
सुर्खेत । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले आफ्नो चार महिने कार्य प्रगतिको फेहरिस्त सार्वजनिक गरेका छन्। सोमबार पत्रकार सम्मेलन गर्दै उनले आफू मुख्यमन्त्री बनेदेखि हालसम्म गरेका काम कारबाहीबारे जानकारी गराएका हुन् ।
चार महिनाको अवधिमा उनले प्रदेशभर ६.७ किलोमिटर सडक कालोपत्रे भएको उल्लेख गरेका छन् भने १९४.५ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको उनले बताए । शाहीले सार्वजनिक गरेको कार्य प्रगतिमा २३.३ किलोमिटर सडकको स्तरोन्नति गरिएको उल्लेख छ भने २ वटा सडक पुल र १ वटा झोलुङ्गे पुलको निर्माण भएको छ ।
‘जनता आवास कार्यक्रममार्फत ७७८ घर निर्माण भएका छन् ,’ मुख्यमन्त्री शाहीले भने,‘ ऊर्जा खानेपानी तथा सिँचाइतर्फ ३५१ वटा, भौतिकतर्फ २१३, सशर्त अनुदानतर्फ २८५, मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत १०५५ योजनाहरू कार्यान्वयन चरणमा छन् । यस्तै पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत १० वटा जिल्लामा ५५३ वटा कार्यक्रमहरू कार्यान्वयनमा छन् ।’
प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को राजश्व सङ्कलन लक्ष्य बमोजिम यस अवधिमा ५३.५५५ अर्थात् ३२ करोड १३ लाख राजश्व सङ्कलन गरेको छ ।
आर्थिक अनुशासन÷सुशासन र सेवा प्रवाहको अवस्था
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँगको सहमतिका आधारमा १५ लाखभन्दा मुनीका टुक्रे योजनाहरूको कार्यान्वयनमा रोक लगाइएको छ । जिल्लास्थित कार्यालयहरूमा निकासा भइसकेको १५ लाख मुनिका योजनाहरूबाट ८३ करोड ७८ लाख ८४ हजार रकम फिर्ता आएको छ । सम्भाव्य योजनाहरूको अध्ययन भइराखेको छ ।
मन्त्रिपरिषद् बैठकलाई व्यवस्थित गरिएको छ भने प्रत्येक हप्ताको बुधबार बेलुका ४ बजे मन्त्रिपरिषद् बैठक बस्ने गरेको छ । बैठक बस्नु २४ घण्टाअघि प्रस्तावहरू पेस गर्नुपर्ने प्रणालीको विकास भएको छ । यस अवधिमा १३ वटा बैठकबाट ३९ निर्णयहरू भएका छन् । अधिकांश निर्णयहरू कार्यान्वयन भइसकेका छन् भने केही कार्यान्वयनकै चरणमा छन् ।
कर्णाली प्रदेश वित्तीय जोखिम मूल्याङ्कन कार्यविधि, २०७८ स्वीकृत गरी प्रदेश मन्त्रालय र मातहत कार्यालयहरूको वित्तीय सुशासन मूल्याङ्कन गर्ने कार्यको थालनी गरिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको स्थापना गरिएको छ । कर्णाली प्रदेश बेरुजु व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याई प्रदेश मन्त्रालय र मातहतका कार्यालयको बेरुजु व्यवस्थापनको कार्य थालनी भएको मुख्यमन्त्री शाहीले उल्लेख गरेका छन् ।
कृषि तथा पर्यटनतर्फ
मुख्यमन्त्री शाहीले कृषि र पर्यटन क्षेत्रमा भएका गतिविधिका बारेमा पनि जानकारी गराएका छन् । हिमाली भेगका पाँच जिल्लाका न्यूनतम ५० भन्दा बढी भेडापालन गर्ने कृषकहरूलाई औषधोपचार सहयोगका लागि भेडापालक कृषकहरूको लगत सङ्कलन गर्ने कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।
यस्तै किसान सूचीकरण अन्तर्गत हालसम्म ७४ हजार ७२४ परिवार किसान सूचीकरण प्रणालीमा आबद्ध भइसकेका छन् । कृषि तथा पशुपालन व्यवसायमा ब्याज अनुदान कार्यक्रम अन्तर्गत हालसम्म ८२० जना कृषकहरूलाई (बैंकमार्फत २०९ र सहकारीमार्फत ६११ जना) लाई ५८ करोड ४४ लाख लगानी भएको र व्याज अनुदान बापत रू १ करोड ५१ लाख भुक्तानी भइसकेको छ ।
सुर्खेतको दशरथपुरमा १५ करोडको लागतमा कोल्ड स्टोरेज निर्माणको प्रक्रिया अघि बढेको पनि कार्य प्रगतिमा उल्लेख छ ।
विपद् व्यवस्थापन, राहत, उद्धार र पुनर्स्थापना
मुख्यमन्त्री शाहीले मुगुको छायानाथ–रारा नगरपालिकाको गमगढीमा भएको आगलागी पीडितहरुका लागि प्रदेश सरकारले तत्काल राहत वितरणका साथै क्षतिको विवरण अनुसार जिल्ला प्रशासन कार्यालय मुगुमार्फत ६१ लाख २५ हजार वितरण गरिएको पनि जानकारी गराएका छन् ।
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाको लिमी क्षेत्रका लागि २०० क्वीन्टल खाद्यान्नमा ढुवानी अनुदान दिए खाद्यान्न ढुवानीको काम भइरहेको पनि उनले उल्लेख गरेका छन् ।
















































। १८ फाल्गुन २०७८, बुधबार