
जाजरकोट । जाजरकोट जिल्लामा रहेका जलाधार/ उप जलाधार प्राथमिकीकरण एवं व्यवस्थापन योजना निर्माण सम्बन्धी जिल्लागत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
भु तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतको आयोजना र जिल्ला समन्वय समिति जाजरकोटको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधी, सात वटै पालिकाका जनप्रतिनिधी, नागरिक समाज, पत्रकार, विषय विज्ञ सहित अन्य स्थानीयको सहभागीता रहेको भु तथा जलाधार व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख शेरबहादुर श्रेष्ठले जानकारी दिए ।
जाजरकोट जिल्लामा रहेको जलाधार/ उप जलाधारहरुको प्राथमिकता एवं तिनीहरुको व्यवस्थापनका विषयमा छलफल गरिएको छ । कार्यालयले हाल सम्म गरेका महत्वपूर्ण कामहरुका विषयमा वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत एवं कार्यालय प्रमुख श्रेष्ठले जानकारी गराएका थिए । भु तथा जलाधार व्यवस्थापन कार्यालयले यस जिल्लामा संचालित कार्यक्रमहरुको विस्तृत विवरण र हाल सम्म गरेका महत्वपूर्ण एवं उपलब्धीमुलक कामहरुका विषयमा भु संरक्षण अधिकृत सुरेन्द्र साहले जानकारी गराएका थिए ।

यस्तै, जलाधार व्यपस्थापनका लागि कार्यालय बाट २१ वटा आयोजनाहरु जाजरकोटमा सञ्चालन रहेका छन् । जमिन, जल, जनसमुदाय, जंगल र जीवजन्तु जलाधारका प्रमुख अंग रहेको समेत कार्यक्रममा राखिएको थियो । प्राकृतिक रुपमा जाजरकोट धनी रहेकोले यसलाई बचाउन सबै सरोकारवालाहरुले जोड दिनुपर्ने सहभागी सरोकारवालाहरुले जोड दिएका छन् । जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मनबहादुर रावलले जिल्लामा रहेका जलाधार तथा उप जलाधारको संरक्षण गर्ने सबैले जोड दिनुपर्ने बताए ।
उनले भने, ‘यहाँ थुप्रै खालका जलाधार तथा उपजलाधार रहेका छन्, प्राकृतिक रुपमा जाजरकोट निकै राम्रो छ, यसलाई बचाउन सबै सरोकारवालाहरुले जोड दिनुपर्छ ।’ अन्तरक्रिया कार्यक्रममा यहाँको उत्पादन,भौगोलिक विकटता, जल, जमिन, जीवजन्तुको चर्चा गरिएको थियो । यस जलाधार÷उप जलाधार क्षेत्रहरुको प्रस्तुती, समन्वय तथा संभावित क्षेत्रहरुको पहिचान, सम्बन्धी ज्ञान र स्थानीयको भुमिका बारे कन्सल्टेन्ट टिमका रविन बोगटी, भवानीप्रसाद खरेल, निरज तिमिल्सेना, बद्री प्रसाद बुढाथोकी र प्रविन श्रेष्ठले प्रकाश पारेका थिए ।
कार्यक्रममा उद्धघोषक जिल्ला समन्वय समिति जाजरकोटका निमित जिल्ला समन्वय अधिकारी हरिप्रसाद पौडेलले गरेका थिए भने कार्यक्रमको सहजीकरणमा भु तथा जलाधार व्यवस्थापन कार्यालयका भु संरक्षण सहायक रामेश्वर प्रसाद यादव, सुपरभाइजर लोकराज विक, का.स. कृपाराम जैसी र इ.स.च. विजय विसीले गरेका थिए ।
















































। १८ फाल्गुन २०७८, बुधबार