर्गीय संगठनका भेला, प्रशिक्षण तथा सम्मेलन गरिरहेका छन् ।

२०७४ मंसिरमा भएको प्रदेश तथा संघीय संसद्को निर्वाचनपछि त्यही झल्को दिने गरी गाउँगाउँमा राजनीतिक दल पुगेका छन् । यस पटक राजनीतिक दलहरूले गाउँगाउँमा वडा कार्यालय खोलेर त्यसैमार्फत राजनीतिक गतिविधि गरिरहेका हुन् ।

‘चुनाव प्रचारका क्रममा पनि योभन्दा फरक कार्यक्रम हुँदैनन्,’ बारेकोट गाउँपालिका २ का भीमबहादुर नेपालीले भने, ‘अहिले त गाउँमा जिल्लास्तरीय नेताहरू नपुगेको दिनै हुँदैन ।’

शिवालय गाउँपालिका ५ की राममाया खत्रीलाई पनि चुनाव नजिकिएझैं लागेको छ । उनको घर नजिकको सामुदायिक भवनको हलमा दैनिकजसो विभिन्न कार्यक्रम भइरहेका छन्  । ‘सामुदायिक भवनमा दैनिकजसो फेरिने झन्डा, ब्यानर, नाराबाजी र भाषणले चुनावकै झल्को दिएको छ,’ उनले भनिन्, ‘अब त आफन्त र छिमेकीहरू पार्टीगत रूपमा विभाजित हुन लागिसके ।’

एकीकृत समाजवादीका एक नेताले पार्टीका नियमित कामहरू जारी रहेको बताए । उनका अनुसार टोलटोलमा पार्टी गठन, पुनर्गठन, भेला, बैठक, छलफल लगायत कार्यक्रमहरू जारी छन्  ।

माओवादी केन्द्रका संयोजक ढकवीर रानाले पार्टीको जिल्ला समन्वय समितिले गरेका बैठकका निर्णय सुनाउन गाउँगाउँमा नेताहरू खटाइएको बताए । पार्टीका सबैजसो गतिविधिहरू चुनाव केन्द्रित हुन थालेको कांग्रेसले जनाएको छ । एक नेताले भने, ‘कार्यकर्ताहरूलाई पनि चुनावका लागि गाउँगाउँमा तयार हुन भनेका छौं,’ उनले भने, ‘पार्टीलाई पहिलो बनाउने लक्ष्यसहित चुनावी अभियान थालिएको छ ।’

तपाईको प्रतिक्रिया