जुनीचाँदेका अध्यक्ष केसीविरुद्ध २ मुद्दा दायर, ३३ लाख ५० हजार बिगो माग

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीसहित तीन जनालाई बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले विभिन्न बहानामा २५ लाख ५० हजार घुस लिएको सप्रमाण पुष्टि भएको भन्दै बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

घुस दिन बाध्य पारेको भन्दै उजुरी परेपछि अध्यक्ष केसी र राजबहादुर शाहीले एकआपसमा मिलेमतो गरेर सेवाग्राहीसँग सडक निर्माण कार्यमा कमिसनबापतको रकम खातामा जम्मा गर्न लगाएको विशेष विशेष अदालतमा दायर मुद्दामा उल्लेख गरिएको छ ।

अख्तियारद्धारा विशेष अदालतमा दायर गरिएको आरोपपत्रमा भनिएको छ, ‘निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेकोले निजहरु अध्यक्ष कृष्णबहादुर के.सी. र वडा अध्यक्ष राज बहादुर शाहीलाई बिगो रु. २५,५०,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।’

अध्यक्ष केसी र अर्का एक शिक्षकविरुद्ध विहीबार नै अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । वडा नं. ५ मा विभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न पश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले ८ लाख घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

तपाईको प्रतिक्रिया